• ३ असार २०८१, सोमबार

प्रदेश बजेट अधिवेशन सुरु

blog

मुना हमाल

सुर्खेत, जेठ १३ गते ।  कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशन तथा बजेट अधिवेशन सुरु भएको छ । बजेट अधिवेशनले आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने छ । असार १ गते प्रदेश सरकारहरूले बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै प्रदेश सभा सदस्यहरूले कर्णालीको आवश्यकताका आधारमा बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् । 

प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री यामलाल कँडेलले नीति तथा कार्यक्रममा बजेट निर्माणमा व्यक्तिगत माग तथा योजनालाई निरुत्साहित गरी संस्थागत माग तथा योजनालाई सुदृढीकरण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले योजना छनोटमा जनताका प्रतिनिधिलाई कसरी सामेल गराउन सकिन्छ भनी छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।  उहाँले योजना छनोटमा तथ्यगत स्थिति हेरेर काम गर्नु पर्छ भन्नुभयो । योजना छनोट गर्दा सबै जिल्लालाई प्राथमिकता दिई बजेट ल्याउनुपर्ने उहाँको भनाइ थियो ।  

प्रदेश सभा सदस्य हिक्मतबहादुर विष्टले नेताहरूलाई खुसी बनाउन योजना बन्न नहुने र जनताको आवश्यकता अनुसार योजना छनोट गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बजेट बनाउने प्रक्रिया, विधिका बारेमा व्यापक छलफल गरी सुधार गर्न जरुरी रहेको बताउनुभयो । उहाँले विकासको मोडल परिवर्तन गर्न आवश्यक रहेको भन्दै यसमा पनि थप छलफल गर्नुपर्ने उल्लेख गर्नुभयो । 

यस्तै माओवादी संसदीय दलका नेता राजकुमार शर्माले कर्णालीको विकास र समृद्धिका लागि एकताबद्ध हुन आवश्यक रहेको बताउनुभयो । उहाँले कर्णालीका लागि गरिएको सहकार्य व्यवहारमा लागु गर्न पनि जोड दिनुभयो । अन्तरविरोध समाधान गरी एकताबद्ध भएर समृद्धिका लागि अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । 

प्रदेश सभा सदस्य टेकराज पछाईले समृद्ध कर्णाली बनाउन सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले व्यवस्था फेरिए पनि संरचना र मानसिकता बदलिन नसकेको भन्दै मानसिकता बदल्न लाग्नुपर्ने बताउनुभयो । उहाँले  नीति तथा कार्यक्रम र बजेटमा कर्णालीको सामथ्र्य कसरी बढाउन सकिन्छ भन्ने विषयलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । 

प्रदेश सभा सदस्य सन्तोषी शाहले प्रदेशका जनताको भावनाबमोजिम नीति तथा कार्यक्रम र बजेट ल्याइनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “प्रदेशको आम्दानी कम छ । सरकारले जनताको मुहार फेर्ने दीर्घकालीन योजना अघि बढाओस् । हरेक बजेटको शीर्षकमा सुशासन कायम गर्न आवश्यक हुँदा सरकारले यसतर्फ पनि ध्यान दिनु पर्छ ।” 

प्रदेश सभा सदस्य कल्याणी खड्काले सबै पक्षसँग छलफल गरेर दिगो विकासको लक्ष्य हासिल गर्ने गरी नीति तथा कार्यक्रम र बजेट बनाउन जोड दिनुभयो । उहाँले अहिलेसम्म जनताको भन्दा पनि कार्यकर्ताका आधारभूत आवश्यकता परिपूर्ति गर्ने बजेट ल्याइएको भन्दै अब त्यसमा सुधार गर्नुपर्ने सुझाव दिनुभयो ।