• ३ असार २०८१, सोमबार

युनाइटेडले चुम्यो एफए‌ कप उपाधि

blog

काठमाडौँ, जेठ १३ गते । एफए‌ कप फुटबलको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ । शनिबार राति भएको खेलमा युनाइटेडले चर्चित प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई‌ २-१ गोलले हराउँदै उपाधि चुमेको हो । 

युनाइटेडले सिटीसँग अघिल्लो वर्षको हारको बदला समेत लिएको छ । गत वर्ष युनाइटेडलाई‌ २-१ गोलले नै हराउँदै सिटीले यस उपाधि उचालेको थियो । 

युनाइटेडलाई‌ जिताउन अलेहान्द्रो ग्रानाचोले ३०औँ र कोबी माइनोले ३९औँ मिनेटमा गोल गर्नुभयो । सिटीका जेरेमी डोकुले ८७औँ मिनेटमा गोल फर्काएपनि टोलीको हार टरेन । 

पहिलो हाफमा दबाब खेपेको सिटीले दोस्रो हाफमा भने सानदार प्रदर्शन गरेको थियो । जितसँगै युनाइटेड युरोपा लिगका लागि छनोट भएको छ ।

युनाइटेडको यो १३औँ एफए कप उपाधि हो । सर्वाधिक यस उपाधि जित्ने टोली भने आर्सनल हो । आर्सनलले १४ पटक एफए कप जितेको छ । एजेन्सी