सङ्घीय शासन भएका देशमा गणतान्त्रिक मुलुक स्विट्जरल्यान्डलाई उत्तम नमुनाका रूपमा लिइन्छ । दुवै विश्व युद्धमा कुनै पनि समूहबाट युद्धमा भाग नलिएको सिधा प्रजातन्त्र, विधिको शासन, मानव अधिकार, नागरिक समाज, प्रेस स्वतन्त्रता, सुशासन जस्ता आधुनिक लोकतन्त्रका मान्यतामा पूर्ण विश्वास गर्ने उक्त देशले पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका १९२ सदस्य राष्ट्रमध्ये नेपालसहित २९ मुलुकले मात्र सङ्घीयता अपनाएका छन् । सङ्घीयता पनि स्विट्जरल्यान्डको जस्तो सङ्घीयता, अमेरिकाको जस्तो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने पूर्ण सङ्घीयता, भारतको जस्तो सङ्घीयता, अस्ट्रेलिया र नर्वेको जस्तो संवैधानिक राजतन्त्रसहितको सङ्घीयता, संयुक्त अरब इमिरेट्सको जस्तो सक्रिय राजतन्त्रसहितको सङ्घीयता आदि विभिन्न नमुना विश्वमा देखिन्छन् ।
सङ्घीय गणतन्त्रको चित्र र चरित्रको चर्चा गर्दा अमेरिकालाई छुटाउन सकिन्न । सन् १७७६ मा स्वतन्त्रता पाएको, विश्वको शक्तिशाली अर्थतन्त्र भएको मुलुक अमेरिकामा व्यक्तिगत स्वतन्त्रता, प्रजातन्त्र, मानव अधिकार, विधिको शासन, सुशासन, निजीकरण, पुँजीवाद, स्वतन्त्र बजार जस्ता आधुनिक मान्यताका विषयलाई महत्व दिइन्छ । सुरुमा १३ राज्य रहेकोमा हाल ५० राज्य तथा एक विशेष भूभाग रहेको छ । राज्यले आफ्नै संविधान र कानुन बनाउन सक्ने अधिकार भएको अमेरिकी शासनलाई विशेष खालको प्रणाली भएको मुलुक मानिन्छ ।
भारत सन् १९४७ देखि गणतन्त्र भएको मुलुक हो । संसदीय प्रजातन्त्र मान्दै आएको भारत लोक सभाका ५४३ सदस्य मध्येबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीले शासन सञ्चालन गर्ने गर्छन् भने निर्वाचित राष्ट्रपति संवैधानिक छन् । पहिले जम्मा ११ राज्यको गणतान्त्रिक सङ्घीयताको भारतमा अहिले ३१ राज्य र ७ संयुक्त भूभागको हो । थप सङ्घीय राज्यको माग राख्दै प्रदर्शन जारी रहेको छ । पश्चिम बङ्गालबाट दार्जलिङले अलग राज्यको माग गर्दै विगतमा दुईमहिने आमहडताल गरेको थियो ।
अस्ट्रेलिया संवैधानिक राजतन्त्र भएको अलग्गै महादेशको मुलुक हो । राजा सेरेमोनियल भएकोले शासनमा कुनै हस्तक्षेप गर्दैनन् । संसद्ले बहुमतको आधारमा प्रधानमन्त्रीको चयन हुन्छ । भूगोलमा ठुलो राष्ट्र भए पनि विकास, उन्नत्ति, सुशासन, लोकतन्त्र, विधिको शासन, मानव अधिकार जस्ता विषयमा सजग देखिन्छ ।
बेल्जियममा संवैधानिक राजतन्त्र रहेको छ भने राजा सेरेमोनियल रहेका कारण प्रधानमन्त्रीको चयन भने निर्वाचित संसद्को बहुमतबाट चयन गरिन्छ । ब्राजिलमा संवैधानिक राजतन्त्र छ । जुन सेरेमोनियल प्रकारको रहेको छ । भूगोलमा ठुलो भएका कारण त्यहाँ २६ राज्य र एक जिल्लाको सङ्घीय शासन देखिन्छ ।
क्यानडा पनि भूगोलमा ठुलो मुलुक हो । विकास, सुशासन, पर्यटन आदिका कारण विश्वमा उसको नाम चर्चामा रहेको छ । शासनको प्रमुखमा राजा रहेको भए पनि संवैधानिक र सेरेमोनियल भएका कारण शासनमा निर्वाचित प्रधानमन्त्री कार्यकारी छन् ।
इथियोपिया गणतन्त्र भएको मुलुक भए पनि गरिबी, द्वन्द्व, अशिक्षा, भोकमरी जस्ता समस्याले आक्रान्त देखिन्छ । जहाँ नौ वटा भौगोलिक क्षेत्र र दुई वटा विषेश सहरलाई सङ्घीय शासनले विभाजित गरेको छ । युरोपको सबैभन्दा ठुलो, राजनीतिक दर्शनको इतिहासमा नाम आउने, दोस्रो विश्व युद्धमा आक्रामक नीति लिए पनि पराजय भोग्नु परेको मुुलुक जर्मनीलाई १६ राज्यमा विभाजन गरिएको छ । विकास तथा सुशासनमा अग्रणी मुलुक जर्मन गणतन्त्र भए पनि राष्ट्र प्रमुख सेरेमोनियल हुन्छन् भने संसद्बाट निर्वाचित चान्सर्लर कार्यकारी भूमिकामा छन् ।
सन् २००९ देखि चरम हिंस्रक द्वन्द्वमा फसेको मुलुक इराकलाई तेलको भण्डार मानिएको छ । तत्कालीन राष्ट्रपति सद्दाम हुसैनलाई मारिएपछि राजनीतिक र धार्मिक हिंसाका कारण लाखौँलाखले ज्यान गुमाइसकेका छन् । सङ्घीय शासनमा प्रजातन्त्र देखाइएको भए पनि जनताले कुनै सुरक्षा र सुविधाको अनुभूति गर्न पाएका छैनन् ।
मलेसियामा १३ राज्य र तीन सङ्घीय भूभागमा विभाजन गरी शासन गरिएको छ । अर्को गणतान्त्रिक कार्यकारी राष्ट्रपति भएको सङ्घीय मुलुक मेक्सिको हो । भूगोलमा पनि ठुलो भएका कारण ३१ राज्य र एक सङ्घीय जिल्ला मेक्सिको सहर रहेको छ ।
नाइजेरिया अफ्रिकाको ठुला देशमध्येमा पर्ने मुलुक हो । राजनीतिक द्वन्द्व, गरिबी, अशिक्षा, भोकमरी जस्ता समस्याबाट ग्रस्त मुलुकमा ३७ राज्य र एक सङ्घीय भूभाग सङ्घीय राजधानी रहेका छन् । विश्वको खराब सङ्घीय शासनमा नाइजेरियालाई लिइन्छ । हाल सैनिक नियन्त्रणमा शासन सत्ता सञ्चालित छ ।
पाकिस्तान सन् १९४७ मा भारतबाट अलग भई बनेको इस्लामिक राष्ट्र हो । इतिहासदेखि राजनीतिक द्वन्द्व, कमजोर गणतान्त्रिक प्रजातन्त्र, सेनाको सत्तामाथि सधैँ जसो हस्तक्षेप, हत्या र हिंसा, आतङ्कारीको आश्रयस्थल, गरिबी, धार्मिक अन्धविश्वास जस्ता समस्याबाट आक्रान्त भएको देखिन्छ । संसद्बाट निर्वाचित सेरेमोनियल राष्ट्रपति र संसद्बाट निर्वाचित कार्यकारी प्रधानमन्त्री भएको भएको पाकिस्तानमा चार प्रदेश, दुई स्वायत्त क्षेत्र र दुई भूभाग छन् ।
सङ्घीयताको चर्चा गर्दा रुस भूगोलमा विश्वमै ठुलो क्षेत्रमा पर्ने मुलुक हो । दोस्रो विश्वयुद्धमा जर्मनलाई हराउन भूमिका खेलेको, सन् १९१७ मा लेलिनले अक्टोबर क्रान्ति सम्पन्न गरेपछि सन् १९९० सम्म निरन्तर समाजवादी शासन लागु गरेको, संयुक्त राष्ट्र सङ्घमा भिटो प्रयोग गर्ने पाँच स्थायी मुलुकमध्येको एक र अहिले पनि चर्चित मुलुक हो । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिबाट शासन गर्ने रुसमा ४६ ओब्लेस, २२ गणराज्य, नौ किरिस, चार स्वायत्त ओकुर्ग, तीन सङ्घीय राज्य र एक स्वायत्त ओव्लेल्र्स रहेका छन् । सन् २०२२ फ्रेब्रवरी २४ देखि उसले युक्रेनमाथि सैन्य हमला गर्दै आएकाले राष्ट्रपति भ्लादिमिर पुटिनलाई निर्वाचित सैनिक तानाशाह जस्तो भएको आरोप लाग्ने गरेको छ ।
विश्वमा एकात्मक शासन भएको चीन जस्ता देशले पनि सङ्घीयतामा जस्तै प्रान्तहरूलाई अधिकार दिएका छन् । जसमा २२ प्रान्त, पाँच स्वायत्त क्षेत्र, चार प्रदेश तहका महानगरपालिका, दुई विशेष प्रशासनिक क्षेत्र र एक आफ्नो दावा गरिरहेको प्रदेश रहेका छन् । त्यसै गरी बेलायतले चार वटा भूभाग इङ्ल्यान्ड, उत्तरी आयरल्यान्ड, वालिस र स्कटल्यान्डलाई सङ्घीयतामा भएका जस्तै अधिकार दिएको देखिन्छ ।
यसरी विश्वका महत्वपूर्ण मुलुकमा भएको सङ्घीयता र शासनको तुलना गर्दा पूर्ण रूपमा राष्ट्रपतीय शासन भएका देशमा अमेरिका, अफगानिस्तान, अङ्गोला, अर्जेन्टिना, बोलिभिया, ब्राजिल, बुरुन्डी, चिली, कोलम्बिया, कोमोरस, कोष्टारिका, साइप्रस, डोमिनियान रिपब्लिक, इक्वेयडर, एल साल्भाडोर, गाम्बिया, घाना, ग्वाटेमाला, होन्डुरस, इन्डोनेसिया, केन्या, लिविया, लाइबेरिया, मालावी, माल्दिप्स, मेस्सिको, निकारागुवा, नाइजेरिया, पालाउ, पानामा, पाराग्वे, फिलिपिन्स, सेचिलिस, सियेरा लियोन, सोमालिया, दक्षिणी सुडान, तुर्किमिनिस्तान, उरुग्वे, भेनेजुएला, जाम्बिया, जिम्बाब्वे आदि रहेका छन् । त्यसै गरी प्रधानमन्त्रीसहित राष्ट्रपति भएका देशहरूमा बेलारुस, बेनिन, क्यामरुन, सेन्ट्रल अफ्रिका रिपब्लिकन, चाड, टिवली, गावान, गुइना, इक्वेइटेरियल गुइना, आइवेरी कोष्ट, काजाकिस्तान, दक्षिण कोरिया, रुवान्डा, सुडान, तान्जानिया, टोटो, युगान्डा र उज्वेकिस्तान रहेका छन् ।
संवैधानिक राजतन्त्र जहाँ संसद्ले निर्वाचित गरेको प्रधानमन्त्री कार्यकारी रहने गरेका छन् । जसमा अन्डोरा, अन्टिगा एन्ड बर्खुडा, अस्ट्रेलिया, बारमास, बर्वाडोस, बेल्जियम, बेलाजे, कम्बोडिया, क्यानडा, कोक आइसल्यान्ड, डेनमार्क, ग्रिनाडा, जमैका, जापान, लोसोथो, लक्जेम्बर, मलेसिया, नेदरल्यान्ड, न्युजल्यान्ड, निरु, नर्वे, पपुवा न्युगिनी, सान्ट किट एन्ड नेभिस, सान्ट लुका, सान्ट भेकेन्ट एन्ड द गार्नाडिनिस, सोलोमान आइसल्यान्ड, स्पेन, स्विडेन, टुभालु, युनाइटेड किङ्डम आदि रहेका छन् ।
संवैधानिक राजतान्त्रिक व्यवस्थामा पनि सक्रिय राजतन्त्र भएका देशहरूमा भुटान, बहरायन, जोर्डन, कुवेत, लिथेस्थान, मानाको, टङ्गो, थाइल्यान्ड आदि रहेका छन् । पूर्ण सक्रिय राजतन्त्र भएका मुलुकहरूमा बु्रनाई, ओेमान, कतार, साउदी अरब, स्वाजिल्यान्ड, युनाइटेड अरब इमिरेटस् तथा भ्याटिकन सिटी रहेका छन् । धार्मिक अतिवादी प्रथाका आधारमा पनि शासक चयन गर्ने मुलुकहरूमा अन्ड्रोरा, इरान तथा भ्याटिकन सिटीलाई लिन सकिन्छ । त्यसै गरी एक दलको संवैधानिक व्यवस्था भएका मुलुकमा जनवादी गणतन्त्र चीन, क्युवा, इरिटरिया, उत्तर कोरिया, लाओस, राहारी अरब इमिरेटस् तथा भेतनाम आदि देश रहेका छन् ।
विश्वको शासन प्रणाली र राजनीतिक व्यवस्थाको अध्ययन गर्दा सङ्घीयताका पनि विभिन्न नमुना देखिन्छन् । यही देशको प्रणाली र नमुना चाहिँ उत्कृष्ट हो भन्ने केही पनि छैन । प्रत्येक देशको आफ्नो विशिष्ट खालको इतिहास, भूगोल, राजनीतिक आन्दोलन, अवस्था र आवश्यकता हुने भएकाले विश्व अनुभवबाट शिक्षा लिएर नेपालको सङ्घीय गणतान्त्रिक शासन प्रणालीलाई विकसित एवं परिमार्जित गर्दै जानु आवश्क छ ।