• ३ असार २०८१, सोमबार

बौदिकालीमा राष्ट्रिय प्रसारण लाइन पुग्ने भएपछि स्थानीय खुसी

blog

बौदिकाली गाउँपालिका ६ नरमडाँडामा पुगेको विद्युतको तार। तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, जेठ ११ गते। नवलपुरको पहाडी क्षेत्र बौदिकाली गाउँपालिका ६ नरमडाँडामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइन पुग्ने भएपछि स्थानीय खुसी भएका छन्।

राष्ट्रिय प्रसारण लाइनको कार्य अन्तिम चरणमा पुगेको छ। गाउँमा पोल राख्ने र तार टाङने कार्य सकिएको र मिटर जडानको कार्य बाँकी छ।  जिल्लाको पुरानो गाउँ भए पनि सो क्षेत्रमा अहिलेसम्म विद्युत सेवा नपुग्दा स्थानीले वैकल्पिक माध्यमबाट बिजुली बत्ती बाल्दै आएका थिए। 

केही घरमा सोलर र अधिकांश घरमा टुकी बत्तीमार्फत दैनिकी चलाउँदै आएका स्थानीय राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा पुगेपछि अहिले सहज महसुस गरेका छन्। आफ्नो घरमा विद्युत सेवा उपलब्ध भएपछि गाउँका सर्वसाधारण खुसी भएका छन्।

बिजुली नहुँदा कुटानी पिसानीदेखि पढाइ लेखाइमा निकै कष्ट बेहोर्दै आएका स्थानीयले अब स्वर्गको अनुभूति पाएको जस्तो भएको वडा अध्यक्ष खुमकुमार सारुमगरले बताउनुभयो। 

साबिक नौ वटा वडामा विद्युत जडानको लागि वाइरिडको कार्य सकिएको छ। वडा नम्बर  ६ नरमडाँडामा मात्र हालसम्म ४३६ घरधुरीमा बत्ती पुग्न सकेको छैन।

जिल्लाका कतिपय पहाडी क्षेत्र अझै पनि अन्धकार छन्। कतिपय स्थानमा लघु जलविद्युतबाट विद्युतीकरण गरिएको भए पनि आवश्यक मागअनुसार आपूर्ति हुन सकेको छैन। 

जिल्लाको पहाडी क्षेत्र बौदीकाली, बुलिङटार र हुप्सेकोट गाउँपालिका विद्युतीकरण गर्ने गरी आयोजना सुरु गरिएको थियो। ठेकेदारले काम नगर्दा लामो समयसम्म अलपत्र बनेको सवस्टेशन निर्माणको काम सकिएपछि अब जिल्लाको पहाडी क्षेत्रमा विद्युतीकरणको बाटो खुलेको हो।

जिल्लाको पहाडी क्षेत्र बौदीकाली, बुलिङटार र हुप्सेकोट गाउँपालिका विद्युतीकरण गर्ने गरी आयोजना सुरु गरिएको थियो। बोझा पोखरीमा सात वर्षअघि निर्माण सुरु गरिएको विद्युत् सवस्टेशनको यसै वर्ष निर्माण कार्य पूरा भएपछि जिल्लाको पहाडी गाउँमा विद्युत विस्तारका लागि सहज भएको नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख सूर्य नारायण मण्डलले बताउनु भयो।