• २ असार २०८१, आइतबार

खारखोलादेखि जोहिडिहीसम्म सडक कालोपत्रे

blog

गुणबहादुर रोका 

सुलीकोट, जेठ ११ गते । गोरखाको पालुङटार नगरपालिका-१ सिमानमा पर्ने खारखोला देखि-१० को जोहिडिहिसम्म सडक कालोपत्रे भएको छ । सडक बाटो खुलेको झण्डै २८ वर्षदेखि यो सडक प्रिमिक्स प्राविधिबाट कालोपत्रे भएको छ ।  

वि.स. २०५३ मा तत्कालीन मिरकोट गाबिसको पहलमा मार्ग खुलेको यो सडक संघिय बजेटबाट यसै वर्ष कालोपत्र र ढलान गरि स्तरोन्नति गरेको हो । सडक कालोपत्र भएपछि पालुङटार नगरपालिका वडा नम्बर १ र १० मा रहेका बसोबास गर्ने स्थानीय बासिन्दाहरु लाभान्वित भएका छन् ।  

सामान्य मर्मत गरेर सञ्चालन हुँदै आएको कच्ची सडकमा हिलो र धुलोको सामना गर्दै जोखिम र सास्तीपूर्ण यात्रा गर्दै आएका मिरकोट गाईखुरवासीलाई कालोपत्र सडकले खुसीयाली छाएको छ । कच्ची सडक हुँदा गाईखुर र मिरकोटका स्थानीयहरुलाई गोरखा सदरमुकामसम्म पुग्न निकै असहज भएको जोहिडिहिका स्थानियवासी बुद्धिमान तामाङले बताउनुभयो ।

अहिले भने सडक कालोपत्रेले सहज यात्रा हुने भएको छ । निकै अप्ठ्यारो बाटो जोहिडिहिबाट खारखोलासम्म पुग्न २० मिनेट लाग्ने गरेकोमा अहिले ५ मिनेटमा पुग्न सकिने भएको छ । सडक कालोपत्रे भएपछि आवतजावत, कृषि उपज निकासी, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी, विद्यार्थीलाई विद्यालय जान, बिरामीलाई अस्पताल पुग्न सहज भएको पालुङटार–१० जोहिडिहीका स्थानियवासीको भनाइ छ ।

खारखोलादेखि जोहिडिहि जोड्ने १ किलोमिटर २०० सय ५६ मिटर जोड्ने सडक विस्तार, पर्खाल, नाली निर्माण, ढलान र कालोपत्र गर्न वि.स. २०८० कात्तिक २४ गते स्यस कन्स्ट्रक्सन कम्पनी प्राइभेट लिमिटेडले एक करोड एक लाख उनानसय हजार एक सय त्रियासी रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । 

रु. १ करोड १ लाख बजेट विनियोजन भएको सडकको ठेक्का पाएको निर्माण कम्पनीले निर्धारित समय २०८१ वैशाख २० गते भित्रनै सडक निर्माण सकेको गोरखा सडक आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर गोविन्द श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यस ठेक्काको अवधि २०८१ असार मसान्तसम्म भए पनि निर्माण कम्पनीले समयभन्दा अगाडि नै काम सम्पन्न गरेको छ ।  

बाइसे चौबीसे राज्य भएका बेलामा तत्कालिन राजाहरुरुले किल्लाको रुपमा प्रयोग गर्दै आएको कोटगढीमा पुग्न आन्तिरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । ऐतिहासिक र रणनीतिक महत्व रहेको यो सडक स्तरोन्नति कार्यलाई निरन्तरता दिन पहल गरेको पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले बताउनुभयो ।