• १२ साउन २०८१, शनिबार

खानेपानी समस्या टार्न ‘बोरिङ’ को पानी

blog

‘बोरिङ’ प्रविधिमार्फत निकालिएको पानी ।

गणेश पौडेल 

पर्वत, जेठ ११ गते । खानेपानीको समस्याले आक्रान्त बनेका पर्वतको फलेवास नगरपालिका–३, शङ्करपोखरीका बासिन्दाले ‘बोरिङ’ प्रविधिको पानीबाट तिर्खा मेटाउने भएका छन् । खानेपानीको स्रोत नजिक नहुँदा टाढाबाट ल्याएको पानीले दीर्घकालीन समाधान हुन नसकेपछि ‘लिफ्ट’ प्रविधि र ‘बोरिङ’ प्रविधिमार्फत स्थानीयले तिर्खा मेटाउने भएका हुन् । 

पानीका लागि जिल्लाकै समस्याग्रस्त मानिएको उक्त क्षेत्रका धेरै परिवार पानीकै सङ्कटका कारण विस्थापित भएका छन् । शङ्करपोखरीका करिब आठ सय घरधुरी खानेपानीको भरपर्दो विकल्प नहुँदा अझै पनि पानीका लागि आकासेपानीको भर पर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी कमल भुसालले बताउनुभयो । पानीका लागि दशकौँदेखि सङ्घर्ष गर्दै आएको भए पनि नजिकमा स्रोत नभएको र टाढाबाट ल्याएको पानी मर्मत गर्न नसक्दा सधैँ काकाकुल अवस्थामा रहेको भुसालको भनाइ छ । भुसालले भन्नुभयो, “योजना आउँछ पर्याप्त बजेट आउँदैन । भएका योजना पूरा हुँदैनन् भने कतिपय टाढाबाट ल्याउँदा मर्मत गर्नसमेत समस्या हुँदा पानीको दीर्घकालीन समस्या समाधान हुन सकेन ।” 

पछिल्लो समय बोरिङ प्रविधि भित्रिएपछि स्थानीयवासीले विकल्पका रूपमा यसलाई अगाडि बढाएको वडाध्यक्ष अर्जुनबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले तीन ठाउँमा बोरिङबाट पानी तानेर वितरण गर्ने तयारीका साथ काम थालेका हौँ । दुई ठाउँमा सफल भयो अर्को ठाउँमा काम हुँदै छ ।” पानीको समस्या टार्न झन्डै १४० मिटरको गहिराइबाट प्रतिसेकेन्ड दुई लिटरका दरले झरेको पानी स्थानीय दुई सय परिवारलाई वितरण गरिने वडाध्यक्ष अर्जुनबहादुर कार्कीले बताउनुभयो । प्रायः दलित परिवार रहेको बस्तीमा आइतबारदेखि पाइपमार्फत पानी वितरण गर्ने तयारी छ । वडाको तेस्रो स्थानमा बोरिङबाट पानी निकालेर वितरण भएको भए पनि यसका लागि बजेट भने नआएको तर कम्तीमा १० लाखबाट बोरिङको काम सुरु भएको कार्कीको भनाइ छ ।

वडाको दोस्रो ‘बोरिङ’ पोखराचौरको आँखेतमा रहेको छ भने पहिलो पुर्कोट धारापानीमा रहेको छ । यससँगै शङ्करपोखरीवासीले वर्षौंदेखिको समस्याबाट केही मुक्ति पाउने भएका छन् । आँखेतको ‘बोरिङ’ बाट तीन सय परिवारलाई पानी वितरण गरिँदै छ भने धारापानीको ‘बोरिङ’ ले २५० परिवारलाई पानी आपूर्ति हुँदा तीन वटा ‘बोरिङ’ बाट करिब ७५० परिवारले पानी पाउने भएका छन् । गाउँमा पानीका कारण बस्ती नै विस्थापित बन्दै गएको अवस्थामा नगरपालिकाले समेत सक्दो सहयोग गर्ने र खानेपानी पाउने नागरिकको अधिकारलाई पूरा गराउन सबै स्रोतसाधनको प्रयोग गर्न तयार रहेको फलेवास नगरपालिकाका प्रमुख गङ्गाधर तिवारीले बताउनुभयो । 

स्थानीय वैकुण्ठ भुसालले खानेपानीको सहज आपूर्तिका लागि सरकारले ‘एक घर एक धारा’ को नीति लिए पनि शङ्करपोखरीमा पानी नभएका धारा बगे्रल्ती देखिए पनि नागरिक एक गाग्री पानीका लागि आधादेखि एक घण्टासम्म जानुपर्ने बाध्यता रहेको बताउनुभयो । लाखौँ लगानी गरेर लमाए खोलाको पानीलाई ‘लिफ्ट’ गरेर वितरणका लागि काम चलिरहेको भए पनि त्यसले मात्रै आवश्यकता पूरा नहुने उहाँको भनाइ छ । शङ्करपोखरीमा पानीका लागि अन्य विकल्प नभएपछि करिब दुई किलोमिटर तल रहेको लमाए खोलाबाट ‘लिफ्ट’ योजनामार्फत पनि पानीको आपूर्ति गर्ने काम अन्तिम चरणमा छ । केही समय पहिला जोडिएको ‘मोटर’ मा समस्या देखिएपछि अहिले पानी नआएको र अब नयाँ ‘मोटर’ जोडेपछि लमाएको पानीसमेत वितरण सुरु हुने वडाअध्यक्ष कार्कीले जानकारी दिनुभयो ।