• २ असार २०८१, आइतबार

नवलपुरमा १९ हजार बालबालिकालाई ‘आइपिभी’ खोप लगाइँदै

blog

‘आइपिभी’ अभियान सञ्चालनका लागि जानकारी गराइँदै । तस्बिर : मीना कंडेल

मीना कंडेल
कावासोती, जेठ १० गते । 
नवलपुरमा पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालनका लागि सबै तयारी पूरा भएको छ । यही जेठ १३ देखि २६ गतेसम्म पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले सबै तयारी पूरा गरेको जनाएको छ ।

खोप अभियान सफल पार्नका खोप समन्वय समितिका पदाधिकारी, स्थानीय तहको वडास्तरीय खोप समन्वय समिति र पत्रकारहरूका लागि आयोजना गरिएको जिल्ला स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठीमा सो जानकारी दिइएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका खोप फोकल पर्सन खरेलप्रसाद चौधरीले नवलपुरमा स्थानीय तहहरूले स्वास्थ्य संस्था तथा विद्यालयमार्फत सङ्कलन गरिएको १९ हजार ५२९ बालबालिका लाई खोप लगाउने लक्ष्य रहेको बताउनुभयो ।

जिल्लाका आठ वटै स्थानीय तहमध्य गैँडाकोट नगरपालिकामा चार हजार ३३१, कावासोती नगरपालिकामा चार हजार ८५३, देवचुली नगरपालिकामा तीन हजार ३९८, मध्यविन्दु नगरपालिकामा दुई हजार ८९८, विनयीत्रिवेणी गाउँपालिकामा दुई हजार ७३ जना , हुप्सेकोट गाउँपालिकामा एक हजार ११३, बौदिकाली गाउँपालिकामा ४५८, बुलिडटार गाउँपालिकामा ४३४ गरी १९ हजार ५२९ जनालाई  पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइने चौधरीले जानकारी दिनुभयो । जिल्लाका ४३२ विद्यालयमा ३९१ वटा खोप केन्द्र कायम गरिएको छ । यसैगरि ४९४ स्वास्थ्यकर्मी र ९६६ जना स्वयंसेवक परिचालन गरिने उहाँले बताउनुभयो ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शैलेन्द्रकुमार सिंहले यस अभियानमा २०७३ वैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकालाई लक्षित गर्दै पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइने  बताउनुभयो । सन् २०१६ देखि २०१८ को बिचमा उक्त ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए ।

सो अवधिमा खोपबाट वञ्चित बालबालिकालाई पोलियोको जोखिम रहिरहने भएकाले सरकारले छुटेका बालबालिकालाई लक्षित गरी खोप लगाउने अभियान थालिएको कार्यालयले जनाएको छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।