• २ असार २०८१, आइतबार

गिट्टी बालुवाको ठेक्का नलाग्दा करोडौँ राजस्व गुमाउँदै पोखरा महानगर

blog

घाँस पलाउन थालेको सेती नदी रामघाटको बालुवा ।तस्बिर : रमेश पौडेल

रमेश पौडेल

पोखरा, जेठ ९ गते। पोखरा महानगरभित्र रहेका नदी, खोला र घाटमा ठेक्का लाग्न नसक्दा महानगरलाई यस वर्ष पनि २० करोडभन्दा बढी राजस्व नोक्सानी हुने भएको छ।   

महानगरभित्र रहेका ३२ वटा विभिन्न घाटमध्ये ११ वटा घाटमा मात्र ठेक्का लागेको छ जसबाट महानगरलाई ११ करोडको आम्दानी भएको छ भने अन्य घाटका लागि पटक-पटक सूचना प्रकाशित गर्दासमेत ठेक्का लाग्न नसकेको पोखरा महानगरका प्रवक्ता मोतीप्रसाद तिमिल्सिनाले बताउनुभयो।

उहाँका अनुसार विगतका वर्षमा भदौ, असोजमा ठेक्काका लागि सूचना जारी गरेपनि ठेक्का लाग्थ्यो तर यस चालु आर्थिक वर्षमा असारको अन्त्यमा सूचना प्रकाशित हुँदासमेत महानगरले तोकेको न्यूनतम दरमा ठेक्का लाग्न सकेन ।

महानगरमा सबैभन्दा बढी मूल्यको ठेक्का लाग्ने सेतीको रामघाट विगत ३ वर्षदेखि ठेक्का लाग्न सकेको छैन।महानगरले जिल्लाबाट तोकिएको दर–रेटअनुरूप नै न्यूनतम मूल्य राखेर यो वर्ष पनि मूल्य घटाएर तीन पटक सूचना प्रकाशित गर्दा कसैले पनि ठेक्का नहालेको जनाएको छ ।

रामघाटको गिट्टी बालुवाको मूल्य मात्र करिब ७ करोडको रहेको छ तर हालसम्म ठेक्का लाग्न नसक्दा रामघाटको गिट्टी–बालुवामा घाँस पलाउन थालेको छ।वर्षाको बाढीले सो बालुवा बगाएर लैजाने जोखिम पनि उत्तिकै रहेको देखिन्छ ।

रामघाटलगायत अन्य घाट ठेक्कामा नगएका बारेमा पोखरा महानगरका प्रमुख धनराज आचार्यले आर्थिक ऐनलगायत अन्य सङ्घीय कानुनको परिधिमा रही टेण्डर आह्वान गर्नुपर्ने हुँदा यस्तो समस्या सिर्जना भएको बताउनुभयो।सेतीका  घाटमा असारदेखि भदौसम्म गिट्टी–बालुवा उठाउन पाइँदैन  भने अर्कोतर्फ नदी किनारमा हेभी इक्युमेन्ट प्रयोग गर्नमा कानुनले निषेध गरेको हुँदा यो समस्या आएको उहाँको भनाइ छ। 

प्रमुख आचार्यले आवश्यकताअनुसार महानगरलाई अधिकार दिएमा त्यस्ता समस्यालाई न्यूनीकरण गरेर जान सक्ने बताउनुभयो।जिल्ला दर-रेट निर्धारण समितिले कायम गरेको प्रतिघन मिटर ८ सय २० रुपियाँलाई समयअनुरूप घटबढ गर्नसक्ने भएमा पनि सो समस्या समाधान हुने उहाँको भनाइ थियो ।

महानगरको सबैभन्दा राम्रो राजस्व उठ्ने भनेकै घाट किनार हुन् तर विगतको वर्षदेखि घाटहरू पूर्णतया टेण्डरमा जान नसक्दा महानगरको राजस्व सङ्कलनमा समेत चुनौती आएको प्रवक्ता तिमिल्सिना बताउनुहुन्छ।  

यस वर्ष पोखरा–मुग्लिङ सडकखण्ड निर्माण गर्ने कम्पनीले महानगरबाट सैनिक घाटको झण्डै डेढ करोडको गिट्टी बालुवा लिने सहमति गरेको थियो।अहिले बालुवा पनि प्रयोग गरेको छैन भने राजस्व पनि तिरेको छैन।महानगरले राजस्वको ठुलो स्रोत गुमाउनु परेकाले अहिले आएर सम्बन्धित वडालाई अमानतमा भए पनि गिट्टी बालुवाको राजस्व उठाउन दिने कार्यपालिकाको निर्णय भएको महानगरका प्रवक्ता तिमिल्सिना बताउनुहुन्छ ।

यो वर्ष पोखरामा घर निर्माण कार्यमा शिथिलता आउनु र विकास निर्माणका कार्य समेत प्रभावित हुँदा गिट्टी बालुवाको ठेक्का नभएको जेके क्रसरका सञ्चालक रामप्रसाद आचार्य बताउनुहुन्छ।महानगरकै नक्सा शाखाले विगतमा यस समयमा दैनिक ४०/५० नक्सा पास हुने गरेकोमा अहिले छिटफुट मात्र नक्सा पास हुने गरेको बताएको छ ।

विभिन्न कारणले गिट्टी बालुवाको बिक्री कम भएको अहिलेको समयमा एकातर्फ बालुवा ठेक्का नलाग्दा बर्खाको भेलसँगै आउने बाढीले बालुवा बगाएर लैजाँदै छ भने अर्कोतिर पोखराका उपभोक्ताले प्रति घनमिटर तीन हजारभन्दा बढीको मूल्य तिरी आवश्यक बालुवा खरिद तिर्नुपर्ने बाध्यता रहेको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगल बताउनुहुन्छ ।

केही क्रसरका सञ्चालकले विकास निर्माणका काम कम हुनाले बालुवा यति आवश्यक नपर्नुका साथै बालुवा ठेक्का लिँदा कमिसन जस्ता चलखेल हुने भएकाले पनि लिन नसकिएको बताएका छन्।