• १२ साउन २०८१, शनिबार

गाई र भैँसीका लागि निःशुल्क 'एआई' सेवा

blog

शुक्लागण्डकी नगरपालिकाद्वरा किसानको गोठमै पुगेर निःशुल्क कृत्रिम गर्भाधान सेवा प्रदान गरिँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, जेठ ९ गते । तनहुँको शुक्लागण्डकी नगरपालिकाले किसानकै गोठमा पुगेर गाई र भैँसीका लागि निःशुल्क कृत्रिम गर्भाधान (एआई) सेवा दिएको छ । यस सेवाले गाईभैँसीको दुधमा आत्मनिर्भर हुँदै निर्यात गर्न मद्दत पुग्ने विश्वास नगरपालिकाले लिएको छ । 

निर्वाहमुखी पशुपालनलाई व्यवसायिक पशुपालनतर्फ अग्रसर गराउने उद्देश्यले चालु आर्थिक वर्षदेखि सुरु गरिएको र यस वर्ष हालसम्म एक हजार छ सय ९१ गाईभैँसीमा कृत्रिम गर्भाधान गराइएको शुक्लागण्डकी नगरपालिकाका पशु विकास शाखाका प्रमुख मुक्तिराम पौडेलले जानकारी दिनुभयो । उत्पादकत्व वृद्धि गर्न पशुको नश्ल सुधार गर्नुपर्ने भएकोले कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको पौडेल बताउनुहुन्छ । 

सात लाख रुपियाँ बजेट व्यवस्था गरी कृत्रिम गर्भाधानको सामग्री खरिद गरिए सेवा दिइएको शाखाले जनाएको छ । शाखाका अनुसार व्याड पाल्न झन्झट नहुने र नश्ल सुधार गरी जन्मिएको उन्नत जातको पशु बढी दुधालु हुने हुँदा किसानलाई धेरै लाभ हुने भएको निःशुल्क सुविधा प्रदान गरिएको हो । 

किसान व्यावसायिक बन्न प्रोत्साहित हुन भन्ने उद्देश्यले गोठमै पुगेर निःशुल्क सुविधा दिइएको शुक्लाण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । पण्डितले भन्नुभयो, "आम्दानी कम भएका किसानलाई राँगो तथा साँढे लगाउन मुश्किल पर्ने भएकाले निःशुल्क सुविधा दिएका छौं ।" नगरपालिकाले किसानलाई थप प्रोत्साहन गर्न उत्पादनको आधारमा अनुदानको व्यवस्था गरेको छ । दुधमा प्रति लिटर दुई रुपियाँ अनुदानको व्यवस्था गरिएको छ ।