हिमाल, पहाड र तराईको मिश्रित भौगोलिक अवस्थितिका कारण नेपाल विश्वमै विविधतायुक्त देशको सूचीमा पर्छ । हावापानीका दृष्टिले पनि विविधतायुक्त देखिन्छ । मानव बसोबास र उत्पादनका दृष्टिले हिमाली क्षेत्र विकट र कम महत्वको मानिए पनि विश्वमा हिमालय क्षेत्रले उच्च महत्व पाएको छ । पूर्वमा भुटानदेखि पश्चिममा ताजिकिस्तानसम्म फैलिएको दुई हजार चार सय किलोमिटर लामो हिमालय क्षेत्रमध्ये आठ सय ८५ किलोमिटर क्षेत्र नेपालमा पर्छ । यस हिमालय शृङ्खलामा पर्ने आठ हजार मिटरभन्दा माथिका चौध वटा हिमालमध्ये आठ वटा नेपालमै हुनुले पनि विश्वको ध्यान यतातर्फ खिचिनु स्वाभाविक छ । पर्यावरण सन्तुलनका दृष्टिले हिमालय क्षेत्रको महत्व कायम राख्न संरक्षण अपरिहार्य छ ।
हिमाल शृङ्खला भौगोलिक रूपले नेपालको भए पनि विश्वकै अमूल्य प्राकृतिक सम्पदा हुन् । विश्वमा बढ्दो कार्बन उत्सर्जनका कारण तापमान वृद्धि भएर हिमाली चुचुरा नाङ्गिन थालेको प्रति विश्वको ध्यान आकृष्ट गर्दै आएको छ । केही समयअघि संयुक्त अरब इमिरेट्समा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) मा यस विषयमा गम्भीर बहस भएको स्मरणीय छ । त्यस सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वसामु राख्नुभएका ओजपूर्ण अभिव्यक्तिले सहभागीहरूलाई ध्यानाकृष्ट गरेको थियो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेसले नेपालको औपचारिक भ्रमणका क्रममा हिमाली क्षेत्रको भ्रमण तथा अवलोकन गरेर नाङ्गिँदै गएका हिमाललाई थप नाङ्गिन दिन नहुनेतर्फ सचेत रहन विश्वकै ध्यान जान आवश्यक भएको उल्लेख गर्नुभएको थियो । गुटेर्रेसले हिमाल बचाउनु भनेको विश्वका मानवलाई बचाउनु हो भनेर कोप–२८ सम्मेलनमा समेत यसका लागि विश्वले सामूहिक कदम चाल्नुपर्ने अभिव्यक्ति दिनुभएको विदितै हुन्छ ।
भनिन्छ, जसलाई दुःख परेको छ, उसले नै दुःखको कारण खोज्नु पर्छ । बढ्दो तापमान वृद्धिमा आफ्नो भूमिका नगन्य हुँदाहुँदै पनि गम्भीर असर भोग्न बाध्य हुनु परेको आवाज विश्वसामु जोडदार रूपमा राख्न आवश्यक छ । यसै सन्दर्भमा नेपालले जेठ ९ र १० गते काठमाडौँमा ‘हिमाल, मानिस र जलवायु’ विषयक जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ संवादको आयोजना गर्दै छ । यस सम्मेलनमा २३ देशबाट ६१ जना वातावरणविद्सहित दुई सयभन्दा बढीको सहभागिता रहने वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ । यस सम्मेलनका सहभागीहरूद्वारा सन् २०२४ को नोभेम्बर ११ मा अजरबैजानको बाकुमा सुरु हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२९) तथा अन्य वैश्विक मञ्चहरूमा हिमालय क्षेत्रको संरक्षणको वकालत गरिने भएको छ । विश्वका औद्योगिक राष्ट्रहरूबाट भइरहेको बढ्दो कार्बन उत्सर्जनको मात्रा कटौती र असर भोग्न बाध्य राष्ट्रहरूलाई क्षतिभरणले कोप–२९ मा महत्व पाउनु पर्छ ।
विश्वव्यापी तापक्रम वृद्धिसँगै भइरहेको जलवायु परिवर्तनको पहिलो असर नेपालका हिमालमा परेको तर्फ कोप–२८ सम्मेलनका सहभागी प्रायः सबैको एकमत देखिएको हो । जलवायु परिवर्तनको अर्को असर टापु राष्ट्रमा समेत पर्न थालिसकेको छ । हिमालको हिउँ पग्लिने क्रमको वृद्धिले सामुद्रिक सतह उकासिँदा टापु राष्ट्रहरूको अस्तित्व सङ्कटमा पर्ने देखिएको वातावरणविद्को भनाइले विश्वलाई झस्काएको छ । कोप–२८ मा नेपालले नेतृत्व गरेको हिमाल, पर्वतीय मुलुक र टापु राष्ट्रको बहसले जसरी विश्व समुदायको ध्यानाकृष्ट गरेको थियो यस अन्तर्राष्ट्रिय सम्मेलनले पनि सोही अनुरूपको दूरगामी प्रभाव पार्ने विश्वास गरिएको छ ।
सम्मेलनले जलवायु परिवर्तनका कारण बाढी, पहिरो, अतिवृष्टि अनावृष्टि, तापलहर, डुबानलगायतका मौसमजन्य प्रकोपले जनधनको उच्च क्षति हुनेमध्येको देश नेपाल बनेको बारे विश्व समुदायलाई जानकारी दिँदै वातावरण अनुकूलनमा सघाउन विश्व समुदायलाई बाध्य पारिने आकलन गरिएको छ । विश्वमा बढ्दै गएको तापमान वृद्धिका कारण हिमाली क्षेत्रको हिउँ पग्लने व्रmममा वृद्धि भएको छ । बाह्रै महिना बाक्लो हिउँले ढाकिने चुचुरा केही वर्षयता क्रमशः नाङ्गा देखिन थालेका छन् । विकसित मुलुकहरूमा बढ्दो ऊर्जा उत्सर्जनका कारण उत्पन्न प्रदूषण नै जलवायु परिवर्तन र तापमान वृद्धिको मुख्य कारक हो । नेपाल जस्ता विकासशील मुलुकले आफूले गल्ती नगरे पनि यसको असर भोग्नु परिरहेको अवस्थामा हानिनोक्सानीको क्षतिभरण जल्दोबल्दो रूपमा उठाउन आवश्यक छ । जलवायु परिवर्तनको मुद्दा एउटा देशको मात्र नभएर अन्तरसम्बन्धित भएकाले नेपाल एक्लैले यसबाट सृजित समस्याको समाधान र सम्बोधन गर्न सम्भव छैन । द्विपक्षीय तथा बहुपक्षीय सहकार्यसहितको सामूहिक आवाज आवश्यकताबोध गराउन पनि यस किसिमका सम्मेलन आयोजना गरिनु अपरिहार्य देखिन्छ । सम्मेलनबाट प्राप्त निचोडले कोप–२९ मा हुने बहसलाई मार्गप्रशस्त गर्ने अपेक्षा छ ।