काठमाडौं, जेठ ८ गते । गायक मनोज तिवारीको पूर्वेली भाकाको नयाँ गीत सार्वजनिक भएको छ । आफ्नै शब्द र स्वरमा सजिएको ‘धनकुटाको सल्लेरी वनैमा’ गीत सोमबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममार्फत सार्वजनिक भएको हो ।
पप गायक ओमविक्रम विष्टले गायक तिवारीको युट्युब च्यानलमार्फत ‘धनकुटाको सल्लेरी वनैमा’गीत सार्वजनिक गर्नुभएको हो । ललितपुरमा आयोजित गीत सार्वजनिक कार्यक्रममा पप स्टार विष्ट, गायिका एन्जेला श्रेष्ठसहित गीतको टिम र चलचित्र क्षेत्रमा कलम चलाउने पत्रकारको उपस्थिति थियो ।
भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि गायक विष्टले धनकुटाको सुन्दरतालाई गीतले बोकेको बताउनुभयो । पपस्टार विष्टले भन्नुभयो, ‘‘धनकुटाको सुन्दरता देखाएको गीत मर्मस्पर्शी बनेको छ।’’ गायिका एन्जेला श्रेष्ठले मनोज तिवारीको गीतले धनकुटाको पर्यटकीय सम्भावनालाई देखाएको उल्लेख गर्नुभयो।
म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा बोल्नुहुँदै गायक तिवारीले अब नयाँ गीत चाँडै दिने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘‘लामो ग्यापपछि नयाँ गीत ल्याएको छु। अब चाँडै नयाँनयाँ गीत रेकर्ड गर्ने तयारी भइरहेको छ। अब नयाँ गीतका लागि धेरै समय प्रतिक्षा गर्नु पर्दैन ।’’
गीतको रचना गायक तिवारी आफैँले गर्नुभएको हो । गीत सिर्जना र संयोजनमा सन्तोष थापाले समेत मेहनत गर्नुभएको छ । अनिल स्टुडियोमा एरेन्ज भएको गीतमा बाँसुरीको धुन किरण बरालले दिनुभएको छ ।
तिवारीले यसअघि ‘कान्छी कालीकाली’ (सामूहिक) नरोऊ नरोऊ गीत ल्याइएसक्नुभएको छ । प्रवासमा रहेर नेपाली गीत सङ्गीत क्षेत्रमा विशेष रुचि राख्ने तिवारीले लामो अन्तरालपछि नयाँ गीत ल्याउनुभएको हो । गीतको म्युजिक भिडियोमा धनकुटाका चर्चित विभिन्न ठाउँका दृश्यलाई समेटिएको छ । छायाङ्कन स्टुडियोले खिँचेको भिडियोमा फिचर गायक तिवारी स्वयम् हुनुहुन्छ भने केही धनकुटाका स्थानीय कलाकारले साथ दिएका छन् ।
गीतको शब्द अनुसार गीतको भिडियो धनकुटाका विभिन्न ठाउँमा छायाङ्कन भएको हो । भिडियोमा धनकुटाको सल्लेरी वन, धनकुटा बजार, भेडेटारको ओरालो घुम्ती, तमोर नदी, मन्दिर हिलेमा रहेको तोङ्बा र त्यस आसपासका दृश्य देखाइएको छ । हिलेमा बनेको तोङबाको मूर्ति र त्यहाँ रहेका शेर्पा जातिको संस्कृतिलाई भिडियोमा देखाइएको छ ।