• १२ साउन २०८१, शनिबार

पाल्पामा 'आईपीभी' खोप अभियान

blog

बिन्दु थापा 

पाल्पा, जेठ ६ गते । जेठ १३ गतेदेखि बालबालिकालाई पोलियोविरुद्धको 'आईपीभी' खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत ९ हजार ४ सय ६७ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख राजेन्द्र गिरिले बताउनुभएको छ । 

उहाँका अनुसार दुई चरणमा सञ्चालन हुने खोप अभियानअन्तर्गत जिल्लाका ९ हजार ४६७ जना बालबालिकालाई आईपीभी खोप लगाइनेछ । २०७३ देखि २०७५ सम्म जन्मेका र उक्त अवधिमा नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई यो खोप लगाउने तयारी गरिएको हो ।

नेपालमा २०७३ जेठदेखि २०७५ भाद्रसम्म आईपीभी खोपको अभाव भएको थियो । पाल्पामा जेठ १३ देखि २३ गतेसम्म दुई चरणमा खोप लगाइनेछ । स्वास्थ्य कार्यालयले खोप लगाउन पाल्पामा ५२९ वटा खोप केन्द्र निर्धारण गरेको छ जसमा विद्यालयमा ४४८ र खोप केन्द्र स्वास्थ्य संस्थामा ८१ केन्द्र छन् । 

स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरिले जेठ १३ देखि २६ गतेसम्म प्रथम चरण र दोस्रो चरणमा गरी खोप लगाइने गिरिले जानकारी दिनुभयो । खोप अभियानका लागि जिल्लास्तरको अभिमुखीकरण सकिएको र पालिकास्तरमा तालिम सञ्चालन भइरहेको उहाँले बताउनुभयो । नियमिततर्फ पोलियोविरुद्ध ६ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र ९ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ ।

सबैभन्दा बढी ५ वर्षसम्मका बालबालिका पोलियो भाइरसबाट सङ्क्रमित हुन सक्ने भएकाले अनिवार्य रूपमा पोलियोविरुद्धको खोप लगाउनुपर्ने बताउनुभयो ।