• ७ मंसिर २०८१, शुक्रबार

अक्करमुनि चामे

blog

झ्याप्प !

गै त गो बत्ती ।

चामे टेक्नु पनि अन्धकारले सर्लक्कै निल्नु बराबरी भयो । फेरि पानीका थोप्लाथोप्ली बढेर ठुल्ठुलै भए । छातै छेडूँला भएर दर्कियो झरी । खोइ, कता लाग्नु । खोइ, कता अडिनु । खोइ, कता छेकिनु ।

कतै क्यै नदेखेको चामेलाई मैले आँखा तिखा पारेर अँध्यारोमा छामछाम छुमछुम गरेँ । निकै गहिरेर हेरेपछि अलेली घर, खाल्टाखुल्टी, खोँच र तछारिएका भिर सामुन्निए ।

आँखाले कालै पहाडका अनगन्ती चुचुरा अँध्यारो चिरेर ठडिएको पनि मजैले देखेँ । अझै उत्तर, पूर्व, पश्चिमतिरबाट फन्को मारेर गएको नदीको गर्जन झनै मस्तले सुनियो । मैले चाल मारेर कान ठाडो पारी पारी नदी कति पर छ भनेर ख्याल गरेँ । उसको गर्जनले भान हुन्थ्यो, आडैमा छ कि ! मैले टेकेको आडैमा नदी उर्ली उर्ली कराइरहेथ्यो ।

मस्र्याङ्दी नदी रै’छ यो गडगडाएको । अँध्यारोमा खोला कराएको सुन्दा सबै लटीपटी पारेर लैजान्छ कि झैँ लाग्ने ।

अँध्यारोमा ठोक्किँदै, चिप्लिँदै, भरभित्तो समाउँदै झोला बिसाउन पुगेँ होटलमा । त्यहाँ पनि बत्ती थिएन । अन्धकारै थियो । पानी झन् दर्कियो । बिजुली गड्याम्म चम्किँदा सँगै गएका साथीका अनुहार देखिए झल्ल । ती उज्याला अनुहारमा त्रास, भोक, थकाइ र हैरानीको लिपपोतले सजिएका देखिन्थे । मेरो पनि त्यै लेप हुँदो हो अनुहारमा ।

रातभरि चट्याङ परिरह्यो । वरपरका डाँडा झिल्ल झिल्ल देखिन्थे । सबै पहाडमा कुदिरहन्थ्यो उज्यालोको लहर ।

त्यै चट्याङे तालमा सुतियो ।

एकाबिहानै कल्याङमल्याङ कानमा ठोकियो ।

मैले झ्याल खोलेर हेरेँ– सुनिरहेका बोली थिए ती । बस्ने र जाने तर्कका तेज त्यो हल्लामा थियो ।

‘खुट्टा तन्काउन नहिँडी हुन्छ ?’

‘फेरि पानी पर्ला जस्तो छ ।’

‘एकछिन हिँडेपछि सबै कुरा मिल्छ ।’

‘भरे भिजियो भने मनाङमा थला परिन्छ त ।’

कुरो सुन्दै म बाहिरिएँ– हल्लाखोरहरू गइसकेथे । राम्रो के भयो भने म बिउँझिन पाएँ ।

कोठाका चारै कुनामा अरू पनि सुतेका थिए । धोक्रे ओछ्यानमा अझै धेरै सुतिरहेथे । सर्लक्क बाहिर आएँ म ।

‘ओहो, कति मिठो मौसम ।’

‘कति मिठो चिसो ।’ उज्यालोमा चामे नियाल्दै कुरा उत्रिए मनका दहमा । राति खिस्रिक्क भएको मन उजेलियो अहिले । सलाईका बट्टाजस्ता कति साना, चिटिक्कका र रङ्गीन घरहरू । घरका लस्कर हेरेर एकछिन टक्क रोकिएँ म ।

‘यी केका पोथ्रा ?’ आँखामा प्रश्न उत्रिन्छन् ।

‘ओहो, स्याउका बोट पो !’ हाँगाभरि लाली चढिरहेका मसिना स्याउदाना देखेर फेरि खुसी फैलियो मेरो गालामा । हावामा गजबले हल्लिन थाले स्याउका चिचिला । स्याउका पोथ्रा हुँदै आँखा घुमाइरहेको छु वरपर । चिसो दिन छ । हावा चल्दै छ सिरसिर । भित्र पसेर पातलो ज्याकेट खापेँ । नाक, कान र गालामा ठुङ्न आएको चिसोलाई थामथुम पार्छु । होटलमा पसेर तातोपानी खाँदा दाउरा ठोस्नेहरू गफ्फिँदै थिए, ‘हिजो जत्तिकै पानी परे त के होला !’

मनाङमा मस्र्याङ्दी खोलोले गर्नुविधि गर्दो रहेछ । पानी परेर बाढी उर्लिएपछि धेरै पटक चामेलाई बगाएको रै’छ । केही वर्षअघि मात्र धारापानीका धेरै घर बगेर स्वाहा भएछन् । बगरमा अहिलेसम्म कति घर छन् रे ठिङ्रिङ्ङ । पानी पर्न थालेपछि मनाङका माथ्ला घर, बस्तीमा पिरलो थपिने रहेछ । पहिरो गएर बाटो थुनिने र मस्र्याङ्दीले चिल्लीबिल्ली पार्ने भएकैले बर्खा ठुलै काल बनेर आउँदो रै’छ यहाँ । ‘जाडोमा हिउँ र बर्खामा भेलपहिरो खेप्न नसक्ने मान्छेको मुटुले मनाङमा काँ बाँच्न सक्छ र ?’

चामेमै घट्टेखोलाको पूmर्ति झन् चर्को रहेछ ।

छुङ्दाले भनेकी थिइन्, ‘राति बुढाको अँगालोमा, बिहान घट्टेखोलाको भँगालोमा ।’

उनका कुराले छाती थिचियो बेस्सरी ।

गिलासमा तातोपानी थपेर अगाडिको अक्करे भिर हेर्न थालेँ । ढुङ्गा खप्टिएर ठडिएको पहरोमुनि चामे बसेको देखिन्थ्यो । रासमाथि रास– काला पत्थरको ।

शान्त चामे मनाङको मूल मुकाम । सरकारी अड्डा र बन्दोबस्तीको बजार नि यहीँबाट सबै हुने । तह तह परेर बसेका साना, रहरलाग्दा, सुकिला घरको ताँतीले आँखा टक्क रोकिन्थे ।

घाम खुल्दै गएपछि हिमालहरू देखा पर्न थाले । काला चुचुरा भएका पहाडमा चट्याङ परेर धर्सैधर्सा भएको जतासुकै देख्न पाइन्थ्यो । पहाडमा पहिरो गएर खैरो बुट्टा र काला दोछायाले चुचुराको रूपै डरलाग्दो देखिन्थ्यो । तल तल हरियै भए पनि पहाडका थाप्लातिर उराठ, उदासी र उजाड संसार सल्बलाएको देखिरहेथेँ म । चामेमा सडक आइपुगेको भर्खरै त हो । २०६९ सालमा नेपाली सेनाले साह्रै जोडबल लगाएर बाटो ल्याइपु¥याएपछि बल्ल नेपाल सरकार यता उभिन सक्यो । नत्र त परपरै थियो मनाङ ।

म तातो घाम ढाडमा पारेर कुरा गर्दै छु– रिन्छेन धोर्जेसँग ।

उनी हिजै बेलुका बेँसीसहरबाट आँखा जँचाउन यता आएका रे । मनाङ गाउँबाट सानैमा काठमाडौँ छिरे पनि उनको आँखा निको भएन रे कसै गरी । ‘गाउँको ओखतीमुलोले राम्रो गर्ला कि भनेर आएको ।’ रिन्छेन धोर्जेका कुरा सुनिरा’छु म ।

बेस्सरी अग्लिएको अक्करे भिरमा अनेक पोथ्रा उम्रेका छन् । सिरु, लहरे घाँस र च्याउ–लेउ नि लहलहाएका छन् । ढुङ्गाको चाङ विचित्रले खप्टिएका छन् । अनेक खालका पत्थरको खात ठडिएर बनेको भिर देख्दा मन, आँखा र ढुकढुकी एकैसाथ चल्दा रै’छन् । अलिक मास्तिर पाखातिर गएर सरर्र हेरेँ चामे । गरैगरामा थपक्क बसे जस्तो देखिन्थ्यो । कान्छीटोल, माडा, ठाडो लाइन, नयाँ बजार, भक्तपुर, बिच बजार गरी अनेक खण्डमा बाँडिएको रहेछ चामे । हामी ठाडे खोला जोडिएतिर लाग्यौँ । पुल तरेपछि लस्करै टुप्लुकिए ढुङ्गेनी घर । बर्खाको सिमसिम फेरि ओइरियो । एकछिन लुङ्ता लहरिएको घरमुनि अडिएर त्यहाँको चकमन्न सुनेँ । हावाको सिरसिर र सुनसानको लुकामारी थियो । त्यही लुकामारीमा थामियो मन । टिङटिङ... टिङटिङ.. टाङटाङ.. टाङटाङ... ।

घन्टी बजाउँदै खच्चड, घोडाका ताँती आइपुगे ।

पानीमा निथ्रुक्क भिजेका खच्चडका हुलका ढाडमा भारी कसिएथे टनक्कै । बेला बेलामा खच्चड अडिएर गर्धनको पानी झार्थे ।  झरीसँगै खच्चडका रङ फेरिए पनि खेदुवाका आँखाले चिनिहाल्थे । अनि कराउँथे, ‘ए राते, लाइन नछोड् है !’ 

मैले खैरो देखेको फेल खायो । अरू नाम यस्तै यस्तै थिए भिन्न, बेग्लै । ‘यी हिजो साँझ ताल गाउँबाट हिँडेका होलान् ?’

‘रातभरि बस्दै, हिँड्दै आइपुगे ।’

माला जपिरहेकी मेङ्खु गुरुङ बोलिन् ।

नमस्ते गेट पुग्नु केही वरतिर देब्रेतिर भेटिएको छाप्रोमा घोडाका घाँडा, काठी, लगामको भारी टन्न थिए । ती लगाम, काठी र घाँडालाई पानीले नभिजाओस् भनेर छाप्रोमा प्लास्टिकले छोपिएथे । काठी हेरेरै थाहा हुन्थ्यो, कति धेरै रहेछन् खच्चडका हुल ।

पानी थामिएपछि हामी थान्चोकतिर लाग्यौँ ।

बाटामा देबे्रतिर मस्र्याङ्दी गहिरेर बगेको देखिन्थ्यो । यो भित्तो र त्यो भित्तो कुदेर खोला कतै कतै थाके झैँ देखिन्थ्यो । फेरि सुस्ताएर आर्जेको शक्ति बेस्सरी खर्चेर गहिरिएको देखिन्थ्यो । मस्र्याङ्दीले कतै फाँट बनाएको, कतै रह बनाएको र कतै आफैँ नदी नाचेर रङ्गशाला बनाएको बगर देखिन्थ्यो ।

‘खोलो जत्तिको कालिगड त को होला र ?’

मेरा कुरा सुनिरहेका मसिनी र गोलमाया हाँसे ।

‘हाम्रो गाउँका धामी जस्ता कुरा गर्नु हुन्छ तपैँ त ।’

गोलमायाले भनिन् । थान्चोकमा किनेको साग र खोर्सानी लिएर उनी चामे जाँदै थिइन् । बगरमा हेलिप्याड थियो । एउटा काठे घोचो गाडिएको थियो । बगरमा बालुवा उठाएर मस्र्याङ्दीको पानी तर्काइएको थियो । फाँटिलो बगरमा थियो एउटा फिरफिरे झन्डा ।

हेलिकोप्टर रोक्ने सङ्केत त्यै थियो । तर झन्डाको धरो हावाले च्यात्ला च्यात्ला बनाएको देखिन्थ्यो । बाटो दायाँबायाँ आलुबारीका गरैगरा देखिन्थे । आलुबारीका ड्याङ हरिया आलुका बोटले छोपेका थिए छपक्कै । धजे गुरुङले मलाई भने, ‘मनाङको आलुमा लट्ठिएर यो गाउँ मैले त छोड्नै सकिनँ ।’

१५ वर्षदेखि खच्चड खेदेका उनले यो आलुको रसबसमै यतै जीवन बितेको बताए । ‘जीवन अब आलु मात्र हुन बाँकी छ ।’

‘किन नि धजे भाइ ?’

‘खच्चडमा आलु बोक्ने काम पाइयो । आलुबारीमा माया पिरिम गरियो । ससुराली जाँदा आलु नै खान पाइन्छ । बाटोमा पहिरो जाँदा आलुको बोरामै सुत्नु पर्छ । मिठो पनि खुबै लाग्छ आलु । रातो दिन आलुसँग सङ्गत हुँदा हुँदा आफ्ना दुई आलुले कामै गर्न नसक्ने होलान् झँै भइसक्यो सर ।’

धजेले आलु कथा कहे ।

सन्तान नजन्मेको उनलाई ठुलो पीडा रहेछ ।

मैले एउटा कुरा भनेर धजेको मनलाई शीतल पारेँ, ‘म पनि आलुवादी हुँ । बुझ्दा आलु नबुझ्दा पिँडालु ।’

चामेलाई छोडेपछि अघि लस्करै बनेका मानेको सुन्दरता यो कुइनेटोबाट निकै राम्रोसँग देखियो । त्यो माने छोएर मैले मन चङ्गा भएको ठानेको थिएँ । दुई तीन कुइनेटोबाट देखिएको यो उज्यालोमा धर्म र कर्म दुवै अझ चहकिला देखिए । मैले हृदयमा अरू सुनसान बसेको अनुभूत गरेँ । मस्र्याङ्दीको आडैमा चामे बसेको थियो । पूर्वबाट उत्तरतिर घुमेको गढतिर बसेको छ– चामे । लमजुङ र मनासलु हिमालको सितलु अँगालोले यसलाई बेर्दो रहेछ ।

चामेभरि लुङ्ता फिरफिराएर मनै शान्त पार्दथे । अझै ढुङ्गैभरि खोपिएका मन्त्र, बुद्ध वाणी र गुरु खेन्पो कर्मा टासीका सत्य वचनले यो थामेलाई अर्कै दिव्य लोकमा पु¥याएको भान हुन्थ्यो ।

नमस्ते गेट पुगिएछ । यहीँबाट चामेको स्वागत हुन्थ्यो ।

त्यसो त हिजो राति हामी म्यार्दी, ताल, खोतरो, धारापानी, बगरछाप, दानाक्यु, तिमाङ, स्याक्र्यु, थान्चोक, तिल्चु, कोटोपछि आइपुगेका रहेछौँ चामे ।

नमस्ते गेटनिरै चिया खान पसेँ म । चियासँगै केही कुरोकन्थो सुन्न पो पाइन्छ कि चामेको !

जूनमाया गुरुङले चिया उमाल्दै भनिन्, ‘दुई दिन लाग्थ्यो बेँसीसहर पुग्न ।’ ‘कहिलेकाहीँ त सुत्केरी गराउन दुई जिउकी लैजाँदा न्वारान गरी फर्किन्थे– जानेहरू । जान दुई दिन, फर्किन तीन दिन । यसोउसो गर्दा बेँसीसहरबाट सात दिन लाग्थ्यो नि हाम्लाई ।’

जूनमायाका कुराले मनाङ चिन्न सघाइरहेथ्यो मलाई ।

मनाङमा कुलु (राजमा), फापर, गहुँ, प्याज, लसुन र आलु राम्रै फल्दो रहेछ । फापरको दानाको पिठो र डाँक्ला सुकाएर दालसम्म बन्छ भन्ने सुन्या थिएँ मैले ।

हिजै बेलुकीदेखि फापरको रोटी र डाँक्लाको दाल खान खोजे पनि चाउचाउ र पाउरोटीले भोक मार्नु परेथ्यो मैले । अँगेनो छेउमा भर्भराएको आगोमा बसेका काला भाँडामा याकको मासु भकभकी उम्लिरहेथे । ‘पै गो छैन ?’ 

फापरको ढिँडो खोजेँ ।

‘पोलो पाकेको छैन ।’

सिस्नोको दाल पनि खोजेँ ।

मैले फापरको ढिँडो र फापरको साग सुकाएर बनाएर दाल खान खोजेको रहर सुनाएथेँ । तर ‘सम्झिने पानी छम्किने’ मात्रै त भयो । चामे फर्किंदा सल्लीपिरमा सुलुत्त सुलुत्त खुबै चिप्लिए खुट्टा । सल्लाको बाक्लो जङ्गल देखिन्थ्यो । जङ्गलभरि काठ चिरान देख्दा हरियाली सिद्धिन्छ कि जस्तो जस्तो पनि भयो मलाई । सँगै जाने साथीहरूलाई नि लागेको रै’छ ।

‘होइ, के सारो रुख ढालेका ।’

‘रुख मात्र हो र– यो त परान ढलेको ।’ 

मेरो अन्तरकुन्तर हल्लियो साथीहरूका कुराले । 

गएकै बाटो चामे फर्किंदा अक्करे भिर सँगसँगै फर्कियो तर अहिले बिर्बिराएको पानी बिलाएर बढिसकेको थियो गर्मी ।

रातै छानाका घरले भरिएको चामेसँग राजा महेन्द्रको नाता बढ्ता गाँसिएको छ ।  ‘भोकै परे मनाङेहरू, यिनले व्यापार गरून् ।’

राजाले पासपोर्ट बनाउन र व्यापार गर्न सघाएको हुनाले आज मनाङसँग चामेको जो उज्यालो र धनधान्य चमक बलेको मैले पाएँ । नत्र हिमालपारिको जिल्ला भनेर हेपिएको हेपिएकै त हुन्थ्यो– मनाङ । चामे बसिरहँदा मन पनि मस्र्याङ्दी जस्तै भइरह्यो– गर्जने, गर्जने र गर्जने । साँच्चि बाङ्गिएर कति चोटि बग्यो होला यो 

खोला ? अनन्त पहरा, भिर र अजङ्गका पहाडसँग मैले यो प्रश्न गरिनँ । तर हरेक बर्खामा बग्छु कि रहन्छु– यो छटपटीसँगै मस्र्याङ्दीका छालको कथा सकिने रहेनछ– चामेमा ।  

Author

युवराज नयाँघरे