• ७ मंसिर २०८१, शुक्रबार

कवि कोकिल विद्यापति

blog

मैथिली भाषाका महाकवि विद्यापतिको जन्म विक्रम संवत् १४०७ मा प्राचीन मिथिला र आधुनिक भारतको विहार प्रान्तको दरभङ्गा जिल्लाको विसफी भन्ने गाउँमा भएको थियो । विद्यापतिको अवसान भएको कार्तिक धवल (शुक्ल) त्रयोदशीको दिनलाई विद्यापति स्मृति दिवसका रूपमा मनाइने गरिन्छ । कवि कोकिल विद्यापतिलाई नेपाल र मिथिला भारतको विहार, पश्चिम बङ्गाल र अन्य क्षेत्रमा पनि राष्ट्रिय विभूतिको रूपमा सम्मान गर्ने गरिन्छ । त्यहाँ उनी धरोहरका रूपमा सम्मानित र पूज्य छन् । महाकवि विद्यापतिलाई बङ्गालीहरूले पनि आफ्नो कवि ठान्दछन् जब कि नेपाली भाषासाहित्य तथा संस्कृतिमा पनि विद्यापतिको प्रभाव परेकै हो । विद्यापति अलौकिक प्रतिभा र आशुकवित्व शक्तिका थिए । विद्यापति पदावलीका अनेकौँ पदमा नेपाली शब्दको प्रयोग भएको पाइन्छ । उनी विशेष गरी शृङ्गार कवि भएकाले राधाकृष्णकै शृङ्गार लीलाको बढी वर्णन गरेका छन् । कतिपयले उनलाई सुरदास र तुलसीदास जस्तै वैष्णव कवि भनेका छन् तर उनका बुवा शैव थिए, फेरि उनी स्वयं पनि महादेवको प्रशंसामा अनेकौँ रचना गरेका छन् ।

शैव भएर पनि उनी एकै ईश्वरका रूपमा सम्झी शिव, विष्णु, देवी, सूर्य र गणेश सम्झी पञ्चदेवोस्ना पनि गर्दथे । उदाहरणका निम्ति प्रत्येक घर र मन्दिरमा बिहान बिहान बजाइने र गाइने यो शिवभजन अधिकांशलाई कण्ठस्थ नै भएको हुनु पर्छ :

‘जय जय भैरवी असुर भयावनि,

पशुपति–भामिनी माया

सहज सुमति वर दिअओ गोसाउनि

अनुगति गति तुअ पाया !!’

उनको एकान्त भक्तिबाट अत्यन्त प्रसन्न भई साक्षात् महादेव नै उगना नामधारी मनुष्य भई उनका नोकर बनेका थिए । एक दिन उगनालाई साथमा लिई जङ्लको बाटो हिँडिरहेका बखत विद्यापतिलाई तिर्खा लागेको रहेछ । विद्यापतिले आफ्ना नोकरलाई जहाँबाट भए पनि पानी ल्याऊ भनी आदेश गरेछन् । त्यो सुनसान जङ्गलमा पानी पाउने सम्भावना कोसौँ टाढासम्म थिएन तर उगनाले गुप्त स्थानमा गएर आफ्नै टाउकोबाट गङ्गाजल निकाली विद्यापतिलाई खान दिएपछि विद्यापतिले “यो त गङ्गाजल हो, तिमी को हौ ? गङ्गाजल कहाँबाट ल्यायौ ?” भने पछि उगना साक्षात् महादेवका रूपमा प्रकट भए तथा यस वास्तविकताबारे कसैलाई पनि नबताउने सर्तमा विद्यापतिकहाँ नोकरकै रूपमा काम गर्न थाले । आफ्नो रहस्योद्घाटन हुनेबित्तिकै आफू त्यहाँबाट विलीन हुने सर्तमा उगनाले विद्यापतिको दासका रूपमा काम गर्न थाले ।

एक दिन विद्यापतिकी श्रीमतीले उगनालाई कुनै सामान ल्याइदिन आग्रह गरिन् । उगनाले त्यो सामान ल्याउन ढिलो गरेपछि रिसले चुर भएकी विद्यापतिकी श्रीमतीले दाउराको चिर्पटले उगनालाई बेस्सरी टठाउन थालिन् । यस अनर्थलाई खप्न नसकी अनायास विद्यापतिको मुखबाट भन्न नहुने शब्द निस्केछ, “साक्षात् महादेवमाथि यस्तो प्रहार ?” उनले यति मात्रै के भनेका थिए, उगना त्यहाँबाट अन्तरध्यान भइहाले । महादेव   (उगना) को वियोगमा विह्वल भएर विद्यापतिले उनलाई खोज्दै मैथिलीका सर्वाधिक गाइने भजनको रचना गरे :

‘उगना रे मोरा कतय गेला ?

कतय गेला शिव कीदहुँ भेला !!’

विद्यापति शृङ्गारी कवि मात्रै थिएनन्, हास्य–शान्त, वीरदिरसमय कविताहरू पनि उनका पदमा प्रशस्त देखिन्छ । उनी संस्कृतका पनि ठुला विद्वान् थिए । उनका संस्कृत रचनाले यसको पुष्टि पनि गरेको छ । भारतको विहार सरकारले सन् १९६६ देखि नै विद्यापति टिकट प्रचलनमा ल्याएको छ । हाम्रो देश नेपालमा पनि विद्यापतिको टिकट चलनमा आएको दशकौँ भइसकेको छ । भारत सरकारले त्यहाँको संविधानको आठाँै अनुसूचीमा नेपालीसँगै मैथिली भाषालाई पनि राष्ट्रभाषाका रूपमा मान्यता दिएको छ । नेपालको जेठो अखबार ‘गोरखापत्र’ राष्ट्रिय नेपाली दैनिकले मैथिली भाषाको उन्नयनका लागि नयाँ नेपाल शीर्षक अन्तर्गत बहुभाषा पृष्ठमा मैथिली भाषा समावेश गरी समाचार, विचार एवं पाठ्यसामग्री प्रकाशित गर्दै आएको छ । मैथिलीको आफ्नो छुट्टै तर गौरवशाली इतिहास छ, लिपि पनि छ । व्याकरण र साहित्यको क्षेत्रमा पनि यो भाषा धनी नै देखिन्छ ।

भनिन्छ, आफ्नो कविता वाचनबाटै विद्यापतिले मुगल शासकद्वारा पक्राउ गरिएका आफ्ना राजाको रिहाइ गराएका थिए । विद्यापति मिथिलाका राजाका कवि थिए । मिथिलाका प्रकाण्ड विद्वान् हरि मिश्र उनका गुरु थिए । विद्यापति शृङ्गार, सौन्दर्य, वीरता भक्तिका पनि कवि थिए । राजा शिव सिंहका उनी दरबारी कवि थिए । विद्यापतिले मैथिली भाषामा श्रीमद्भागवत पनि लेखेका छन् जसको नाम ‘भागवत पाथी’ लेखिएको छ ।

प्रकृतिको वर्णनमा उनको कल्पनाले आकाश छोए जस्तो लाग्छ । उनका वसन्त र वर्षाको वर्णन दत्तचित्त भई सम्झेको खण्डमा परमानन्दको अनुभव हुने गर्छ । मिलन, विरह, प्रेम र मान आदिको वर्णन पनि अवर्णनीय चमत्कारले परिपूर्ण छ । तीर्थस्थानमा जाने आउने बेलामा बिहा–बटुला आदिका मङ्गलमय समयमा र देवदेवी मन्दिरमा गई दर्शन गर्ने समयमा समेत गाइने विद्यापतिका रचनाहरू कर्णप्रिय र चित्ताकर्षक हुने गर्छ । पदावलीकै चामत्कारिकताले आफ्ना तत्कालीन राजाहरूबाट उनले नवजयदेव, कविशेखर, कविकण्ठहार, कवि रञ्जन, दशवधान र कोमल–कान्त पद–चमत्कृत कवि वृन्दबाट ‘कवि कोकिल’ भन्नेसमेत पदवी प्राप्त गरेका थिए ।

मिथिला क्षेत्रमा त्यति बेला विद्यमान बेमेल विवाहप्रति कटाक्ष गर्दै विद्यापतिले एउटा युवतीको बिहे अपेक्षाकृत किशोर बालकसँग हुन पुग्दा ती महिलाको व्यथालाई यसरी व्यक्त गरेका छन् :

‘पिया मोरा बालक हम तरुनी !

कोन तप चुकलौँह भेलौह जननी !!’

श्रीकृष्ण र राधाको नोकझोक (छेडछाड) मा आधारित गीत पनि धेरै छन् । त्यसै गरी श्रीकृष्णकी प्यारी राधाले श्रीकृष्णलाई आफ्नो बाटो नरोक्न र घर जान दिन आग्रह गर्दै भन्छिन् :

‘कुन्ज–भवन सँ निकसलि रे,

रोकन गिरिधारी !

एकही नगर वस माधव हे,

जनिकर बट–मारी !!

छाडु कन्हैया मोर आँचर रे,

फाटत नव सारी

अपजन होएत जगत भरि हे,

जनि करिअ उधारी ।

सँगक सखि अगुआईलि रे,

हम एकसरि नारी ।

दामिनी आए तुलाएल हे !

एक रात अन्धारी !!

भनहि विद्यापति गाओल रे 

सुन गुनमति नारी ।

हरिकसँग–किछु डर नही हे । 

तोहे परम गमारी ।।’

(विद्यापति गाउँछन्, हे गुणी नारी कृष्णसँग भएपछि केको डर ? मूर्ख जस्तो नगर न ।)

आफ्नो जीवन त्याग गङ्गा नदी नजिक गरेका विद्यापतिले पवित्र गङ्गाबाट टाढा हुँदा आफ्नो अश्रुधारा बग्ने गरेको प्रार्थना गर्दै एक्लो गङ्गा स्नान नै जप, तप योग र ध्यानभन्दा ठुलो कुरा हुन्छ भनेका छन् । पटक पटक तिम्रो दर्शन गर्न पाऊँ भन्दै उनले गङ्गालाई आमा भन्दै आफूलाई छोरा बताएका छन् । विद्यापतिका कालजयी रचना अथाह सम्पत्ति र धरोहर छन् । 

 

Author

श्रीमन नारायण