• ७ मंसिर २०८१, शुक्रबार

उदाउँदो चीन

blog

नेपालका माओवादी चीनको हुनान प्रदेशको साओसान गाउँमा जन्मेका माओ त्सेतुङले नेतृत्व गरेको आन्दोलन र विचारबाट प्रभावित छन् । माओले अर्धऔपनिवेशिक र अर्धसामन्ती अवस्थाको चीनलाई मुक्त गर्न नयाँ जनवादी क्रान्तिको नेतृत्व गर्नुभएको थियो । गाउँबाट सहर घेर्ने रणनीति अपनाउनुभएको थियो । ठ्याक्कै यही रणनीति र कार्यनीति नेपालमा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा पार्टीको नाम नै माओवादी राखेर २०५२ फागुन १ देखि जनयुद्ध सुरु भयो । शान्ति वार्तामा बसेपछि १० वर्ष नौ महिना पाँच दिनपछि हतियारको युद्ध समाप्त भयो । हाल माओवादी पार्टीका अध्यक्ष प्रचण्ड नेपालको प्रधानमन्त्री हुनुहुन्छ ।

विचार भन्ने कुरा अचम्मको हुने रहेछ । हामीले माओलाई देखेकै थिएनौँ, उहाँको विचार अनुसार नेपालको सामन्तवादसँग लड्यौँ । यसको राजनीतिक उपलब्धि उल्लेख गर्ने हो भने कल्पनासमेत गर्न नसकिने खालको छ तर अवस्था भने अझै फेर्न सकिएको छैन । जसले सांस्कृतिक क्रान्तिको उद्घोष ग¥यो, उसको पथ पछ्याएका माओवादीलाई चिनियाँ नेता तथा अधिकारीले सांस्कृतिक व्रmान्ति गलत थियो र सच्याएर अघि बढ्यौँ भनिरहेका छन् । यसबारे हामी पनि ‘अपडेट’ हुन आवश्यक छ ।  

संयोग हो, यस पटक लेनिन जयन्तीकै दिन चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्सेतुङको जन्मघरमा पुग्यौँ । उहाँको एकतले सामान्य घरमा पुग्दा हिलोमा नै कमलको फूल फूल्दछ भन्ने कुरा बोध भयो । त्यसको अघिल्लो दिन बेइजिङस्थित माओ स्मृति भवनमा पुगेर उत्तानो परेर सुतेजस्तै लाग्ने अध्यक्ष माओको पार्थिव शरीर अवलोकन गरेर श्रद्धाञ्जली अर्पण ग¥यौँ । चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक सङ्ग्रहालयमा माओले सिलाएर लगाएको लुगासमेत सुरक्षित राखिएको देख्यौँ । अध्यक्ष माओले पढेको हुनान नर्मल विश्वविद्यालयको भ्रमण ग¥यौँ । हुनान हाइब्रिड धान अनुसन्धान केन्द्र जाँदा सुरुमा भोकमरीको पीडा खेपेका चिनियाँ जनताको कारुणिक तस्बिरले चीनको विगत सम्झायो । 

त्यो चीनलाई अहिलेको अवस्थामा ल्याइपु¥याउन माओको विचारले उल्लेखनीय नेतृत्वदायी भूमिका खेलेको देखियो । यसैले चिनियाँ कम्युनिस्ट पार्टीले ‘माओ विचार’ भन्ने गरेको रहेछ । हुनान प्रदेशको चाङ्सा सहरको सुन्तला पार्कमा आठ हजार ढुङ्गा जोडेर विशाल युवा माओको सालिक बनाइएको छ । त्यो सालिक हेर्न जाने भिड देख्दा माओमार्फत उदाउँदो चीनको युवा रूप देख्न पाइन्छ ।  

धेरै अध्येताका अनुसार चीन हजारौँ वर्षदेखि बाहिरी दुनियाँका लागि रहस्य, कौतुहल र आश्चर्यको विषय बनेकै थियो । अहिले फेरि उसको विकसित रूपले विश्वलाई चीनतिर हेर्ने बनाइरहेको छ । कार्ल माक्र्स जन्म द्विशतवार्षिकी समारोह समितिका संयोजक घनश्याम भुसालले काठमाडौँमा प्रस्तुत गर्नुभएको कार्यपत्रमा फ्रान्सिस फुकुयामाले २०१६ मा सी चिनफिङको बिआरआई परियोजनाबारे गरेको टिप्पणी उल्लेख गर्नुभएको थियो । 

फुकुयामाको सङ्केत उदाउँदो चीन र नयाँ विश्वव्यवस्थाको विरुद्ध पश्चिमा लोकतन्त्रवादीको निधारमा आएको पसिना पुछ्दै लामो सास फेरेको अभिव्यक्ति थियो । चिनियाँ क्रान्तिको सङ्कल्प गर्दै अध्यक्ष माओले १९५७ मा नै भन्नुभएको थियो, “चीनमा आधुनिक उद्योग र आधुनिक कृषिको आधार निर्माण गर्न अहिलेदेखि गन्दा १० देखि १५ वर्ष आवश्यक हुने छ ।” यही लक्ष्यका साथ अगाडि बढेको चीनका प्रायः सबै प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल छन् र प्रदेशकै अन्तर्राष्ट्रिय उडान भर्ने जहाजसमेत छन् । द्रुत गतिमा मोटर कुद्ने राजमार्ग छन् । ती राजमार्ग जति घुम्नुपर्ने पहाड, खोला तथा नदी भए पनि सुरुङ खनेर तथा पुल लगाएर सिधा बनाइएका छन् । त्यस्तै जहाजकै गतिमा कुद्ने रेलमार्ग छन् । यस पटक चीनको छेन्दु, बेइजिङ, हुनान, कुइचो र कुन्मिङ तथा यसअघि गोन्चाऊ, बेइजिङ र प्योङयाङको यात्रा गर्दा यही अनुभव भयो । 

कुनै पनि उद्योगधन्दाको विकासका लागि यातायात सुविधा, विद्युत् र जमिन हुनुपर्ने हुन्छ । प्राकृतिक स्रोत र ऐन कानुन पनि उत्तिकै आवश्यक कुरा हुन् । चीनसँग अहिले जल, थल र हवाई यातायात सुविधा उपलब्ध छ । थ्री गजेज जलविद्युत् आयोजना संसारकै ठुलो र प्रख्यात आयोजना हो । कैयौँ पहाड तथा घरका छतभरि सोलार बिछ्याएर सौर्य ऊर्जा प्रयोगमा ल्याइएको छ । सहर तथा राजमार्गका किनारमा वायु ऊर्जा पनि प्रयोगमा ल्याइएको छ । सबभन्दा पछाडि परेको भनिएको कुइचो प्रदेशमा डिजिटल डाटा सेन्टर स्थापना गरिएको छ । सम्पूर्ण जमिन राज्यको नियन्त्रणमा छ । यसैले चाहेको संरचना बनाउन सम्भव भएको छ । यसरी चीनमा उद्योग, उत्पादन र रोजगारी सिर्जना भएको देखिन्छ । 

चीनले विश्वभर आफ्नो उत्पादन निर्यात गरिरहेको छ । २०२४ को पहिलो दुई महिनामा चीनको निर्यात ७.१ प्रतिशतले वृद्धि भएको देखिन्छ । हामीले चाङ्सा सहरमा ब्रोड ग्रुपले देखाएको भूकम्प प्रतिरोधी घरका रूपमा ११ तले भवनको अवलोकन गरेका थियौँ । त्यो घर ३८ घण्टामा निर्माण भएको रहेछ । त्यो जम्मै स्टिलको थियो । सानी ग्रुपका निर्माण सामग्री अवलोकन गर्दा नेपालको पूर्वाधार विकासका लागि उपयोगी हुने देख्याँै । 

गरिबी निवारणका लागि बस्ती स्थानान्तरण, हरेक जाति, समुदायको विशेषतालाई व्यवसाय, पर्यटन र रोजगारमा जोडेको देख्यौँ । चीनमा उपरोक्त अवस्था त्यत्तिकै आएको होइन । क्षेत्रगत लगानी र केन्द्रीय नेता नै पछाडि परेको प्रदेश र गाउँमा गएर त्यहाँका पार्टी र सरकार अभिभावक भई आफ्नो ज्ञान, क्षमता र समय दिनाले गरिबी निवारण भएको हो । के हाम्रा केन्द्रीय नेताहरू पछाडि पारिएका क्षेत्रमा गएर काम गर्न तयार हुनुहुन्छ ? वा त्यस क्षेत्रमा काम गरिरहेकालाई उचित मूल्याङ्कन गर्न सक्नुहुन्छ ? 

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङको नेतृत्वमा हामी ३० जना जनगणतन्त्र चीनको १० दिने भ्रमणमा गएका थियौँ । यो भ्रमण २०८१ वैशाख ५ देखि १६ सम्म भएको थियो । बेइजिङस्थित राजनीतिक सङ्ग्रहालयको अवलोकन गर्दै जाँदा थ्रिडी हेर्ने अवसर मिल्यो । जहाँ सिङ्गो चीनको अवलोकन नजिकबाट गर्न पाइयो । यहाँ समुद्रमुनिको ह्वेल माछासँग खेल्नेदेखि चन्द्रयानमा बसेर अन्तरिक्षको यात्रा गर्दै चन्द्रमामा पुगेर त्यहाँको माटो ल्याएर परीक्षण गर्नेसम्मका काम नजिकबाट हेरियो ।

यस भ्रमण दलले चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग मन्त्री लिउ जियानचाओ, केन्द्रीय पार्टी स्कुलका उपाध्यक्ष सी चुन्ताओ, हुनान प्रदेशका सचिव डा. सेन जियोमिङ र कुइचोका पार्टी सचिव सु लिनसँग भेटघाट भयो । हुनानमा चिनियाँ कम्युनिस्ट पार्टीका इतिहास विभागका उपमहानिर्देशक प्राध्यापक वाङ यी र कुइचोमा प्राध्यापक छी मिङचुनसँग आधुनिक चीन र सी विचारधाराबारे अन्तव्रिर्mया भयो । यसलाई चीनले राजनीतिक रूपमा सी चिनफिङ विचारधारा अर्थात् चीनको सपना भनेर देखाइरहेको छ । यसबाट के अनुमान गर्न सकिन्छ भने चीन अबको विश्व केन्द्र बन्दै छ ।

अबको १० वर्षमा धेरै परिवर्तन भइसक्ने छ । हालै नेपालमा लगानी सम्मेलन भयो । चीनबाट मात्र करिब एक सय जना लगानीकर्ताले भाग लिन आए । चिनियाँ प्रविधि, सीप, विश्वास र ज्ञानमा अम्बल दर्जामा पर्ने व्यापारी हुन् । चिनियाँको बौद्धिक क्षमता, ग्रहणशीलता, नवोत्थान, अध्ययन र अनुसन्धान गर्ने प्रवृत्ति र प्रकृति, विकासको शैली सिक्न लायक छ । हरेक विषयमा चिनियाँ सिर्जनशील सोच राख्ने, प्रयोग गरी हाल्ने, फाइदा बेफाइदा केलार्ई हाल्ने र सम्भावना भएको क्षेत्रमा उत्पादनको बजारीकरण गरी हाल्ने भएकाले चीनमा द्रुत आर्थिक विकास सम्भव भएको हो ।  

राष्ट्रपति सी चिनफिङको चीनको सपना (चिनियाँ विशेषतासहितको समाजवाद) ले जर्मन दार्शनिक फेडरिक हिगेलले फिलोसफी अफ हिस्ट्रीमा सूर्य, मान्छे र इतिहासको जीवन उस्तै हुन्छ भनेको सम्झना गराउँदछ । हिगेलका अनुसार सूर्यको किरण पहिला जहाँ पुग्छ, त्यहाँ मानव विकास हुन्छ । विश्वको पहिलो झुल्को पर्ने ठाउँ मङ्गोलिया हो । मङ्गोलिया क्षेत्र पृथ्वीको सर्वाधिक पूर्वी क्षेत्र हो । तसर्थ चिनियाँ सभ्यता नै इतिहासको शिशुकाल हो । चन्द्रमाबाट देखिने ग्रेटवालले यही पुरानो चिह्न देखाइरहेको पो हो कि ! 

मङ्गोलियाबाट हिडेको सूर्य आइपुग्ने दोस्रो ठाउँ दक्षिण एसिया हो । यो सभ्यता र संस्कृतिको लागि बाल्यकाल हो । त्यसपछि सूर्य मध्य एसिया पुग्छ । त्यहाँ पुगेर इतिहास किशोर हुन्छ । ग्रिसमा पुगेर इतिहास वयस्क हुन्छ । युरोपमा पुग्दा सूर्य र इतिहास दवबै अधबैँसे भइसकेका हुन्छन् । अमेरिका पुग्दा त्यो बुढो भइसक्छ । यस आधारमा अमेरिकामा अस्ताउन लागेको घाम जनगणतन्त्र चीनमा उदाउन लागेको देखियो । 

 

Author

डा. दीपेन्द्र रोकाया