लेखनाथ, जेठ ५ गते । समालोचक ईश्वरचन्द्र ज्ञवालीलाई यस वर्षको ‘गोकुल वाङ्मय पुरस्कार’ प्रदान गरिने भएको छ । गण्डकी साहित्य सङ्गम पोखराले स्थापना गरेको पुरस्कारको राशि ४० हजार रुपियाँ र सम्मानपत्र रहेको छ ।
सङ्गमका अध्यक्ष भीम रानाभाटका अनुसार जनकवि गोकुल जोशीको सम्मानमा स्थापना गरिएको पुरस्कार प्रगतिशील साहित्य, दर्शनशास्त्र र समालोचनाको क्षेत्रमा क्रियाशील ज्ञवालीलाई प्रदान गर्न लागिएको हो । चार दशकदेखि नेपाली वाङ्मय क्षेत्रमा क्रियाशील ज्ञवालीको जन्म पाल्पामा भएको हो ।
यसअघि यो पुरस्कारबाट केवलपुरे किसान, खगेन्द्र सङ्ग्रौला, गोविन्द भट्ट, श्यामप्रसाद शर्मा, रमेश विकल, निनु चापागाईं, चैतन्य, घनश्याम ढकाल, मोदनाथ प्रश्रित, हरिहर खनाल, जीवन शर्मा र डा. ऋषिराज बराल सम्मानित भइसक्नुभएको छ ।