• १२ साउन २०८१, शनिबार

पूर्वाधार बढ्दै, विद्यार्थी सङ्ख्या घट्दै

blog

बुढीगङ्गा नगरपालिका–४ थुमा माविका अध्ययनरत कक्षा ४ का छात्रा छात्र । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, जेठ ४ गते ।
बाजुरामा विद्यालयका पूर्वाधार बढ्दै गए पनि विद्यार्थीको सङ्ख्या भने बर्सेनि घट्दै गएको छ । गत वर्ष विद्यार्थीले खचाखच भरिएका बाजुरामा अधिकांश विद्यालयका कक्षाकोठा पछिल्लो समय खाली भएका छन् । 

प्रत्येक वर्षमा विद्यार्थीको सङ्ख्या घट्दै आएकाले पछिल्लो समय ती अधिकांश विद्यालयका कक्षाकोठा खाली हुने गरेका हुन् ।

यहाँका स्थानीयले दुई सन्तान श्वरको वरदान, सुखी तथा खुसी परिवारको चाहना राख्दै बालबालिकाको जन्म कम हुँदै गएकाले विद्यालयमा कक्षाकोठा खाली हुने गरेको बुढीगङ्गा नगरपालिका–४ धुमा माविका प्रधानाध्यापक पूर्णबहादुर खातीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यार्थी भर्ना अभियानका बेलामा गाउँ बस्तीमा जाँदा समेत विद्यालयमा आउने बाालबालिकाहरु कम देखिएको र भएका सबै बालबालिकाहरु विद्यालयमा भर्ना भएका छन् । तर कक्षा कोठामा भने बालबालिका कम उपस्थित हुने गरेका छन् ।”

‘‘निजी विद्यालयमा गएर हो कि यता कम भएको भन्ने सोच थियो । तर यसो हेर्दा निजी विद्यालयमा पनि बालबालिका कम भर्ना भएकाले पछिल्लो समय जनचेतना, गरिबीका कारण कम सन्तान जन्माउँदा विद्यालयमा पनि बालकालिकाको सङ्ख्यामा कमी  हुँदै गएको हो ।’’ खातीले भन्नुभयो ।

जिल्लाका अधिकांश विद्यालयमा यो वर्ष कक्षा ५ र ८ को परीक्षामा विद्यार्थी अनुत्तीर्ण भएका कारण ६ र ९ कक्षामा विद्यार्थीहरु कम भए पनि एकदेखि ५ कक्षामा समेत विद्यार्थी कम देखिएका छन् ।

केही वर्ष पहिला यहाँका अधिकांश बालबालिका निजी विद्यालयमा जाँदा सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या कम हुने गथ्र्यो । भने यो वर्षमा निजी विद्यालयमा समेत बालबालिकाको सङ्ख्या कम देखिएको छ ।

गुणस्तरीय शिक्षाका लागि पछिल्लो समय यहाँका नौ वटा स्थानीय निकायले शिक्षामा बर्षेनी रकम लगानी गर्दै आएका छन् । विद्यालयमा विद्यार्थीहरुको पढाइमा सुधार ल्याउनका लागि भौतिक तथा शैक्षिक क्षेत्रमा विशेष जोड दिने गरेका छन् ।

केही समय पहिला बाजुरामा विद्यालयमा विषय शिक्षक नहुँदा बालबालिकाहरुको पढाएमा असर हुँदै गएको थियो । अहिले त्यसलाई मध्यनजर गर्दै यहाँका स्थानीय सकारले प्रत्येक विद्यालयमा विज्ञान, गणित र अङ्ग्रेजी शिक्षक नियुक्ति गर्दै आएका छन् ।

बाजुराका अधिकांश विद्यालयहरुको भौतिक पूर्वाधार विकासमा समेत निकै परिवर्तन भएको छ । केही वर्ष पहिला विद्यार्थी बस्नका लागि उपयुक्त कक्षा कोठा हुँदैन थिए भने अहिले विद्यार्थी बस्नका लागि विद्यालयमा प्रयाप्त मात्रामा कक्षा कोठा रहेको दिलबहादुर नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पहिला विद्यालयका पुराना भवनमा कक्षा कोठा कम भएकाले ए सेक्सन बि सेक्सन गरेर शिक्षकले पठाउने गर्नु हुन्थ्यो । भने अहिले कक्षा कोठा निकै व्यवस्थित गरेका छन् । तर विद्यार्थी भने कम हुँदै आएका छन् ।”

बाजुरामा यो वर्षमा अधिकांश विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएपछि स्थानीय निकाय ती नजिकका विद्यालयहरुलाई मर्च गर्ने योजनामा छन् ।

२०८१ को नयाँ भर्नामा पाँच हजार तीन सय आठ मात्र प्रारम्भिक बालविकास कक्षामा बालबालिका भर्ना भएको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराले जनाएको छ ।

त्यसैगरी कक्षा एकदेखि पाँचमा नौ हजार ४०१ छात्रा, ८ हजार ६८६ छात्र, कक्षा ६ देखि ८ मा पाँच हजार ३६३ छात्रा, पाँच हजार ४३ छात्र, कक्षा नौदेखि १० मा दुई हजार ४०८  छात्रा, दुई हजार २२० छात्र गरी ३८ हजार ४२९ विद्यार्थी भर्ना भएको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका नि.कार्यालय प्रमुख तथा सूचना अधिकारी लालबहादुर विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गत वर्ष २०८० सालको विद्यार्थी भर्नाको तुलनामा यो २०८१ सालको नयाँ विद्यार्थी भर्ना सङ्ख्या कम रहेको छ ।’’

बाजुरामा कक्षा एकदेखि तीनसम्म २२८, चारदेखि पाँचसम्म १७६, छदेखि आठसम्म ११२, नौदेखि १० सम्म ६७, ११ देखि १२ सम्म २९ र तीन वटा क्याम्पस गरी ६१५ विद्यालय सञ्चालनमा रहेको सूचना अधिकारी विष्टले बताउनुभयो ।