आमउपभोक्ताको दैनन्दिन महँगीको मारमा परेर पिल्सिएको छ । सबैभन्दा बढी न्यूनवर्गीय परिवारलाई बिहान बेलुकीको छाक टार्न कष्टकर भएको अनुभूत हुन्छ । दैनिक उपभोग्य वस्तुको अकासिँदो बजारमूल्यका कारण खटाएर खानुपर्ने स्थिति छ । हुनेखाने वर्गलाई मूल्य वृद्धिले उति असर नगरे पनि हुँदाखाने वर्गको हकमा भने सामान्य मूल्य वृद्धिले पनि ठुलै प्रभाव पार्ने गरेको देखिन्छ । खास गरी चाडपर्वको बेलामा हुने कृत्रिम अभाव र मूल्य वृद्धि केही वर्षयता ‘सयमा बढ्ने र दसमा घट्ने’ गरेको हो । यद्यपि केन्द्रीय बैङ्कको तथ्याङ्कमा भने अघिल्लो वर्षको तुलनामा यस वर्ष मूल्य वृद्धि सामान्य देखिएको छ । नेपाल राष्ट्र बैङ्कले केही समयअघि सार्वजनिक गरेको प्रतिवेदनमा चालु आर्थिक वर्ष २०८०/८१ को चैत महिनामा सेवा तथा वस्तुको महँगी अघिल्लो आवको सोही महिनाको तुलनामा घटेको उल्लेख छ । तथ्याङ्कले महँगी घटेको देखाए पनि आमउपभोक्ताले भने बजार भाउ सस्तिएको अनुभव गर्न नपाएको अचम्म लाग्दो अवस्था छ ।
केन्द्रीय बैङ्कको प्रतिवेदन अनुसार गत आवको चैत महिनामा ७.७६ प्रतिशतले बढेको महँगी चालु आवको चैतमा भने ४.६४ प्रतिशतमा सीमित भएको उल्लेख छ । खाद्य तथा पेय पदार्थको महँगी पनि गत वर्षको चैतमा ६.९३ प्रतिशत रहेकोमा चालु आवको चैतमा ५.२१ प्रतिशतमा सीमित रहेको देखिएको हो । बजार मूल्यको यस्तो अवस्था र उपभोक्ताले वस्तु तथा सेवा खरिदमा खर्चिएको मूल्यबिच भने तालमेल देखिँदैन । जसले गर्दा आमउपभोक्तासम्म सर्वेक्षण/अनुगमन नभएको हो कि भन्ने उपभोक्तामा आशङ्का उब्जिएको छ ।
केन्द्रीय बैङ्कले उपभोक्ता मूल्य सूचकाङ्क गणना गर्न सर्वेक्षणको आधारमा पहिचान गरिएका करिब पाँच सय वटा वस्तु तथा सेवालाई बास्केटमा समावेश गरेर वस्तु तथा सेवाको बास्केट निर्धारण गर्ने गरेको पद्धतिमै शङ्का गर्ने अवस्था आएको छ ।
मुलुकभरका ६० वटा बजार केन्द्रबाट बास्केटमा परेका वस्तु तथा सेवाको साप्ताहिक, मासिक र त्रैमासिक रूपमा मूल्य सङ्कलन गरी उपभोक्ता मूल्य सूचकाङ्क तयार गर्ने गरिएको केन्द्रीय बैङ्कको भनाइ छ । मूल्य सूचकाङ्क तोकिएका वस्तु तथा सेवालाई विभिन्न समूहमा विभाजन गरेर मूल्यभार प्रदान गरिन्छ । कुनै वस्तु तथा सेवाको मूल्य वृद्धि भए तापनि अर्को वस्तु तथा सेवाको मूल्य कम हुन जाँदा औसत भारित मूल्यमा सामान्य मात्र परिवर्तन भएको हुन सक्छ । आमउपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा आफूले खरिद गर्ने वस्तु तथा सेवाको मात्र धेरैले मूल्यवृद्धि भएको वा घटेको महसुस गर्ने हुनाले केन्द्रीय बैङ्कले प्रकाशन गरेको मूल्य सूचकाङ्कको वृद्धि र आमजनताले अनुभव गर्ने मूल्यवृद्धिबिच तालमेल नभएको अनुभव हुन सक्ने जानकारहरूको भनाइ छ । जसले गर्दा प्राविधिक रूपले तयार पारिएको तथ्याङ्कले व्यावहारिकतालाई शतप्रतिशत प्रतिनिधित्व गर्न नसक्ने उपभोक्ताको अभिमत मननीय हुन आउँछ ।
केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारमा महँगी सामान्य देखाउँदा आमउपभोक्ताको हकमा भने हरेक वर्ष महँगीको कष्ट थपिँदै गएको देखिन्छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गएको एक वर्षको बिचमा सबैजसो उपभोग्य वस्तुको मूल्य औसतमा २० प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा सबैभन्दा बढी दैनिक उपभोग्य वस्तु खाद्यान्न र दलहनजन्य वस्तुको मूल्य उच्च भएको हो । सबैभन्दा बढी दलहन प्रतिकेजीमा सय रुपियाँसम्म महँगो भएको छ । पछिल्लो पटक दैनिक उपभोग्य अधिकांश वस्तुको मूल्य महँगिएको बेलामा केन्द्रीय बैङ्कले गत वर्षको चैतको तुलनामा यो चैतमा महँगी घटेको देखाउँदा उपभोक्ताले भने अनुभव गर्न नपाएको बताउनुले तथ्याङ्क र व्यवहारमा तालमेल नभएको देखिएको हो । उपभोक्तासँग सम्बन्धित करिब पाँच सय वस्तु तथा सेवालाई एउटै डालोमा राखेर विश्लेषण गरिएको तथ्याङ्कमा बजार मूल्यसँग नमिल्नु स्वाभाविक भएको बैङ्कका प्रवक्ताको भनाइले पनि पुष्टि हुन्छ ।
वास्तविक बजार मूल्यसँग तथ्याङ्क मेल नखानुको अर्को मुख्य कारण कालोबजारीलाई लिन सकिन्छ । आन्तरिक बजारमा अनियन्त्रित मूल्यवृद्धिको सम्बन्धित निकायबाट अनुगमन नहुनु तथा उद्योगी÷व्यापारीको अदृश्य सिन्डीकेट प्रणाली पनि उत्तिकै जिम्मेवार भएको उपभोक्ताको भनाइ मननीय हुन आउँछ । चाडपर्वका बेला केही स्थानमा सरकारी अनुगमन टोली सव्रिmय देखिए पनि अन्य समयमा भने शून्यप्रायः देखिन्छ । व्यापारीहरूले आफूखुसी वस्तु तथा सेवाको मूल्य निर्धारण गर्ने हुँदा महँगी नियन्त्रण असम्भव भएको यथार्थबोध हुन्छ । व्यापारीहरूले व्यापारिक धर्म निर्वाह र जिम्मेवार निकायहरूले जिम्मेवारीबोध गरिदिँदा मात्र तथ्याङ्क सही साबित हुन्छ, अन्यथा मिथ्याङ्कमा परिणत हुन सक्ने खतरा देखिन्छ ।