• ९ मंसिर २०८१, आइतबार

भन्सार छलेर ल्याइएको नौ लाखका कपडा बरामद

blog

महोत्तरी प्रहरीले बरामद गरेको भारतीय कपडा । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दीबास, जेठ ३ गते ।
 भन्सार छलेर ल्याइएको नौ लाख रुपियाँभन्दा बढीका भारतीय कपडा महोत्तरी प्रहरीले बरामद गरेको छ । रामगोपालपुर नगरपालिका ६ स्थित सडक छेउबाट बेवारिसे अवस्थामा एक हजार १५७ थान कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । बरामद कपडामध्ये एक हजार र एक हजार पाँच सय दरका ७१५ थान साडी तथा सोही दरका ४४२ थान लेडिज कुर्ता सुरुवाल छन् ।

रामगोपालपुर आसपासका क्षेत्रमा सीमा तस्करको चलखेल बढेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जलेश्वरबाट खटी गएको गस्तीले सामानसहित बीआर ०६ बीएक्स ३३४० नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी सन्तुलाल प्रसाद जसवारले जनाउनुभयो ।

यस्तै सीमा गस्तीमा रहेको प्रहरीले जलेश्वर नपा ३ बाट बीआर ०६ बीएल ४२२३ नम्बरको मोटरसाइकलसहित म्याक्स कम्पनीको ३६ लिटर मोविलसमेत नियन्त्रणमा लिएको छ । गस्ती प्रहरीलाई टाढैबाटदेखि मोटरसाइकलसहित मोबिल छाडेर तस्कर फरार भएको प्रहरीको भनाइ छ ।

बरामद कपडाको आठ लाख ४१ हजार आठ सय र मोटरसाइकलको ६० हजार गरी नौ लाख एक हजार आठ सय रुपियाँ तथा मोबिल र मोटरसाइकलको एक लाख एक हजार ६ सय रुपियाँ प्रतिवेदन मूल्य कायम गरी कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरीले जनाएको छ ।