काठमाडौँ, वैशाख ३ गते । साहित्यकार रवीन्द्रनाथ टैगोरको सम्झनामा विश्वका ११ कविलाई भानुसिंह साहित्य पुरस्कार प्रदान गरिएको छ । बङ्गलादेशको दी डेली ग्लोबल नेसन र भारतको ग्लोबल राइटर्स एकेडेमीद्वारा संयुक्त रूपमा आयोजित युगल कविता लेखन प्रतियोगितामा उत्कृष्ट सिर्जना प्रस्तुत गर्ने छ देशका ११ जना कविलाई सो पुरस्कार प्रदान गरिएको हो ।
सो प्रतियोगितामा सरोज ओझा (नेपाल), कुमार मलाय (भारत), सुची पात्रा, हर्सद पण्डित, डा. तस्निम उस्ताद, देवश्रिता बसु, गोरडाना एन्डोनोव्स्का (मेसोडेनिया), बोत्स्वानाका केनेथ मस्वाबी, मिरियम गेजेल बेन ब्राहिम (ट्युनिसिया), मार्लोन सलेम ग्रुजो बोन्ड्रोफ (फिलिपिन्स), एल्माया काबारोवा (अजरबैजान) ले पुरस्कार प्राप्त गर्नुभएको छ ।
ग्लोबल राइटर्स एकेडेमीले अनलाइनमार्फत कविता आह्वान गरेको थियो । भानुसिंह पुरस्कार रवीन्द्रनाथ टैगोरको जन्मजयन्तीको स्मरणमा प्रदान गर्ने गरिन्छ । भानुसिंह कविताले राधा र कृष्णबिचको प्रेमको वर्णन गर्दछ । जसलाई भारतीय कविताको परम्परागत विधा पनि मानिन्छ ।