जनार्जन खत्री
सर्लाही, जेठ २ गते । सर्लाहीमा मङ्गलबार राति तीन फरक स्थानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
बयलवास–बबरगन्ज सडकखण्ड अन्तर्गत चन्द्रनगर गाउँपालिका–२, पर्ती बजार नजिक रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । ज १ त ५१९० नम्बरको ट्याक्टरमा दक्षिणतर्फबाट आइरहेको प्रदेश–२–०३–०२१ प ११६८ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक ईश्वरपुर नगरपालिका–१०, बेलाका २९ वर्षीय सन्जित कुमार साहको घटनास्थलमै मृत्यु भएको हो ।
अगाडिबाट आएको स्कारपियो गाडीको बत्तीका कारण मोटरसाइकल चालक साहले राम्रोसँग आँखा नदेख्दा ट्याक्टरमा गएर ठोक्किएको हुनसक्ने आशङ्का गरिएको छ । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहनुभएका साह केही दिनअघि मात्रै छुट्टीमा घर आउनुभएको थियो ।
यस्तै जिल्लाको बरहथवा नगरपालिका–१४, लालदियरमा बा ४० प ८९९५ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा चार जना घाइते भएका छन् । दुर्घटनामा साइकल यात्री बरहथवा–१४, का ५५ वर्षीय हरिनारायण महतो, उहाँको नाति दुई वर्षीय आकाश महतो, मोटरसाइकल चालक बरहथवा नगरपालिका–१२, बस्ने २१ वर्षीय रुपचन राम र पछाडि सवार २४ वर्षीय शिवेक कुमार महतो घाइते भएका हुन् ।
घाइते चारै जनाको जनजीवन अस्पताल बरहथवामा उपचार चलिरहेको छ । त्यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत ईश्वरपुर नगरपालिकास्थित बाँके जङ्गलमा बर्दिवासबाट फूलजोरतर्फ आइरहेको प्रदेश २–०३–००१ च ४००८ नम्बरको खाली पिक अप तीव्र गतिका कारण अनियन्त्रित भई पल्टिँदा चालक र सहचालक घाइते भएका छन् ।
दुर्घटनामा घाइते पिक अप चालक सिन्धुलीको दुधौली नगरपालिका–४, डकहा बस्ने २३ वर्षीय शान्तिप्रसाद तिमल्सिना र सहचालक सोही ठाउँका १९ वर्षीय रोहन लामिछानेको मोडेल अस्पताल लालबन्दी उपचार चलिरहेको प्रहरीले जनाएको छ ।