• ३० भदौ २०८१, आइतबार

मेलम्ची आयोजनाबाट बाह्रै महिना खानेपानी

blog

काठमाडौँ, जेठ १ गते । सरकारले आगामी आर्थिक वर्षमा मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा बाढीले क्षति पुर्‍याएको मेलम्ची आयोजनाको दिगो व्यवस्थापन गर्दै बाह्रै महिना खानेपानी उपत्यका आउने व्यवस्था गरिने बताउनुभयो ।

साथै पानी चक्रपथ बाहिरका क्षेत्र र भक्तपुरको अरनिको राजमार्ग आसपासका क्षेत्रमा खानेपानी आपूर्तिको व्यवस्था मिलाइने पनि उहाँले बताउनुभयो ।

यस्तै सरकारले आगामी आर्थिक वर्षमा उपत्यकाको खानेपानीको समस्या निराकरण गर्न शिवपुरी राष्ट्रिय निकुञ्ज आसपासका जलाधार क्षेत्रका स्रोतबाट पानी सङ्कलन गरी वितरण हुने प्रबन्ध मिलाइने भएको छ । 

राष्ट्रपति पौडेलले सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपत्यकामा रहेको खानेपानीको दिगो समाधानका लागि पानीका स्रोतको खोजी गरी वितरणलाई प्राथमिकतामा राखिने बताउनुभयो ।