• १२ साउन २०८१, शनिबार

मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने

blog

सुदूरपश्चिम प्रदेशसभा भवन । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, वैशाख ३१ गते ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते विश्वासको मत लिनु हुने भएको छ ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र प्रदेश सभा सदस्य लगायतको समर्थनमा मुख्यमन्त्री हुनुभएको उहाँले संविधानमा भएको व्यवस्था बमोजिम विश्वासको मत लिन गइरहनुभएको हो ।

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि जेठ ३ गते बिहीबार बिहान १०ः१५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । यसअघि, विश्वासको मत लिनका लागि दुई पटक बोलाइएको बैठक स्थगित गरिएको थियो ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका सोडारी वैशाख ६ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । यसरी नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै सदनबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

५३ सदस्यी सुदूरपश्चिम प्रदेश सभामा बहुमत जुटाउनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ । गठबन्धन दल एमालेका ११, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका सात र मुख्यमन्त्रीको पार्टी नेकपा एसका चार जना प्रदेश सभा सदस्य हुनुहुन्छ ।

यसैगरी, एक स्वतन्त्र प्रदेश सभा सदस्यको पनि मुख्यमन्त्रीलाई समर्थन रहेको छ । नागरिक उन्मुक्ति पार्टीका भने सातमध्ये पार्टी अध्यक्ष पक्षधर भनिएका दुई जना प्रदेशसभा सदस्यकोमात्रै मुख्यमन्त्रीलाई समर्थन रहे पनि बहुमत पुग्ने देखिन्छ ।