• १३ साउन २०८१, आइतबार

नदीमा डुबेर दुई बालबालिकाको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, वैशाख ३० गते । कैलालीमा नुहाउने क्रममा नदीमा डुबेर आज दुई जना बालबालिकाको मृत्यु भएको छ । कैलारी गाउँपालिका–८ लोहरपुरस्थित कटैनी नदीको टेढी बाँध क्षेत्रमा नुहाउने क्रममा सोही ठाउँका १३ वर्षीय दुर्गा साउँद र सात वर्षीय अमिल खड्काको डुबेर ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बालकको घटनास्थलमै र बालिकाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको छ । नदीमा डुबेका दुवै जनाको उद्धार गरेर स्थानीयले उपचारका लागि सुरुमा उदासीपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएका थिए । 

घटनामा गम्भीर घाइते बालिका दुर्गाको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि सेती अस्पताल पुर्‍याउँदा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जानकारी दिएको छ ।