• ९ मंसिर २०८१, आइतबार

गोदावरीमा फोहोर व्यवस्थापन केन्द्र निर्माण अन्तिम चरणमा

blog

फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणस्थल । तस्बिर : भवानी ऐर

भवानी ऐर
गोदावरी (कैलाली), वैशाख ३० गते ।
 सुदूरपश्चिमकै केन्द्रबिन्दु मानिने कैलालीको अत्तरिया बजारमा  पछिल्लो समय जनघनत्व बढ्दै गएको छ । यहाँका सात पहाडी जिल्ला र तराईका दुई जिल्ला प्रवेश गर्ने एक मात्रै चल्तीको सडकमार्ग भएकाले कैलालीको गोदावरी नगरपालिकामा फोहोर व्यवस्थापन गर्न निकै चुनौती रहेको थियो । तर अब भने एसियाली विकास बैङ्क (एडिबी)को ऋण अनुदान सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीको संयोजनमा फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

दुई वर्षअघि १८ जुलाई २०२२ मा ठेक्का सम्झौता गरेर निर्माण कार्य सुरु गरिएको फोहोरमैला व्यवस्थापन केन्द्रको करिब ९० प्रतिशत काम सकिएको निर्माण कम्पनीले जनाएको छ । सम्झौता अनुसार अझै निर्माण अवधि पाँच महिना बाँकी रहेकाले समयमै काम सम्पन्न गरिने निर्माण कम्पनी चाइनाको सिचुवान प्रोभेन्सी जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सले बताएको छ ।

निर्माण कम्पनीका इन्जिनियर अशोक पाण्डेले फोहोरमैला व्यवस्थापन केन्द्रमा ठोस फोहोरमैलासँगै दिसाजन्य लेदोको छुट्टाछुटै व्यवस्थापन हुने बताउनुभयो । उहाँले ठोस फोहोरलाई कुहिने, रिसाइकल हुने र कामै नलाग्ने फोहोरमा विभाजन गरेर व्यवस्थापन गरिने भन्दै दिसाजन्य फोहोरको व्यवस्थापन गर्नका लागि पाँच घनमिटर र आठ घनमिटरका छुट्टै सेड निर्माण गरिएको बताउनुभयो ।

फोहोरमैला व्यवस्थापन केन्द्रमा ठोस फोहोर प्रतिदिन १३ टन र दिसाजन्य फोहोर प्रतिदिन १३ घनमिटर व्यवस्थापन गर्न सकिने जनाइएको छ । ठोस र दिसाजन्य फोहोर ट्याङ्करमा लोड गरेर केन्द्रसम्म पुर्‍याइने जनाइएको छ । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणपछि तीन वर्ष निर्माण कम्पनीले नै सञ्चालन गरेर गोदावरी नगरपालिकालाई हस्तान्तर गर्नेगरी सम्झौता गरिएको छ ।

पाँच हेक्टर क्षेत्रफलमा फैलिएको फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि ५१ करोड ६९ लाख ७४ हजार ४९९ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । यो कार्यक्रम सुदूरपश्चिमका चार पालिकाका लागि आए पनि अन्य पालिकाले यसलाई कार्यान्वयन गर्न सकेका छैनन् । जग्गा उपलब्ध गराउन नसक्दा कैलालीको धनगढी उपमहानगरपालिका, कञ्चनपुरको भीमदत्त र लालझाडी नगरपालिकाले काम सुरु गर्न नसकेको हो ।

गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्रराज भट्टले फोहोरमैला व्यवस्थापनका लागि यति ठुलो परियोजना कार्यान्वयन ल्याउन निकै मिहेनत गर्नुपरेको बताउँदै यसबाट अब कम्पोष्ट मल उत्पादन गरी गोदावरीमा फोहोरमैलाको दिगो व्यवस्थापन हुने बताउनुभयो ।

नगर प्रमुख भट्टले फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माणका लागि ठुलो क्षेत्र आवश्यक पर्ने भएकाले जग्गाको व्यवस्थापन गर्न निकै चुनौती भए पनि आफूहरू त्यसमा सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘एडिबिको पहिलो सर्त वनको जग्गा क्लियर गरेर दिनुपर्ने थियो । हामीले शनिबारको दिन पनि काम गरेर रुख कटाउने आदेश पाएर यो काम गर्न सफल भएका हौ ।’’

गोदावरी नगरपालिका वडा नम्बर ३ मा रहेको चौकीडाँडा सामुदायिक वन क्षेत्रमा निर्माण भइरहेको फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि सो क्षेत्रमा एक हजार बढी रुख काटिएका थिए । परियोजनालाई ५० वर्षसम्म प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएको बताइएको छ । यसको निर्माणका लागि ७५ प्रतिशत एडिबीको ऋण अनुदान सहयोग र २५ प्रतिशत नेपाल सरकारको सहयोग रहेको छ ।