• ८ जेठ २०८१, मङ्गलबार

गण्डकीमा सवारी दर्ताको दर घट्यो

blog

रमेश पौडेल

पोखरा, वैशाख २८ गते। गण्डकी प्रदेशअन्तर्गत रहेको सवारी व्यवस्था कार्यालयमा सवारी साधन दर्ता हुने क्रम घट्दै गएको छ।सार्वजनिक सवारी साधनमा मात्र नभई निजी क्षेत्रको सवारी साधनसमेत घट्ने क्रममा रहेको यातायात व्यवस्था कार्यालय सवारी कास्कीले जनाएको छ।

गत आ.व २०७९/८० मा ठुला-साना गरी ११ हजार ८ सय ९७ गाडी दर्ता संख्या रहेपनि यस चालु आ.वको दुई महिना बाँकी रहँदा करिब ७ हजारको हाराहारीमा दर्ता भएका छन् भने ८ हजार भन्दा बढी सवारी साधन दर्ता नहुने अनुमान रहेको यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराम रिजालले जानकारी दिनुभयो।

सवारी साधन दर्तामा कमी आउँदा राजश्वमा समेत प्रभाव परेको छ।गण्डकी प्रदेश सरकारले ०७८/०७९ मा विभिन्न सवारी साधनमा १५ देखि ४२ प्रतिशत कर वृद्धि गरेपनि गत वर्ष उठेको १ अर्ब ३५ करोडको राजश्व यस वर्ष त्यो भन्दा बढ्ने नदेखिएको कार्यालयले जनाएको छ।तर  कार्यालयले १ अर्ब ५० करोडको राजश्व संकलन गर्ने लक्ष्य राखेको छ।हालसम्म १ अर्ब १२ करोड राजश्व संकलन भइसकेको छ।

गत वर्षको तुलनामा झण्डै २५ प्रतिशत सवारी साधनमा कमी आउने अनुमान यातायात व्यवस्था कार्यालय गण्डकीको छ।यस वर्ष तनहुँको डुम्रे र स्याङ्जाको यातायात कार्यालयमा समेत यातायात सेवा सुरु भएकाले केही राजस्व उतै उठ्ने गरेको जानकारी उहाँले दिनुभयो।पोखरामा नै आएर राजश्व तिर्नुपर्ने अवस्था नरहेकाले पनि पोखराको राजस्वमा केही कमी देखिने उहाँको भनाइ छ।तर सवारी साधन दर्तामा किन कमी आएको भन्ने बारेमा आर्थिक मन्दी एवं युवा जनशक्तिको पलायन हुनसक्ने अनुमान गरिएको छ।

व्यवसायीले भने बैँकले धितो नराखी ऋण स्वीकृत नगर्दा नयाँ गाडी लिन नसकिरहेको बताउँछन्।गाडीसमेत बिक्री गरी अरु नै व्यवसायतर्फ लाग्नेको संख्या अधिक रहेको यातायात व्यावसायी प्रकाश गौतम बताउनुहुन्छ।

पोखरा-मुग्लिङको सडक मात्र नभई मुग्लिङ-काठमाडौँ र नारायणघाट-बुटवल खण्डमा संचालन हुने सवारी साधनमा बढी क्षति पुगेको व्यवसायी बताउँछन्।

सडककै कारण करिब १५ वर्ष पुराना ५० भन्दा बढी टोयटा हायस गाडीहरु कबाडीमा फाल्नुपरेको तथ्य पृथ्वी राजमार्ग बस संचालक समितिका अध्यक्ष योगेन्द्र बहादुर केसी बताउनुहुन्छ।