• ७ जेठ २०८१, सोमबार

कर्णालीमा सित्तैँमा सेवा दिँदै पोखराको अस्पताल

blog

फडिन्द्र अधिकारी

लेखनाथ, वैशाख २८ गते । कर्णाली मुख्य गरी सुर्खेत, नेपालगन्ज जस्ता सहरमा निर्भर छ । त्यहाँका सरोकार, समस्या र समाधानसँग विरलै जोडिने गण्डकी र कर्णालीलाई आँखा उपचार सेवाले भने तीन दशकदेखि जोड्दै आएको छ । पोखरा महानगरको वडा नम्बर १७, घारीपाटनमा रहेको हिमालय आँखा अस्पताल गण्डकी प्रदेशवासीको आँखाको मुख्य उपचार केन्द्र हो । स्थापनादेखि नै यो अस्पतालले साबिक कर्णाली अञ्चलका चार जिल्ला मुगु, हुम्ला, जुम्ला र कालीकोटमा सेवा दिइरहेको छ । यही वैशाखमा अस्पतालले कालीकोटमा गरेका शिविरमा दुई हजार ८२७ जनाको आँखा जाँच भएको छ ।

यो आर्थिक वर्षमा जुम्ला र कालीकोटमा समान तीन पटक र मुगुमा एक पटक शिविर भएका छन् । ती शिविरमा चार हजार तीन सय तीन जनाको आँखा जाँच गरिएको छ । तीमध्ये ६२५ जनाको शल्यक्रिया गरिएको अस्पतालका व्यवस्थापक कुमार गर्बुजाले जानकारी दिनुभयो । अस्पतालले कर्णालीमा १० वटा आँखा उपचार केन्द्रसमेत सञ्चालन गरेको छ । डोल्पामा भने सुर्खेतमा रहेको आँखा अस्पतालले सेवा दिने गरेको छ । यातायातको सुविधा नहुँदा अस्पतालले पहिले सुर्खेतबाट आवश्यक उपकरण, औषधी, स्वास्थ्यकर्मी पैदलै लगेर कर्णालीमा शिविर गर्ने गरेको थियो । पछिल्लो समय सदरमुकामसम्म यातायात पुगेपछि शिविर गर्न सहज भएको छ । अस्पतालका बाह्य कार्यक्रम प्रमुख सुवास नेपाल दुर्गम गाउँमा पनि शिविर गर्ने गरेको र मोतीबिन्दु नै प्रमुख समस्या देखिएको उल्लेख गर्नुहुन्छ । “कर्णालीवासीको अन्धोपनको मुख्य कारण मोतीबिन्दु नै हो । हावाहुरी बढी चल्ने भएकाले मासु पलाउने समस्या भएका बिरामीहरू पनि शिविरमा भेटिन्छन्,” प्रमुख नेपाल भन्नुहुन्छ । हरेक वर्ष कर्णालीका हरेक जिल्लामा कम्तीमा एक शिविर गर्ने गरिएको छ ।

“यो वर्ष जुम्ला, मुगु र कालीकोटमा शिविर भइसकेका छन्, हुम्लामा गर्न बाँकी छ,” नेपाल भन्नुहुन्छ, “हुम्लामा शिविर चलाउन गएको टोली सुर्खेतबाट फर्कियो, लामो समय विमान उडान हुन नसकेपछि पूर्वनिर्धारित समयमा गर्न सकिएन ।” अस्पतालकी मेडिकल निर्देशक प्राडा इलिया श्रेष्ठ अस्पतालले केही जटिल र विरलै समस्याबाहेक सबैखाले आँखाका उपचार सेवा दिने गरेको बताउनुहुन्छ । “सबै जसो ९८ प्रतिशतभन्दा बढी आँखाका समस्याको उपचार यहीँ हुन्छ । आँखामा क्यान्सर भएर ब्रेनसम्म पुगेको जस्ता केही जटिल समस्यामा भने अरू रोगका विशेषज्ञ पनि चाहिने भएकाले काठमाडौँ पठाउने गरेका छौँ,” उहाँले भन्नुभयो । 

३० वर्षअघि दैनिक २५० बिरामीलाई सेवा दिने लक्ष्यका साथ बनाइएका पूर्वाधारबाट अस्पतालले सेवा दिइरहेको छ । मेडिकल निर्देशक प्राडा श्रेष्ठले अस्पतालले गुरुयोजना बनाउँदै गरेको र जनशक्ति र पूर्वाधार सँगसँगै थप्दै जाने सुनाउनुभयो । अस्पतालको आइएसओ प्रमाणीकरणको कामसमेत हुँदै छ । अस्पतालले आँखा विशेषज्ञको अभाव पूरा गर्न पोखरा विश्वविद्यालय अन्तर्गत दृष्टि विशेषज्ञको स्नातक तह र स्नातकोत्तर तह अध्यापन गराउँदै आएको छ । आई केयर फाउन्डेसन नेदरल्यान्डसहित विभिन्न निकायले अस्पताललाई सघाउँदै आएका छन् । फाउन्डेसनले सन् २०२४ मा अस्पताललाई दुई करोड ४६ लाख र कर्णालीमा आँखा शिविरका लागि थप २० लाख दिने घोषणा गरेको छ । नेत्रज्योति सङ्घ कास्कीले सञ्चालन गरेको अस्पताल करिब ६० रोपनी क्षेत्रफलमा छ । 

अस्पतालले गएको आर्थिक वर्षमा आठ हजार ८४६ जनाको आँखाको शल्यक्रिया गरेको थियो भने एक लाख ९१ हजार एक १९० जनाले ओपिडीमा सेवा लिएका थिए । ३१ वर्षमा अस्पतालको ओपिडीमा ३८ लाखले सेवा लिएका छन् भने एक लाख ४७ हजार ५२५ जनाको आँखाको शल्यक्रिया भएको छ ।