• ७ जेठ २०८१, सोमबार

घर नक्सा पास अब अनलाइनबाटै

blog

फडिन्द्र अधिकारी

लेखनाथ, वैशाख २८ गते । पोखरा महानगरपालिकामा अब घर नक्सा पासको काम अनलाइनबाटै हुने भएको छ । घर नक्सा पासका लागि महानगर पुग्नै नपर्ने र नक्सा पासका लागि किताब पनि लिनै नपर्ने गरी डिजिटल प्रविधि इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबिपिएस)बाट काम गर्ने तयारी भएको छ । 

महानगरका प्रमुख धनराज आचार्यले नक्सा बनाउने इन्जिनियरहरूमार्फत अनलाइनबाट आवेदन दिई स्वीकृत लिन सकिने बताउनुभयो । यस्तो प्रणालीका लागि आवश्यक प्राविधिक पक्षमा संयुक्त राष्ट्र सङ्घीय विकास नियोग (युएनडिपी)ले सहयोग गरेको छ । 

विद्युतीय माध्यमबाट नक्सा पास गर्ने प्रयोजनकै लागि महानगरपालिकाले इन्जिनियरहरूलाई तालिम दिएको छ । प्रमुख आचार्यले नक्सा पासभन्दा बढी घर तथा भवन बनाउन नियन्त्रण गर्ने र सडक मापदण्ड पालनामा कडाइ गरिने बताउनुभयो । युएनडिपीका सुदीप अर्यालले विद्युतीय घर नक्सा स्वीकृति प्रणाली काठमाडौँ, ललितपुर लगायत १९ नगरपालिकामा सुरु भइसकेको जानकारी दिनुभयो ।

पोखरा महानगरले फागुन दोस्रो साता भवन तथा पूर्वाधार मापदण्ड सार्वजनिक गरेको थियो । ‘पोखरा महानगरपालिका भवन तथा पूर्वाधार मापदण्ड–२०८०’ अनुसार नै राष्ट्रिय भवन संहिताका प्रावधानहरूलाई एकीकृत गर्ने यो प्रणाली लागू गर्न लागिएको हो । 

युएनडिपीको सहयोगमा लागू गर्न लागिएको इबिपिएस वेबमा आधारित प्रविधि हो । महानगरले बनाएको नयाँ मापदण्डले सामान्य आवासीय भवन थप अग्लो बनाउन अनुमति दिएको थियो । पहिले तीन तलासम्मका भवनको नक्सा पास हुने गरेकोमा अब अब पोखरामा पाँच तलासम्मका भवन निर्माण गर्दा माटो परीक्षण गर्नुपर्ने छैन । 

औद्योगिक, शैक्षिक, सिनेमा घर, पार्टी प्यालेस जस्ता भीड ठाउँमा ती क्षेत्रको लम्बाइ अनुसार त्यसको चौडाइको मापदण्ड तोकिएको छ । फेवातालको मापदण्ड ताल किनारबाट ६५ मिटर छ । बेगनास र रुपातालको एक सय मिटर र बाँकी तालमा किनारबाट ५० मिटर मापदण्ड तोकिएको छ । 

डिल, भीर, पहिरो छेउमा निर्माणका लागि त्यसको उचाइ अनुसार सेट ब्याकको व्यवस्था छ । पाँच मिटरसम्म अग्ला डिल, भीर पहिरोमा दुई मिटर सेट ब्याक राख्नुपर्ने छ भने पाँच देखि १० मिटरसम्म तीन मिटर र १० देखि १५ मिटरसम्मका लागि पाँच मिटर सेट ब्याक तोकिएको छ । १५ देखि २० मिटर अग्ला डिल, भीर, पहिरोको सेट ब्याक साढे सात मिटर र २० मिटरभन्दा आग्लामा १० मिटर सेट ब्याक तोकिएको छ । 

नयाँ मापदण्डले पोखरा महानगर हुँदै बग्ने सबै खोला र नदीको मापदण्ड बनाएको छ । सेती नदी र मर्दी, मर्दी, सुरौदी, काली, पुँडी र हर्पनखोलाको मापदण्ड ३० मिटर तोकिएको छ । याम्दी र सुइखेतखोलाको मापदण्ड १७ मिटर बनाइएको छ । फिर्के र बुलौदी खोलामा पूर्वाधार बनाउँदा छ मिटर छाड्नुपर्ने भएको छ भने बगादीखोला, बेगनास ताल खोला र ताल खोला छेउमा भवन तथा अन्य पूर्वाधार बनाउँदा सात मिटर छाड्नुपर्ने भएको छ । 

यसै गरी, भलामखोला र काहुँखोलाको १० मिटर र पार्दी खोलाको साढे १२ मिटर मापदण्ड निर्धारण भएको छ । पोखरा महानगरभित्रका अरू सबै सामान्य खोल्सानजिक छ मिटर मापदण्ड छाडेर भवन निर्माण गर्नुपर्ने भएको छ ।