• ७ जेठ २०८१, सोमबार

श्रम, रोजगारसम्बन्धी गुनासो सुन्न देशका एघार स्थानमा कार्यालय

blog

काठमाडौँ, वैशाख २८ गते । सरकारले श्रम, रोजगारसम्बन्धी गुनासो केन्द्रमा रहेको ‘श्रमाधान कल सेन्टर’ का साथै देशका विभिन्न ११ स्थानमा रहेका श्रम, रोजगार कार्यालयबाट सम्बोधन गर्न सकिने गरी व्यवस्था गरेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम र रोजगारसँग सम्बन्धित गुनासोलाई छिटोछरितो र प्रभावकारी गराउनका लागि कल सेन्टरमा आएका गुनासो ती कार्यालयबाट सम्बोधन गर्ने गरी फोकल व्यक्ति तोकिएको हो । श्रमाधान कल सेन्टर वैदेशिक रोजगार बोर्डको सचिवालयमा राखिएको छ । उक्त कल सेन्टर तीन सिफ्टमा कर्मचारी खटाएर चौबिसै घण्टा सञ्चालनमा रहने व्यवस्था गरिएको मन्त्रालयले जानकारी गराएको छ । 

मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्दप्रसाद रिजालले केन्द्रमा आउने कतिपय गुनासा श्रम मन्त्रालय अन्तर्गत विभिन्न ठाउँमा रहेका श्रम तथा रोजगार कार्यालयबाट सम्बोधन गर्न सकिने भएकाले त्यसलाई छिटोछरितो गर्ने उद्देश्यले ती कार्यालयमा गुनासो सम्बोधनका लागि फोकल व्यक्ति तोकिएको जानकारी दिनुभयो । 

श्रम तथा रोजगारसँग सम्बन्धित आधा गुनासो सम्बन्धित कार्यालयबाट गर्न सकिने भएकाले प्रभावित वा पीडितलाई सहज होस् भनेर नै यो व्यवस्था गरिएको उहाँको भनाइ छ । प्रवक्ता रिजालले भन्नुभयो, “यो व्यवस्था भएपछि प्रभावितले आफ्नो पायक पर्ने श्रम तथा रोजगार कार्यालयमा गएर मन्त्रालयले तोकेको फोकल व्यक्तिलाई भेटेर गुनासो टिपाउन सक्ने छन् । उक्त गुनासोको सक्दो समाधानका लागि पहल हुने छ ।” 

मन्त्रालयका अनुसार श्रमाधान कल सेन्टरमा आएका गुनासा कोशी प्रदेशमा मोरङको विराटनगर र झापाको भद्रपुर, मधेश प्रदेशमा पर्साको वीरगन्ज र धनुषाको जनकपुर, बागमती प्रदेशमा मकवानपुरको हेटौँडा र काठमाडौँको टेकुमा कार्यालयबाट सुनुवाइ हुने छ । 

यस्तै गण्डकी प्रदेशमा कास्कीको पोखरा, लुम्बिनी प्रदेशमा बाँकेको नेपालगन्ज र रुपन्देहीको बुटवल, कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा धनगढीमा रहेका कार्यालयबाट सुनुवाइ हुने मन्त्रालयले जनाएको छ । 

कल सेन्टरबाट असल श्रम सम्बन्ध, आन्तरिक तथा वैदेशिक रोजगार र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित सेवाग्राही एवं सरोकारवालाका समस्या, जिज्ञासा, गुनासो र सुझावलाई प्रत्यक्ष सङ्कलनसहित सम्बोधन गर्ने गरी कल सेन्टर सञ्चालनमा ल्याएको मन्त्रालयले जनाइएको छ । 

सेन्टरमार्फत वैदेशिक रोजगार, आन्तरिक रोजगारी, प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कोषका कामकारबाहीबारे जिज्ञासा तथा सरोकारवालालाई जानकारी दिइने र गुनासाको सुनुवाइ गरी तत्काल समस्या समाधानमा पहल गरिने मन्त्रालयका प्रवक्ता रिजालले जानकारी दिनुभयो । 

उहाँका अनुसार कल सेन्टरको कार्यक्षेत्रसँग सम्बन्धित आधिकारिक सूचनाको तत्काल प्रवाह भई सेवाग्राहीका समस्याको शीघ्र सम्बोधन हुने अपेक्षा गरेका छौँ । यस्तै दैनिक रूपमा प्राप्त हुने गुनासालाई सुनुवाइ गरी तत्काल सम्बोधन गर्न, जानकारी लिन वा गुनासो सेन्टरबाट सम्बद्ध निकायमा सम्पर्क एवं समन्वय गर्न र सम्बन्धित निकायले समेत तत्काल सम्बोधन गरे/नगरेको विषयमा नियमित अनुगमन एवं ताकिता गर्न सकिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । 

त्यसो त कल सेन्टरमार्फत नेपाली नागरिकको श्रम र रोजगारसम्बन्धी बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्य राखिएको मन्त्रालयले जनाएको छ । श्रमाधानको पहिलो चरणमा सात वटा क्षेत्रसँग सम्बन्धित कार्यक्रम समावेश गरिएका छन् । करिब दुई महिनाको अध्ययनपछि निजी क्षेत्र, ट्रेड युनियनलगायत सबै सरोकारवालासँगको छलफलपछि यो योजना सार्वजनिक गरिएको श्रम मन्त्रालयले जनाएको छ ।  

श्रम मन्त्रालयले गत साताबाट श्रम तथा रोजगारसँग सम्बन्धित नेपाली श्रमिकका समस्या समाधान र श्रम बजारमा सुधार ल्याउने उद्देश्यसहित ‘श्रमाधान’ अभियान अन्तर्गत ‘सेकेन्ड इनिङ्स’, रोजगार बैङ्क, समता, कनेक्ट, साथ, कल सेन्टर, पेसागत यात्राको सहयात्रीलगायत कार्यक्रम अभियानका रूपमा लैजान सुरु गरेको  छ ।