• ७ जेठ २०८१, सोमबार

खाद्य लिमिटेडको अतिक्रमित जमिन खाली गरियो

blog

बेदकोट (कञ्चनपुर), वैशाख २७ गते । कञ्चनपुरको महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डेढ बिघाभन्दा बढी जमिन अतिक्रमण गरी बनाइएका संरचना खाली गरिएको छ । 

सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियानअन्तर्गत भीमदत्त नगरपालिका –४ महेन्द्रनगर बसपार्कनजिक घर टहरा बनाएर व्यापार व्यवसाय सञ्चालन गर्दैआएका व्यापारीले जमिन खाली गरेका हुन् ।

एक बिघा सात कट्ठा १२ धुर जमिनमा बनाएका झण्डै एकसय ५० संरचना हटाएर जमिन आफूले उपयोग गर्न सक्नेगरी फिर्ता ल्याइएको महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख राजु मोक्तानले जानकारी दिनुभयो । उहाँले स्थानीय प्रशासन र कार्यालयको निर्देशनपछि व्यापारीहरुले निर्धारित समयभित्र आफैँ संरचना हटाएको बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बदलीय, सर्बपक्षीय बैठकले खाद्यको जमिनमा भएको अतिक्रमण हटाउने निर्णय गर्दै व्यवसायीलाई एक महिनाको समय दिएको थियो । अतिक्रमित जमिन खाली गराएपछि संरक्षणका लागि तत्काल तारबार लगाइने खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रधान कार्यालय मानव संशाधन विभागका विभायीय प्रबन्धक घनश्याम अर्यालले बताउनुभयो । 

“तत्काल यो जमिनलाई तारबार गरेर संरक्षक गर्छौँ । जमिन उपयोगको योजना बनाउँदैछौँ” उहाँले भन्नुभयो, “आगामी बजेट तथा कार्यक्रममा बजेट व्यवस्थापन गरेर संरचना बनाउने योजना छ । खाद्यसँग सम्बन्धित पसल सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ ।”

स्थानीय तहसँगको सहकार्यमा जिल्ला प्रशासन कार्यालयले सरकारी, सार्वजनिक जग्गा र सम्पत्तिमा भएको अतिक्रमण हटाउने अभियान थालेको छ । सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियानअन्तर्गत पहिलो चरणमा नापी, यातायात तथा मालपोत कार्यालय अगाडि अतिक्रमण गरी बनाइएका संरचना हटाइएका छन् । महेन्द्रनगर बजार क्षेत्रमै रहेको बाल सङ्गठनको एक बिघाभन्दा बढी जमिनमा निर्माण गरिएका संरचना हटाउन सूचना जारी गरिएको छ । रासस