• ७ जेठ २०८१, सोमबार

रेसुङ्गा पोषणमैत्री स्वास्थ्य संस्थायुक्त नगरपालिका घोषणा

blog

रमेश विश्वकर्मा

गुल्मी, वैशाख २७ गते । गुल्मीको रेसुङ्गा नगरपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त नगरपालिका घोषणा गरिएको छ । रेसुङ्गा नगरपालिका स्थापना दिवसको अवसरमा पोषणमैत्री स्वास्थ्य संस्थायुक्तसँगै पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको हो ।

यस नगरपालिकाले स्वास्थ्य क्षेत्रका सबै सूचकहरु पूरा गरेसँगै पोषणमैत्री स्वास्थ्य संस्थायुक्तसँगै पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको बताइएको छ । जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले नगरप्रमुख खिलध्वज पन्थीलाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका र पूर्ण खोप सुनिश्चितता र दिगोपना नगरपालिका घोषणा भएको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका बनाउन नगरपालिकाभित्रका १४ वटै वडामा रहेका १६ वटा स्वास्थ्य संस्थालाई घोषणा गर्दै सिङ्गो नगरपालिकालाई पनि घोषणा गरिएको हो । स्थानीय पोषणयुक्त खाद्यपदार्थ प्रदर्शनसँगै सन्देश मूलक नृत्य गीत प्रस्तुत गरिएको थियो ।

त्यस अवसरमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका र पूर्ण खोप सुनिश्चितता र दिगोपना नगरपालिका घोषणाले नगरपालिकाले स्वास्थ्यक्षेत्रमा एउटा फड्को मारेको अपेक्षा लिएको नगरप्रमुख पन्थीले बताउनुभयो ।

यस जिल्लाका स्थानीय तहले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणा गर्ने कार्यलाई निकै तीव्र रुपमा अगाडि बढाएका छन् । यसअघि गुल्मीदरबार गाउँपालिका, छत्रकोट गाउँपालिका र धुर्कोट गाउँपालिकाले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणा गरिसकेका छन् ।