• ७ जेठ २०८१, सोमबार

नार्कमा जनशक्ति अभाव

blog

काठमाडौँ, वैशाख २७ गते । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा जनशक्तिको अभावले अनुसन्धान प्रभावित भएको छ । कृषि तथा पशुपन्छी क्षेत्रमा अध्ययन र अनुसन्धान गर्ने क्षेत्र हो नार्क तर यहाँ प्रर्याप्त जनशक्ति नभएका कारण लक्ष्य अनुसार काम नभएको वैज्ञानिकहरू बताउँछन् । 

नार्कले कृषिसम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्ने गराउने, त्यसको क्षेत्रका समस्याहरूको निराकरणका उपायहरू पत्ता लगाउने र कृषिसम्बन्धी नीति तर्जुमाका लागि सरकारलाई आवश्यक सहयोग गर्ने काम गर्दै आइरहेको नार्कका कार्यकारी निर्देशक सुरेन्द्रलाल श्रेष्ठले बताउनुभयो । 

नार्कले विभिन्न आफ्नो ६३ कार्यालयमार्फत जातीय तथा नश्ल विकास, कृषि प्रविधि विकास, स्रोत सामग्री उत्पादन, जैविक विविधता संरक्षण, नीतिगत अनुसन्धान तथा परामर्शको काम गर्दै आएको बताउँदै उहाँले नार्कमा हाल ४६ प्रतिशत दरबन्दी रिक्तको रहेको बताउनुभयो ।

नार्कमा एक हजार ८२३ दरबन्दी रहेका छन् । त्यसमध्ये करिब ४६ प्रतिशत पदहरू रिक्त छन् । जसमा ४१३ जना वैज्ञानिकको नै दरबन्दी रहेका छन् तर त्यहाँ आधाभन्दा कम अर्थात् ५४ प्रतिशत पद खाली रहेको नार्कको स्थापना दिवसको अवसरमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

कार्यकारी निर्देशक श्रेष्ठले हाल भइरहेको पदपूर्ति कार्यबाट वैज्ञानिक पदमा १० प्रतिशत र प्राविधिक अधिकृत पदमा १९ प्रतिशत गरी जम्मा १५ प्रतिशत कर्मचारी थप हुने बताउनुभयो ।