• ७ जेठ २०८१, सोमबार

बङ्गलादेशी कलाकार नेपालमा साट्दै अनुभव

blog

काठमाडौँ, वैशाख २७ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा बुधबार बङ्गलादेशी कलाकारसँग अन्तर्क्रिया गरिएको छ । ‘फ्रम माउन्टेन टु दी डेल्टा’ कला प्रदर्शनीका सिलसिलामा नेपाल आएका बङ्गलादेशी कलाकारसँग कलासम्बन्धी अन्तर्क्रिया गरिएको हो ।

नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले नेपाल र बङ्गलादेशको सम्बन्ध कला, संस्कृति र जनस्तरमा नै उच्चस्तरको रहेको बताउनुभयो । 

उहाँले दुई देशको दौत्य सम्बन्धको चर्चा गर्दै दुई देशबिच बेलाबखत भइरहने कला गतिविधिले सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने बताउनुभयो ।

बङ्गलादेशका प्रा. इमिरेट्स राफिनक्युन नाबी, मोनिरुल इस्लाम, प्रा. मोहोमद्ध युनुस, मोहोमद्ध मुनिरुजमान मुनिर, कनक चनपा चक्मा, प्राडा महोमद्ध इक्बाललगायत कलाकारले कला र यसका आयामबारे चर्चा गर्नुभएको थियो । उहाँहरूले नेपाल भ्रमणको अनुभव, बङ्गलादेशको कला, नेपालसँगको सम्बन्धसँगै कलाका अन्य विविध आयामबारे चर्चा गर्नुभयो । कलाकार शशिविक्रम शाहले नेपाल र बङ्गलादेशका कलाकारको प्रदर्शनीले दुई देशको कलालाई नजिकबाट नियाल्न मद्दत मिलेको विचार व्यक्त गर्नुभयो । 

उहाँले बङ्गलादेशका कलाकार र कलाकारसँगको आफ्नो सम्बन्ध/सम्झनाको चर्चा गर्नुभयो । सिद्धार्थ आर्ट फाउन्डेसनका अध्यक्ष सङ्गीता थापाले दक्षिण एसियाको कलाको चर्चा गर्दै बङ्गलादेश र नेपालको कला विशिष्ट रहेको बताउनुभयो ।