• ७ जेठ २०८१, सोमबार

घर पुनर्निर्माणका लागि अनुदान

blog

काठमाडौँ, वैशाख २७ गते । सरकारले अब सबैखाले विपत्बाट क्षति भएका घरको पुनर्निर्माणका लागि अनुदान दिने भएको छ । यसअघि भूकम्प, आगलागी र मनसुनजन्य विपत्बाट क्षति भएकाको हकमा मात्रै अनुदान दिने व्यवस्था थियो ।

नेपाल सेल्टर फोरमको दुईदिने छलफलको बुधबार ललितपुरमा समापन गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सबै प्रकारका विपत्बाट हुने आवासको क्षतिमा सरकारले पुनर्निर्माणका लागि अनुदान दिने कार्यविधि पारित गरेको जानकारी दिनुभएको हो । 

“अबदेखि सबैखाले विपत्का घटनाबाट घरबास गुमाएका नागरिकले आवास पुनर्निर्माणका लागि अनुदान पाउनुहुने छ । जिल्लाको वर्गीकरण अनुसार अनुदान दिने रकम तोकिएको छ,” मन्त्री लामिछानेले भन्नुभयो ।

 विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको वैशाख ३ को बैठकले पारित गरेको कार्यविधि अनुसार जिल्लाको वर्गीकरणबमोजिम लाभग्राहीले ४, ५ र ६ लाख रुपियाँ तीन किस्तामा अनुदान पाउने छन् । कार्यविधिमा काठ खरिदमा सरकारी मूल्यको ९० प्रतिशत छुट र आवास निर्माण गर्न नसक्ने (विपन्न, सङ्कटापन्न र अपाङ्गता भएका) परिवारलाई अनुदान रकममा ५० हजार थप हुने व्यवस्था पनि छ ।

कार्यक्रममा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विस्तृत क्षति आकलन भएसँगै डोटी, बझाङ र जाजरकोट केन्द्रबिन्दु भएका भूकम्पबाट आवास गुमाउनेका लागि पुनर्निर्माण र पुनस्र्थापनाको काम सुरु गरिने जानकारी दिएको थियो । पुनर्निर्माणमा किरब ७३ अर्ब रुपियाँ लाग्ने प्राधिकरणको अनुमान छ ।