• ७ जेठ २०८१, सोमबार

आगामी बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री प्रचण्ड

blog

सिन्धुली, वैशाख २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताउनुभएको छ । 

नेकपा (माओवादी केन्द्र) सुनकोसी गाउँ समितिद्वारा आज मुलकोटमा आयोजित कार्यकर्ता भेटमा पार्टी अध्यक्ष समेत रहनुभएका प्रचण्डले आफूले सरकारको नेतृत्व लिएपछि अर्थतन्त्रमा निकै सुधार भएको बताउनुभयो । “म प्रधानमन्त्री भएपछि ठुलो मेहनतले अर्थतन्त्रमा सुधार भएको छ” उहाँले भन्नुभयो । 

राष्ट्रिय आर्थिक सूचकाङ्कमा पछि परेका क्षेत्र र वर्गलाई लक्षित गरेर नीति कार्यक्रम र बजेट निर्माण गरिने जानकारी गराउँदै उहाँले समाजवादको आधार तयार गर्ने नीति लिइने बताउनुभयो । नीति कार्यक्रमलाई जनपक्षीय बनाउन विभिन्न पक्षसँग सुझाव लिने तयारी गरिएको जानकारी दिँदै उहाँले नीति कार्यक्रम र बजेटले समाजवादको आधार तयार गर्ने विश्वास दिलाउनुभयो । 

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै अध्यक्ष  प्रचण्डले सुशासनको अभियानमा सरकारले नयाँ कीर्तिमान कायम गरेको बताउनुभयो । वर्तमान सरकारले ललिता निवास जग्गा प्रकरण, अवैध सुन तस्करी नियन्त्रण, मिटर ब्याज पीडितलाई न्याय दिने प्रक्रियामा ठुलो मेहनत गरेको उहाँको भनाइ छ ।



माओवादी नेतृत्वको सरकारले थालेका सुधारका काम एकथरी व्यक्तिलाई मन नपरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले जनपक्षीय कामलाई सरकारले निरन्तर अघि बढाउने स्पष्ट पार्नुभयो । वर्तमान सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गबाट अघि बढाएको उल्लेख गर्दै उहाँले पछिल्ला समयमा  भएका उच्चस्तरीय भ्रमणको आदान प्रदानबाट कूटनीतिक सम्बन्ध प्रगाढ बन्दैगएको बताउनुभयो ।