• ६ जेठ २०८१, आइतबार

बसको ठक्करबाट पूर्व वडाध्यक्षको मृत्यु भएपछि भीमदत्त राजमार्ग अवरुद्ध

blog

स्थानीयले अवरुद्ध गरेको भीमदत्त पन्त राजमार्ग । तस्बिर सौजन्य : सामाजिक सञ्जाल

केशबचन्द्र महरा
दिपायल, वैशाख २५ गते ।
 भीमदत्त पन्त राजमार्गअन्तर्गत गैरा सडकखण्ड अवरुद्ध गरिएको छ । बसको ठक्करबाट पूर्व वडाध्यक्षको मृत्यु भएपछि जोरायल गाउँपालिका–१ गैरा बजारमा चक्काजाम गरिएको हो ।

स्थानीयको चक्काजामपछि तराईका कैलाली, कञ्चनपुर जिल्लासँग जोड्ने सात पहाडी जिल्लाको यातायात सेवा प्रभावित भएको छ । तराईबाट पहाड आवतजावत गर्ने डडेलधुरा, डोटी, अछाम, बझाङ, बाजुरा, दार्चुला र बैतडी गरी सात पहाडी जिल्लाका यात्रुहरू जाममा पर्नुभएको छ ।

सोमबार कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा बसको ठक्करबाट आलिताल गाउँपालिका–१ थक्लाडीका पूर्णबहादुर ऐरको मृत्यु भएको थियो । उहाँ सवार सुदूरपश्चिम प्रदेश ०१–०११ प ९४६७ नम्बरको मोटरसाइकललाई सुदूरपश्चिम प्रदेश ०२–००१ ख १२८७ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका ऐरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको थियो । उहाँ आलिताल गाउँपालिकाका – १ का पूर्व वडाध्यक्ष हुनुहुन्छ ।

बसले ठक्कर दिएर फरार रहेकाले आफूहरूले बाध्यतावश चक्काजाम गर्नु परेको मृतकका आफन्तले बताउनु भएको छ । घटनाको कानुनी समाधान खोज्नुको सट्टा चालक फरार भएपछि चक्काजाम गर्नु परेको स्थानीय सोपानसिंह खड्काले बताउनुभयो ।

सोमबार साँझ २ घण्टा चक्काजाम गरेका स्थानीयले चालक सम्पर्कमा नआएपछि मङ्गलबार बिहान ८ बजेदेखि अनिश्चितकालका लागि चक्काजाम गर्नुभएको हो । दोषीलाई कानुनी दायरामा नल्याएसम्म चक्काजाम जारी रहने पीडित पक्षको अडान छ । एम्बुलेन्स लगायत अत्यावश्यक सवारी बाहेकका अन्य सवारीसाधन चल्न बन्द गरिएको सङ्घर्ष समितिका संयोजक प्रकाश बोहाेराले बताउनुभयो ।