• ६ जेठ २०८१, आइतबार

रेलमार्गको काम धमाधम

blog

सर्लाही समाचारदाता

सर्लाही, वैशाख २५ गते । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणको कामले गति लिन थालेको छ ।  सर्लाही, महोत्तरी र रौतहट खण्डमा तीव्रताका साथ रेलमार्गको ट्र्याक निर्माण भइरहेको हो । रेल योजना कार्यालय लालबन्दीका अनुसार अहिले महोत्तरीको बर्दीबासदेखि रौतहटको चोँचासम्म ट्र्याक निर्माणको काम धमाधम भइरहेको छ । 

कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर भुवनेश्वर यादवले तीन वटै जिल्लामा बेस निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । इन्जिनियर यादवले भन्नुभयो, “ट्र्याक निर्माणको काम अब धेरै बाँकी छैन । ९३ प्रतिशत प्रगति भइसकेको छ । जहाँ जहाँ काम बाँकी छ, त्यहाँ अहिले धमाधम अगाडि बढेको छ ।” 

यादवका अनुसार बर्दीबासदेखि चोँचासम्म ७० किलोमिटर रेलमार्गमा १६ वटा पुल पर्छन् । त्यसमध्ये १४ वटाको निर्माण कार्य पूरा भइसकेको छ । बाँकी दुई वटा पुलको काम पनि अन्तिम चरणमा पुगेको छ । दुई वटा पुलको काम तत्कालै सम्पन्न हुने अवस्था रहेको जनाइएको छ । 

जग्गा अधिग्रहणसहितका सबै काम पूरा भएकाले अहिले रेलमार्ग निर्माणको काममा समस्या नरहेको रेल योजना कार्यालय लालबन्दीले जनाएको छ । इन्जिनियर यादवले भन्नुभयो, “महोत्तरीमा आर्थिक वर्ष २०७०÷७१ मा र सर्लाही तथा रौतहटमा अलि पछाडिबाट काम सुरु भएको हो । पहिले मुआब्जा, रुख कटानलगायतको समस्या थियो तर अहिले सबै विवाद मिलिसकेकाले कामले गति लिएको छ ।” 

निर्माण सामग्रीको समस्याले बेला बेलामा भने रेलमार्गको ट्र्याक निर्माणमा समस्या पर्ने गरेको ठेकेदारका प्रतिनिधिले बताएका छन् । पूर्वपश्चिम विद्युतीय रेलमार्गको कुल लम्बाइ ९४५ किलोमिटर छ । सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजनामा राखेर बर्सेनि बजेट विनियोजन गरी काम अगाडि बढाइरहेको छ ।