• ६ जेठ २०८१, आइतबार

‘क्वाजः दुनेया जिगु सासः’ विमोचन

blog

सुलोचना सैंजुको कविता संग्रह ‘क्वाजः दुनेया जिगु सासः’ विमोचन गर्नुहुँदै अतिथि।

भक्तपुर, वैशाख २३ गते। विराट साहित्य सम्मेलन गुठीको १७ औँ प्रकाशन सुलोचना सैंजु जोशीको कविता सङ्ग्रह ‘क्वाजः दुनेया जिगु सासः’ (न्यानोपनभित्रको मेरो श्वास) शनिबार भक्तपुरमा विमोचन भएको छ। 

महेन्द्रगोपाल कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डा. योगेन्द्र प्रधान, गुठीका अध्यक्ष कर्माचार्य, नेपाल कला मन्दिरका अध्यक्ष तिलकप्रसाद कायस्थ, वरिष्ठ कवि प्रतिसरा सायमी, रामशेखर नकःमि प्रतिष्ठानका अध्यक्ष नगेन्द्र हाडा र गुठीका सल्लाहकार त्रिरत्न शाक्यले सामूहिक रूपमा विमोचन गर्नुभयो।

कृतिकार सैंजुले जीवनमा भोगेका दुःख, पीडाकासाथै मार्मिक विषयवस्तुलाई सङ्ग्रहभित्र समेटिएको समीक्षक कवि सायमिले बताउनुभयो।

विमोचित सङ्ग्रहका ३५ कवितामध्येबाट अमिर मैया रञ्जित, रत्ना लक्ष्मी भैल र सुचिता सैंजुलगायतले कविता वाचन गर्नुभएको थियो। कार्यक्रममा प्रेमशोभा प्रजापति, कृतिकार सैंजु र सञ्जय कपालीले सीतार र तबलाद्वारा साङ्गीतिक प्रस्तुति दिनुभयो। 

त्यसै गरी नेवा: हाइकु ख्यः ले गोरखापत्रका पूर्व प्रधान सम्पादक स्व. श्याम सुन्दर सैंजुको हाइकु सङ्ग्रह ‘हाइकु किचः’ पूर्व न्यायाधिवक्ता कल्याण श्रेष्ठले महान्यायधिवक्ता कार्यालयको हलमा विमोचन गर्नुभयो।

कार्यक्रममा नेवा: हाइकु ख्यःका अध्यक्ष सुरेश प्रधानले हाइकुकार सैंजु पत्रकार, शिक्षकका साथै बहुआयामिक व्यक्ति भएकोले उहाँलाई राष्ट्रले सम्मान गर्नुपर्ने बताउनुभयो।


स्व. श्याम सुन्दर सैंजुको हाइकु संग्रह ‘हाइकु किचः’ (हाइकु छाया) विमोचन गर्नुहुँदै पूर्व न्यायाधिवक्ता कल्याण श्रेष्ठ। तस्बिर : अमिर मैया रञ्जित