• ५ जेठ २०८१, शनिबार

डायलासिस सेवाको तयारी

blog

बाबुराम शर्मा 

दोलखा, वैशाख २३ गते  । दोलखाको चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पताल डायलासिस सेवा सञ्चालन गर्ने तयारीमा जुटेको छ । अस्पतालनजिकै नयाँ भवन निर्माण कार्य सम्पन्न भएकाले छिट्टै नै डायलासिस सेवा सुरु गर्न लागिएको अस्पतालका प्रमुख ज्ञानेश्वर श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले एक वर्षअघि खरिद गरेर पठाइदिएको यो मेसिनको सेटअप गर्ने कार्य मन्त्रालयकै सहयोगमा भएको छ । मिर्गाैलापीडितको डायलासिस गर्न प्रयोग गरिने उपकरण जडानलगायतका कार्य तीव्र गतिमा भइरहेको छ । अस्पतालका तीन जना स्वास्थ्यकर्मीले प्रदेशको स्वास्थ्य मन्त्रालयमार्फत निक साइमन परियोजनाबाट डायलासिस उपकरण सञ्चालन गर्ने तालिम लिएर फर्किसकेका छन् । हाल चार वटा मेसिन जडान भइसकेको र स्वास्थ्य मन्त्रालयबाट थप एउटा आइसकेपछि पाँच वटा मेसिनको जडान र २० हजार लिटर ट्याङ्की निर्माण गरेसँगै यो कार्य पूरा हुने छ । त्यसका लागि अस्पताललाई केही बजेट अभाव भएकाले समयमै यस कार्यलाई अगाडि बढाउन नसकेको अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष प्रधानले बताउनुभयो ।

बजेट व्यवस्थाका लागि माथिल्लो निकायलाई आग्रह गरिरहेका छौंँ । उहाँले भन्नुभयो, “अब बढीमा एक महिनाभित्र यो सेवा प्रारम्भ गर्ने कोसिस भइरहेको छ । यो सेवा सुरु भएपछि दोलखालगायत छिमेकी जिल्लाका मिर्गौलापीडितले चरीकोटमै सहज रूपमा डायलासिस सेवा पाउने विश्वास अस्पतालले लिएको छ ।”