• ५ जेठ २०८१, शनिबार

नेतृत्वमा महिला उपस्थिति बढ्दै गएको छ : मुख्यमन्त्री कँडेल

blog

महिला पहुँच स्थापित गराउने विषयमा प्रदेश सभा सदस्य र संसदीय समितिका सभापतिसँगको कार्यक्रमका बोल्दै मुख्यमन्त्री यामलाल कँडेल । तस्बिर : नवीन सुवेदी

नवीन सुवेदी
सुुर्खेत, वैशाख,२२ गते । 
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विगतभन्दा महिला उपस्थितिमा सुधार हुँदै गएको बताउनुभएको छ । सुर्खेतमा शनिबार राष्ट्रिय महिला आयोगले आयोजना गरेका नीतिगत तहमा महिला पहुँच स्थापित गराउने विषयमा प्रदेशसभा सदस्य र संसदीय समितिका सभापतिसँगको कार्यक्रमका बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री कँडेलले समाजका हरेक क्षेत्रमा अवसर पाउने मात्र नभई महिलाले नेतृत्व लिने तहमा आफूलाई उभ्याउनु पर्ने बताउनुभयो । उहाँले कुरीति, अन्धविश्वास र पुरानो मूल्य र मान्यता कर्णालीबाट नहट्दा संविधानले सुनिश्चित गरेका हक अधिकारहरू कार्यान्वयनमा चुनौती रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कल्पना पराजुलीले महिलाहरूको अवस्थाका बारेमा बुझ्न कर्णालीका विभिन्न जिल्लाहरूमा पुगेको बताउँदै कर्णालीमा कानुनभन्दा देउता बलियो पाएको बताउनुभयो । यो अवस्थालाई परिवर्तन गर्न नसके महिलाहरूको नीतिगत तहमा सहभागिता नहुने भन्दै अध्यक्ष पराजुलीले महिलाहरू सधैँ विभेदमा परिरहने बताउनुभयो ।

नेपाली कांग्रेस संसदीय दलका सचेतक एवम् प्रदेशसभा सांसद हिक्मत विष्टले तीनै तहका सरकारहरूले महिला सहभागितासँगै सशक्तीकरणको पाटोलाई एक साथ लगेमात्रै महिला सवालमा रहेका समस्या हल गर्न सकिने जनाउनुभयो । नेकपा (माओवादी केन्द्र)का सांसद एवम् निर्वतमान मन्त्री उर्मिला विश्वकर्माले महिला सहभागिताको सवालमा सबै जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले देशमा लोकतन्त्र स्थायित्वपछि महिलाहरूको हरेक क्षेत्रमा सहभागिता बढेको तर, अपेक्षाकृत नभएको दृष्टान्तलाई बिर्सन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, हिजोको प्रितृसत्ताबाट महिलाहरू माथि उठेर सर्वोच्च नेतृत्वमा पुगेका उदाहरणहरू तपाई हामी माझ छन्, आफूले प्राप्त गरेका हरेक अवसरमा आफ्नो कार्यकुशलता प्रदर्शन गर्न जरुरी छ ।