• ५ जेठ २०८१, शनिबार

आर्थिक स्वतन्त्रताका लागि अफगानी महिला व्यवसायमा संलग्न

blog

काबुल, वैशाख २२ गते । अफगान महिलाहरू घरायसी भूमिकामा सीमित छन् भन्ने प्रचलित अवधारणाबिच आर्थिक स्वतन्त्रताका लागि साहसपूर्वक व्यवसाय सुरु गरी विद्यमान अवरोधहरू तोड्दैछन् ।

अफगानिस्तानको राजधानी काबुलमा आयोजित कृषि उत्पादनहरूको वार्षिक मेलामा आफ्ना व्यवसाय र बिक्री विस्तार गर्ने आशामा आफ्ना उत्पादनहरू प्रदर्शन गर्दै देखिएकी सोना मिर्जादा यस्तै एक व्यवसाय सुरु गर्नुभएकी अग्रगामी महिला हुनुहुन्छ ।

अफगान कार्यवाहक सरकारको कृषि, सिँचाइ र पशुधन मन्त्रालयले कृषि उत्पादन र व्यापारलाई बढावा दिने उद्देश्यले बुधबारदेखि चार दिने कार्यक्रमको आयोजना गरेको छ । स्थानीय व्यापारी तथा कृषकले ५६ महिलासहित दुई सय ६३ वटा स्टलमा उत्पादित र उपभोग्य वस्तु प्रदर्शनीमा राखेका छन् ।

“हामी कृषि र पशुपालनमा संलग्न छौँ र कृषि क्षेत्रमा मरीच  लगायतका बिरुवा रोप्छौँ”, मिर्जादाले भन्नुभयो । मिर्जादाले आफ्नो कम्पनीले ६० जना महिला कामदारलाई रोजगार दिएको बताउनुभयो । बाल्खको प्रान्तीय राजधानी मजार–ए–सरिफकी बासिन्दा मिर्जादाले एक वर्षअघि एक लाख अफगानीको प्रारम्भिक पुँजी लिएर आम्दानी बढाउने परियोजना सुरु गरेको बताउनुभयो । 

गत वर्ष आफ्नो पुँजी ११ लाख अफगानी भएको उल्लेख गर्दै उहाँले आफ्ना प्रत्येक कामदारले मासिक पाँच हजार अफगानी कमाउन सक्ने जानकारी दिनुभयो ।

“हामीसँग काम गर्ने कुनै पनि महिलाले मासिक तीन हजारदेखि पाँच हजार अफगानी कमाउन सक्छन्, उनीहरूले आफ्नै बगैँचामा काम गर्छन्, घरबाहिर जानुपर्दैन”, एक व्यवसायीले भन्नुभयो । उहाँका ग्राहकहरूमा घरपरिवार, रेस्टुरेन्ट र मसलायुक्त खानाका उत्साहीहरू रहेका छन् ।

अर्का व्यवसायी नाजिमा ख्वाजाजादाले हातले बुनेका गलैँचा, हस्तशिल्प र चाँदीका गहना बेच्ने गरेको बताउनुभयो । एक महिला उद्यमीको नेतृत्वमा रहेको स्थानीय उद्यम नार्सिस कम्पनीमा बिक्रेताको रूपमा कार्यरत ख्वाजाजादाले अफगान महिलालाई समर्थन र सशक्तीकरण गर्ने आफ्नो मालिकको प्रयासलाई प्रष्ट पार्नुभयो ।

मालिक महिला भएकाले महिला सशक्तीकरणमा योगदान पुर्‍याउन प्रयासरत रहेको उहाँको भनाइ छ ।  अहिले कम्पनीमा काम गरिरहेका लगभग एक सय ७० महिलामध्ये अधिकांश आफ्नो परिवारका लागि कमाउने व्यक्ति भएको ख्वाजाजादाले बताउनुभयो  ।

यद्यपि उहाँले आर्थिक कठिनाइ र घट्दो मागका बिच कम्पनीको घट्दो आम्दानीको बारेमा चिन्ता व्यक्त गर्नुभयो । कम्पनीको मासिक आम्दानी पहिले पाँचदेखि छ हजार डलरको बिचमा रहेको तर आजभोलि आर्थिक मन्दीका कारण मुस्किलले एक लाख अफगानी कमाउने गरेको उहाँले बताउनुभयो । 

युद्धग्रस्त अफगानिस्तानको करिब तीन करोड पचास लाख जनसङ्ख्याको करिब ८० प्रतिशत जीविकोपार्जन र परिवारको भरणपोषणका लागि कृषिमा निर्भर छन् । रासस/सिन्ह्वा