साओ पाउलो, वैशाख २२ गते । ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ भने करिब ७० जना अझै हराइरहेको सिभिल डिफेन्स एजेन्सीले शुक्रबार जनाएको छ ।
एजेन्सीका अनुसार सबैभन्दा खराब जलवायु त्रासदीमध्ये एक रहेको भारी वर्षाले अहिलेसम्म पोर्टो एलेग्रेको राज्यको राजधानीसहित दुई सय ३५ नगरपालिकालाई असर गरेको छ ।
राज्यमा सोमबारदेखि लगातार वर्षा भइरहेको छ । वर्षाका कारण नदीहरूको सतह बढेको छ, पुलहरू ध्वस्त भएका छन् र गर्दा १४ लाखभन्दा बढी जनसङ्ख्या भएको पोर्टो एलेग्रे सहरलाई सतर्क अवस्थामा राखिएको छ ।
भारी वर्षाले छिमेकी राज्य सान्टा क्याटरिनामा पनि फैलिएको छ । त्यहाँ बाढी र पहिरोमा परी एक व्यक्तिको मृत्यु भएको छ । विपद्लाई स्वीकार गर्दै ब्राजिल सरकारले रियो ग्रान्डे डो सुललाई उपकरण र आर्थिक सहायता पठाएको छ ।
एजेन्सीका अनुसार प्रकोपबाट २४ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । गभर्नर एडुआर्डो लेइटले भन्नुभयो, “यो कठिन दिन भएको र हामी मानिसहरूलाई आफ्नो घर छोड्न आग्रह गर्छौँ । हाम्रो लक्ष्य जीवन बचाउनु हो । हाम्रो प्राथमिकता मानिसहरूलाई उद्धार गर्नु हो ।”
उहाँले यो राज्यको सबैभन्दा ठुलो प्रकोप भएको भन्दै रियो ग्रान्डे डो सुल ‘युद्धको स्थिति’मा रहेको बताउनुभयो । रासस/सिन्ह्वा