• १४ पुस २०८१, आइतबार

एउटा तारा झर्दा पनि आकाश रित्तो !

blog

वैशाख १७ गते दिउँसो १:२५ बजे बिते चिदम्बरप्रसाद लोहनी । यो नामले जति चिनिएका छन् उनी त्योभन्दा धेरै बढी सिपी लोहनी भनेर चिनिन्छन् । अझ, घरमा ठाइँला र अन्यत्र सिपी । छमध्येको ठाइँलो छोराका रूपमा १९९५ असोज २४ गते सोमबार काठमाडौँको खिचापोखरीमा उनको जन्म भएको थियो । 

एउटै मात्र सिनेमामा खेलेर अत्यधिक चर्चामा रहन सकेका नायक केवल सिपी लोहनी मात्र हुन् । सम्भवतः उनी नै अन्तिम रहने छन् । यसको तीन कारण रह्यो । पहिलो, २०२३ साल पुस १ गते शुक्रबारबाट प्रदर्शित माइतीघर, जसमा उनी हिरो थिए, त्यो नेपालको निजी क्षेत्रले बनाएको पहिलो सिनेमा थियो । त्यसैले यो व्यावसायिक फिल्म बन्यो । न कि श्री ५ को सरकारको सूचना विभागले बनाएको पहिलो चलचित्र ‘आमा’ जस्तो । हुन त नेपाली भाषाको पहिलो चलचित्र भारतमा बनेको सत्य हरिश्चन्द्रलाई लिने गरिन्छ । दोस्रो, उनको हिरोइन थिइन् भारतीय हिन्दी सिनेमाकी ‘प्यासा गर्ल’ जो त्यति बेला शिखरमा रहेकी अभिनेत्री माला सिन्हा । तेस्रो, दुई वर्षपछि तिनै माला सिन्हासँग सिपीको विवाह ।

सिपीको पिता दुर्गानिधि लोहनी विराटनगरवासी । प्रशस्त जग्गाजमिन भएर नाम चलेको जमिनदार । विराटनगरमा उनी काठमाडौँबाटै गएका थिए विक्रम संवत् १९६५ तिर । दुर्गानिधिको पिता रुद्रनिधि बडागुरुज्यू तर्कराजको साढुदाइ । त्यतिबेला गुरुज्यू भनेको एउटा संस्था थियो, न कि २००७ सालपछिको जस्तो व्यक्ति । तर्कराजसँगको टिआर कोठी खोल्ने सिलसिलामा दुर्गानिधि आफ्नो पितासँग त्यहाँ पुगेका थिए । एक किसिमले बैङ्किङ कारोबार, अझ भनौँ ऋण दिने व्यवसाय थियो टिआर कोठीको । पछि उनले आफ्नो सम्पूर्ण जिन्दगी विराटनगरमै खेतीपाती गरेर बिताए । सिपीको पिताको घर थियो नयाँ सडकको खिचापोखरीमा । २००७ सालपछि नेपाली कांग्रेसको कार्यालय पनि रह्यो केही समय त्यसमा । जुद्धबहादुर श्रेष्ठले किनेपछि अहिले ‘मिरा होम’ को नामबाट चिनिन्छ । डिल्लीबजारको पश्चिम ओरालोको माथिको करिब १३ रोपनी कम्पाउन्ड भएको घर त विस १९९७ तिर मात्र किनिएको थियो । त्यसैले सिपीको बाल्यकाल र पछिको समय पनि डिल्लीबजार र विराटनगरमा गरेर बित्यो । विगत केही दशकदेखि उनी डिल्लीबजारमै बस्दै आएका हुन् । उनलाई अन्नपूर्ण न्यूरो अस्पतालमा यही घरबाट लगिएको थियो । पार्किन्सन र अल्जाइमरसँग विगत केही वर्षदेखि जुझ्दै आएका सिपीको निधन निमोनियाको कारणबाट भयो । 

एउटै टोल हाम्रो–डिल्लीबजार, जुन बेलामा म हुर्के त्यति बेला टोलमा एकले अर्कालाई प्रायः सबैले चिन्थे । फुच्चे मैले उनको नाम पहिलो पटक मेरो दाजुको मुखबाट सुनेको थिएँ । अवसर थियो त्रिचन्द्र कलेजको वार्षिक कार्यक्रमको । सायद त्यही कार्यक्रम थियो जहाँ नारायण गोपाल पहिलो पटक सार्वजनिक रूपमा देखा परेका थिए । गायकको रूपमा नभई तबला वादकका रूपमा । त्यो कार्यक्रममा सिपी लोहनीले मोहम्मद रफी र लता मङ्गेशकरले गएको एउटा हिन्दी युगल गीत गाएका थिए । गीतको बोल थियो : 


जरा सामने तो आओ, छलिए

छुप–छुप छलने में क्या राज है ?

मेरो दाजु पनि त्यति बेला त्रिचन्द्र कलेजमै पढ्थे । सिपी सिनियर । घरमा हामी सबैलाई दाजुले बताए अनुसार त्यो गीत बुलन्दसँग गाएका थिए सिपीले । गीतको बुलन्दी भन्दा पनि अझ महìवपूर्ण बुलन्दी अर्को थियो । सिपीले रफीको मात्र होइन लताको स्वर पनि आफैँले निकालेर त्यो युगल गीत एक्लै गाएका थिए । 

एक अन्तर्वार्तामा सिपीले बताए अनुसार बिकम सकेर हल्लिरहेका बेला दाजुहरूले एक पटक उनलाई भने– बाबुको मात्रै खाने होइन अब, आफैँले कमाएर खानु पर्छ । यो कुराले प्रभाव पारेको कारण उनले लोक सेवा दिए । यसरी उनी सरकारी सेवामा पुगेका थिए । सिपीलाई मैले २०२० सालतिर निकै पटक देखेँ एयरपोर्टमा, आफन्तलाई लिन पुर्‍याउन मिसिएर जाँदा । पुरानो सानो एयरपोर्ट भवनबाट डकोटा हवाईजहाज चढ्न जाँदा देब्रेतिर एक तले एउटा टहरा कोठा थियो । सिपी त्यहीँ देखिन्थे भित्र बाहिर गरिरहेका । उनी हाकिम थिए एयरपोर्ट भन्सारको । सायद त्यति बेला सेक्सन अफिसर नै प्रमुख हुन्थे ।

एउटा समय थियो टेबल टेनिस अत्यधिक लोकप्रिय बनेको नेपालमा । सिपी राष्ट्रिय खेलाडी थिए टेबल टेनिसको । नेपाल नम्बर वान पनि एक पटक बनेका र सेमिफाइनल सम्म त धेरै पटक पुगेका । चीनमा भएको अन्तर्राष्ट्रिय खेलमा उनले नेपालको प्रतिनिधित्व पनि गरेका थिए । त्यतिबेला लोहनी ब्रदर्सको वर्चस्व थियो टेबल टेनिसमा । उनको दाजु जिपी लोहनी नेपाल नम्बर वान थिए भने कान्छो भाइ वाईपी लोहनी पछि एक दशकसम्म नै रहे । मैले सिपीलाई फेरि देखेँ टेबल टेनिसको एउटा खेलमा, २०२२ सालतिर । त्यतिबेला म त्रिचन्द्र कलेजको विद्यार्थी थिएँ । यो प्रतियोगिता सरस्वती सदनको हलमा भएको थियो । उनी त्यहाँ खेलाडीका रूपमा थिएनन् । व्यवस्थापकीय चाँजोपाँजो मिलाइरहेका देखिन्थे । बर्खी बारेको सेतो कपडामा थिए उनी । प्रतियोगिता भइरहेको सरस्वती सदन मेरो पूज्य पिताले बनाएको र उनी नेपालमा सिमेन्ट ढलान सुरु गर्ने पहिलो नेपाली भएको कुराको ज्ञान मलाई थिएन त्यतिबेला ।

सङ्गीतप्रतिको लगाव सानैदेखि भएको कारणले गर्दा सिपी राम्रो गायक थिए । उनको झुकाव नेपाली लोक गीतमा थियो । यो नै प्रमुख कारण बन्यो उनको कलाकार बन्ने, अझ भनौँ सिनेमाको हिरो बन्ने । अन्ततः माइतीघर सिनेमा बन्ने भयो जब नरशमशेर देखा परे । अब सबैलाई विश्वास भयो रकमकलम र सिनेमा बन्ने बारे । बिएस थापाले लेखेका र उनले नै निर्देशन गर्ने । सङ्गीतकार थिए जयदेव जो महान् भारतीय म्युजिक डाइरेक्टर एसडी बर्मनका सहायक भएर उदाएका थिए । प्रदीप रिमालले सङ्कलन गरेको लोकगीत गाउनेमा सिपी पनि छानिए । हिरोमा छानिएका थिए भानुप्रताप, श्री ३ पद्मशमशेरको भारतीयसँग विवाह भएकी छोरी पट्टिको नाति । 

नियतिको खेल अपरम्पार । यसले मान्छेलाई कता डोहोर्‍याइरहेको हुन्छ कसले जान्न सक्छ र ? जब हिरो खोजियो सिनेमा अगाडि बढाउन, भानुप्रताप गायब भए । प्रमुख कारण उनी नेपाली राम्रोसँग बोल्न नसक्ने रहेछन् । समयको पावन्दीले गर्दा स्थिति अलि अप्ठ्यारो नै बन्यो । को हिरो खोज्ने अब आएर ? राम्रो चिनजान भएका र एयरपोर्टबाट आउँदा जाँदा भेटिरहेका सिपी लोहनीको नाम लिएर नर शमशेरले भने, “हाम्रो सिपी छँदै छ नि ! गर्छ उसले, राम्रो गर्छ ।” सिपी लोहनी हिरोमा पनि छानिए । राजा महेन्द्रको न्यानो माया रहेको थियो यो चलचित्रको निर्माणमा । त्यतिबेलाको अनकन्टार पोखरामा सेनाको सहयोग उनले जुटाइ दिए । गीत पनि लेखे । ‘जीवनलाई जित होइन हारले स्वागत गरी’ बोलको गीत सिनेमा करिब तयार भइसकेपछि मात्र अलग्गै पिक्चराइज गरी समावेश गरिएको थियो । हिरो छानिदादेखिको घटनाक्रम हङकङबाट आएका नेपालीले मुम्बईको बान्द्रास्थित माला सिन्हाको घरमा लिएको भिडियो अन्तर्वार्तामा सिपी लोहनीले बताएका छन् । यो युट्युबमा पनि छ ।

हिरो त बने, अब उनको कलाकारिता कस्तो हुने ? अवस्था थियो कलाकारिताबाट ओतप्रोत भएकी हिरोइनसँग खेल्नुपर्ने । यो कुरो त्यति सहज थिएन । सङ्गीतको लयसँग खेलेर हुर्केका सिपीको लागि साङ्गीतिक लयबद्धता नै कलाकारिताको अभिव्यञ्जनाहरू ग्रहण गर्न र अभिव्यक्त गर्न सहज बन्यो । यहाँनिर हिन्दी सिनेमाका सदाबहार अभिनेता स्वर्गीय देव आनन्दले भनेको कुरा झ्वाट्ट सम्झिन्छु । उनी भन्छन्,  “सङ्गीतको ज्ञानले चलचित्रमा कलाकारिता अभिव्यक्त गर्न धेरै नै मद्दत गर्छ ।” राम्रो लोकगीत गायक र हिरो दुइटै बने सिपी, माइतीघरमा ।

अरूणा लामासँग मिलेर उनले गाएको लोकगीत ‘काला कुर्तैले छ महिने जागिर खाया’ जनजिब्रोमा धेरै लामो समयसम्म रह्यो । नारी पात्रको सेरोफेरो पछ्याएर फिल्म अगाडि बढ्छ । जेल सजाय भुक्तान भएपछि पनि ती नारी जेल नछोड्ने अड्डी लिन्छिन् । उनको जीवन कथा मनोचिकित्सकसँगको वार्तालापमा पल्टाउँदै जाँदा सुरु हुन्छ । पोखराको अनुपम प्राकृतिक सम्मिलनसँग लयबद्ध भएको सिनेमामा रोमान्स, प्रेम, विवाह, पतिको मृत्यु, कुरीति, सामाजिक परिवेश, विछोड, निराशा, आत्महत्याको प्रयास, जिउने सङ्घर्ष, पुत्र प्रेम, पुत्रीको सतीत्व रक्षाका लागिको हत्या, अदालतको बहस, सजायको फैसला, जेल, जेल अवधि भुक्तान र अन्त्यमा छोराछोरीसँग आमाको मिलन गरी कथानकमा हुने करिब सबै चिज समाविष्ट छ ।

प्रेमीबाट पति र पुत्रको भूमिकामा डबल रोलमा छन् सिपी । चलचित्रमा उनले जीवन्त अभिनय गरेका छन् । पाटनको अशोक सिनेमा हलमा यो सिनेमा लागेपछि म पनि हेर्न गएको थिएँ । धेरैले धेरै पटक दोहोर्‍याएर हेरेको सिनेमा हो यो । ५७ वर्षभन्दा अगाडि बनेको यो नेपालको अहिलेसम्मकै एक उत्कृष्ट चलचित्र मानिन्छ । कथा, कलाकारिता, लोकेसन, फोटोग्राफी, सङ्गीत, गायन सबै राम्रोसित संयोजित भएको चलचित्र हो यो । 

चलचित्रको निर्माणको क्रममा यसका हिरो सिपी लोहनी र हिरोइन माला सिन्हा एक अर्काप्रति आकृष्ट भए । मायाप्रीति बस्यो । दुई वर्षपछि विवाह गरे । विवाहपछि यो दम्पतीलाई भेट्ने अनौठो संयोग पर्‍यो मेरो, त्यो पनि दिल्लीमा । दिल्ली विश्वविद्यालयमा पढ्थेँ म । त्यतिबेला शाही नेपाली राजदूतावासका काउन्सेलर नारायणप्रसाद अर्जेलले यो दम्पतीलाई आफ्नो डिफेन्स कोलोनीको घरमा लन्चमा आमन्त्रण गरेका थिए । त्यसमा म पनि थिएँ । 

मेरो अन्तिम भेट भने सात वर्षअघि उनकै डिल्लीबजारस्थित घरमा भएको थियो । हामीले भेट्न चाह्यौँ यो दम्पतीसँग । भेट्ने समय जुराइदिएका थिए उनका भतिजा दीपक लोहनीले । एउटा सशक्त कलाकारको रूपमा सिपी लोहनी सधैँ बाँचिरहने छन् यो मुलुकमा । उनले गाएका गीतहरू गुन्जिरहने छन् । यो दुःखद निधनमा श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माले चिर शान्ति प्राप्त गरोस् भनी भगवानसँग प्रार्थना गर्दछु । उनले गाएको गीत सम्झिरहेको छु यतिखेर । बोल छ – एउटा तारा झर्दा पनि आकाश सिङ्गो रित्तो लाग्छ । सिपी दाइ, हामी सधैँ सम्झिरहने छौँ !

Author

वसन्त लोहनी