• २५ असार २०८२, बुधबार

रैथाने बालीको पहिचान

blog

रैथाने बाली भनेका त्यस्ता बाली हुन्, जुन कुनै कालखण्डमा सम्बन्धित देश वा भूगोलमा उत्पत्ति भई परापूर्वकालदेखि खेती हुँदै आएका छन् । त्यस्ता रैथाने बालीमा धेरैभन्दा धेरै जातीय तथा आनुवांशिक विविधता पाइन्छ । रैथाने बाली र तिनका जातमा स्थान विशेष गुण पनि विकास भएका हुन्छन् । रैथाने बालीले त्यस क्षेत्रको धर्म–संस्कृति, सामाजिक रहन–सहन तथा खाद्य प्रणालीमा विशेष महत्व राख्छन् । जस्तै : कोदोजन्य बाली (चिनो, कागुनो, कोदो, सामा, जुनेलो, आदि), फापर, जौ, उवा, लट्टे, धान, सिमी, इत्यादि नेपालका रैथाने बालीभित्र पर्छन् ।

अहिलेका पुस्ताका लागि ‘कोदोको ढिँडो,’ ‘फापरको रोटी,’ ‘उवाको खाजा’ केवल पुराना पुस्ताले सुनाउने कथा जस्तै लाग्न सक्छ । यही परम्परागत बालीका स्वादले ग्रामीण नेपालको भोक मेटाउने मात्र होइन, आजको पोषण सङ्कट, कुपोषण, गैरसञ्चारी रोग र खाद्य परनिर्भरताको जटिल समस्याबाट मुक्त गर्ने मूल आधार बन्न सक्छ । दुर्भाग्य, आधुनिकता र बजारमुखी सोचको नाममा यी बाली क्रमशः लोप हुँदै गएका छन् । आधुनिकताका नाममा रोग निम्त्याउने काम भइरहेको छ । नसर्ने रोगले फैलावट भइरहेको पनि यस्तै कारणले हो । 

नेपालको कृषि प्रणाली विविध जैविक सम्पदाले भरिएको छ । कोदो, फापर, चिनु, मडुवा, कागुनो, नपल, तरुल, सखरखण्ड, भट्ट, पिडालुलगायतका बाली न केवल पोषण र औषधीय गुणमा भरिपूर्ण छन्, बरु तिनले जलवायु अनुकूलता, माटो संरक्षण, स्थानीय रोजगार र संस्कृतिकै संरक्षणमा पनि महत्वपूर्ण योगदान गरेका छन् । यस्ता बहुआयामिक महìव बोकेका बाली लोप हुनु राष्ट्रकै लागि खतराको सङ्केत हो । लामो समयदेखि व्यावसायिक कृषिमा संलग्न अग्रज पत्रकारसमेत रहेका देवदहका किसान तिलोचन दाहालका अनुसार धेरै फलाउने नाममा मौलिक बिउबिजन मासेर हाइब्रिड बिउको प्रयोग गर्न थालेदेखि माटोको उर्वरा शक्तिसमेत कमजोर भइरहेको छ । औषधीय गुण भएका कैयौँ बालीबारे विदेशीले बरु सोधीखोजी गरेर उतै लैजालान् तर हामीमा चेत पलाएको छैन । 

आज हामी जुनसुकै पहाड चढेर पुग्दा पनि फापरको फूल फुलेको देख्न मुस्किल भएको छ । कोदोका बाला झुलेका बारी हराउँदै छन् । कोदो र फापर जस्ता बाली उत्पादनमा आएको गिरावट मात्र नभई, बिउबिजनको संरक्षण र विस्तारको अभावले यसको भविष्य अन्योलमा परेको छ । राज्यका तीन वटै तहका सरकार र सम्बद्ध निकाय अहिले पनि मौन छन् । 

कृषिलाई समृद्धिको आधार तय गर्दै राष्ट्रिय उत्पादन बढाउने र युवालाई कृषिमा आकर्षण गर्ने गरी लुम्बिनी प्रदेशको पहिलो सरकार (एमाले नेता शङ्कर पोखरेल नेतृत्व) ले केही कार्यक्रम ल्याएको थियो । त्यसयता कैयौँ सरकार फेरिए, योजना र कार्यक्रम कागजमा होला फिल्डमा जहीँको तहीँ छ । 

औषधीय गुणका रैथाने बालीको वैज्ञानिक रूपमा पुष्टि भएका औषधीय गुणले तिनको संरक्षण अनिवार्य बनाउँछ । उदाहरणका लागि कोदोमा पाइने फलामले रक्तअल्पता घटाउँछ, क्याल्सियमले हाड बलियो बनाउँछ र फाइबरले पाचन प्रणाली स्वस्थ राख्छ । नेपालीले आफ्नैमा रहेका सुपर फुडलाई चिन्नै सकेनन् । फापरमा सजिलै पच्ने प्रोटिन, भिटामिन ‘बी,’ एन्टिअक्सिडेन्ट र फलाम भरपूर पाइन्छ, जसले उच्च रक्तचाप, मधुमेह, मुटु र आन्द्रासम्बन्धी रोग नियन्त्रणमा उल्लेखनीय भूमिका खेल्ने विज्ञको भनाइ छ । यी गुणलाई विश्वले चिन्न थालिसकेको छ । तर हामी भने गरिबका परिकार भनेर टारेका छौँ । 

आजको सन्दर्भमा यी बाली केवल खेतमै फुल्नुपर्ने होइनन्, हाम्रो भान्सा, रेस्टुरेन्ट, बजारमा आधुनिक, आकर्षक र पोषणयुक्त परिकारको रूपमा स्थापित हुनु आवश्यक छ । 

सहरी क्षेत्रमा पनि कोदो, फापरलगायतका अग्र्यानिक रैथाने बालीप्रति आकर्षण बढ्दै गएको पाइन्छ । यो प्रवृत्तिलाई अवसरमा रूपान्तरण गर्न, बजार व्यवस्थापनदेखि परिकार विविधीकरण र व्यावसायीकरणसम्म राज्य र निजी क्षेत्रको सहकार्य अनिवार्य छ । घरेलु उद्योग, महिला समूह, कृषि सहकारी, युवा उद्यमीलाई लक्षित तालिम, उपकरण र बजार प्रोत्साहन दिइनु आवश्यक छ । तालिम पाएका युवाले यस्ता बालीको खेती गर्नेदेखि कच्चा पदार्थबाट कोदोबाट मोमो, पिठो, बिस्कुट, हलुवा, लड्डु उत्पादन गर्न सकिन्छ । फापरबाट केक, रोटी, सुप, दलिया र एनर्जी बार बनाउन सक्छन् । यी परिकार स्वदेशी र शुद्ध मात्र होइनन्, ‘ग्लुटेन फ्रि, डाइट फुड’ का रूपमा अन्तर्राष्ट्रिय बजारमा समेत लोकप्रिय बन्न सक्छन् ।

यससँगै, बेरोजगार युवालाई ‘खेतीपाती फाइँदाको छैन’ भन्ने सन्देश दिइरहनु व्यर्थ हुने छ । बरु कृषि जनशक्तिका रूपमा युवालाई आबद्ध गराउने हो भने तिनलाई सेना/प्रहरी जस्तै सेवा र सुरक्षाको प्रत्याभूति दिँदै गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ । गाउँ गाउँमा होमस्टे चलिरहेका छन् । त्यहाँ स्थानीय बालीका परिकारलाई विशेषता बनाइयो भने आन्तरिक पर्यटनको बजारलाई समेत मजबुत बनाउन सकिन्छ । त्यति मात्र होइन, आज नेपालमा चामलको आयात, विदेशी खाद्य र मांसजन्य परिकारको बढी प्रयोगले परनिर्भरता बढ्दो छ । तारे होटल, क्याफे र रेस्टुरेन्टहरूले बाहिरबाट आयात गरी स्वास्थ्यहीन, रसायन मिसिएका परिकार पस्किरहेका छन् । के हामी आफ्नै मौलिक र पोषणयुक्त परिकार पेस गर्न सक्दैनौँ ? कोदो, फापर, सखरखण्ड जस्ता बालीको उत्पादन बढाएर देशको स्वाभिमान बनाउने योजना किन बनाइँदैन ?

उच्च हिमाली र दुर्गम क्षेत्रमा खाद्यान्न आपूर्तिका लागि वार्षिक अर्बौंको चामल ढुवानी गरिन्छ । सस्तो चाउचाउ, बिस्कुट, बोतलको फुड भन्दा पौष्टिक र स्थानीय स्वाद भएको कोदो–फापरको रोटी, पिडालु, सखरखण्ड स्वास्थ्यका र पर्यावरणका दृष्टिले मात्रै होइन आर्थिक दृष्टिले समेत उपयुक्त छन् । यी बालीलाई पुनस्र्थापित गर्न कृषि मजदुर परिचालन, बिउ संरक्षण, भू उपयोग नीति संशोधन र मूल्य प्रोत्साहन जस्ता ठोस कदम चालिनु आवश्यक छ ।

त्यसैले ‘भात नै खाना हो’ भन्ने सामाजिक सोचको अन्त्य गदै, स्वदेशी बाली नै आत्मनिर्भरता र समृद्धिको जरो हो भन्ने राष्ट्रिय अभियान चलाउनु आजको आवश्यकता हो । सरकारी योजनाले लोपोन्मुख परम्परागत बालीलाई संरक्षणको नाममा सङ्ग्रहालयमा सीमित नराखी, उत्पादन, प्रविधि, परिकार र बजारसम्मको सम्पूर्ण मूल्य शृङ्खला विकास गर्नु पर्छ । 

कर्णालीका स्याउ, सिमी, उवा, चिनो, आलु, ओखर जस्ता उत्पादनको भने पछिल्लो समयमा ब्रान्डिङ भइरहेको छ । सरकारको गुणस्तर मापदण्ड अनुसार खाद्यान्न सङ्कलन गरी सोको प्याकेजिङ, लेबलिङ तथा कर्णाली प्रदेशको मूल्यवान् लोगोसमेत उल्लेख गरी ब्रान्डिङ गर्ने काम सुरु भएको छ । ती सामानहरू अहिले सहरका बजारमा पठाउन थालिएको छ । त्यस्ता सामग्री सङ्कलन गरेर बिक्री वितरण गर्न कम्पनी नै बनेको रहेछ । त्यस कम्पनीले गत आवमा प्रदेश सरकारसँग सहमति गरेर कोदो आठ हजार ६६०, कागुनो ३३८, चिनो ६८७, जुनेलो दुई, फापर ७६२, उवा ६१९, सिमी चार हजार ४७० र मार्सी धान तीन हजार ८८६ गरी कुल जम्मा १९ हजार ४६४ मेट्रिक टन रैथाने बाली खरिद गरेको थियो । कम्पनीले दुर्गम तथा सुगम जिल्लामा सुपथ मूल्यमा खाद्यान्न वितरणसमेत गरेको थियो । 

नेपालमा बढ्दो खाद्यसङ्कट, जलवायु परिवर्तन र विदेशी खाद्यान्नमा निर्भरता बढेसँगै करिब पाँच वर्षअघि खाद्यान्न सङ्कट कम गर्ने र लोपोन्मुख बालीको संरक्षण गर्ने भन्दै राष्ट्रिय खाद्य बैङ्कको अवधारणा ल्याइएको थियो । यो बैङ्कले परम्परागत रैथाने बालीको बिउ सङ्कलन, संरक्षण, पुनर्उत्पादन, ब्रान्डिङ, बजारीकरण र भण्डारणसम्मको काम गर्ने हो । लोपोन्मुख रैथाने बालीको संरक्षण र पुनर्जागरण, कृषकद्वारा उत्पादन गरिएका वस्तुको न्यूनतम मूल्य सुनिश्चित गर्दै खरिद र बजारीकरण, स्वदेशी खाद्यान्नको प्रवर्धन गरी आयात प्रतिस्थापन, पोषणयुक्त अन्न उत्पादन र वितरण, फाइबरयुक्त र औषधीय गुण भएका बाली दैनिक आहारमा पुनस्र्थापना गर्ने उद्देश्यसहित बैङ्क स्थापना भएको थियो । कोदो र फापर जस्ता बाली केवल अन्न होइनन्–यी हाम्रा पहिचान, स्वास्थ्य, रोजगारी, संस्कृति र स्वाभिमानका स्रोत पनि हुन् । यिनको संरक्षण आजको आवश्यकता मात्र होइन, समृद्ध र निरोगी नेपालको बलियो पूर्वसर्त पनि हो । यो चेतना आजै नजागे, भोलि हामीसँग न बिउ बाँकी रहने छ, न परिकार । त्यसैले अहिले नै यहाँबाटै–रैथाने बालीको पुनर्जागरण सुरु हुनु पर्छ ।