धनुषाको हंसपुर नगरपालिका नौ वटा वडा मिलेर बनेको नगरपालिका हो । यो पालिका जनकपुरधाम उपमहानगरपालिका, सहिदनगर नगरपालिका, मिथिला बिहारी नगरपालिका, औरही गाउँपालिका, सबैला नगरपालिका र धनुषाधाम नगरपालिकासँग जोडिएको छ । पालिकाको कुल क्षेत्रफल ४८.७१ वर्ग किलोमिटर छ भने यहाँको कुल जनसङ्ख्या ३९ हजार १४५ रहेको छ । यहाँका अधिकांश जनता कृषिमा आश्रित छन् । नगरपालिकाको प्रमुखमा प्रदीपकुमार यादव विजयी भएर आउनुभएको छ । उहाँसँग गोरखापत्रका जनकपुरधाम समाचारदाता लक्ष्मी चौधरीले गर्नुभएको कुराकानी ः
हंसपुर नगरपालिकामा तपाईँ निर्वाचित भएर आउनुभएको दुई वर्ष हुन लाग्यो ? यो अवधिलाई तपाईं कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
मेरो कार्यकालमा काम गर्न नसकिने खालका कुनै समस्या आएको छैन । दुई आर्थिक वर्षमा त्यस्तो विवादित हुने अवस्था आएको छैन । यहाँ कुनै एक पार्टीको बहुमत छैन तर पनि सबै मिलेर काम गरेका छौँ । पालिकाका नौ वटा वडामा फरक दलका जनप्रतिनिधि भए पनि हामी सबै मिलेर काम गर्दै पालिकाको कामकाजलाई तीव्रता दिएका छौँ ।
निर्वाचित भएको दुई आवमा नगरपालिकामा उल्लेख्य काम के के भए त ?
पालिका प्रमुखका रूपमा निर्वाचित भएर आउनासाथ स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउँदै स्वास्थ्य क्षेत्रमा सबैको पहुँच बढाउनतर्फ लाग्यौँ । यस अन्तर्गत स्वास्थ्य सेवा लिने सेवाग्राहीका लागि सबै स्वास्थ्य संस्थामा शौचालय निर्माण गरेका छौँ । त्यसका साथै स्वास्थ्य चौकी भवन निर्माण, फोहोरको प्रकृति छुट्याई फोहोर व्यवस्थापन र खानेपानीको व्यवस्था गरेका छौँ ।
शिक्षा क्षेत्रको विकासका लागि कस्ता काम गर्नुभएको छ ?
नगरपालिकाभित्र रहेका ३० वटा सामुदायिक विद्यालयमध्ये २७ वटा विद्यालयमा व्यवस्थापन समिति गठन भइसकेको छ । तीन वटा विद्यालयमा केही विवादका कारण समिति गठन हुन सकेको छैन । यहाँका विद्यालयमा शौचालय, खानेपानी, कक्षा कोठा, भवन, डेस्कबेन्च अभाव थियो । निर्वाचित भएर आउनासाथ विद्यालय व्यवस्थित बनाउन विद्यालयको आधाभूत आवश्यकता पूरा
गरेका छौँ । भौतिक संरचना अन्तर्गत कक्षा कोठा, शौचालय निर्माण भएका छन् भने खानेपानी नभएका विद्यालयमा खानेपानीको व्यवस्थापन गरेका छौँ । गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रयासमा निरन्तर
लागिरहने छौँ ।
तपाईंको पालिकाका अधिकांश जनता कृषिमा आधारित छन् । यहाँका किसानका लागि के कस्ता योजना बनाउनुभएको छ ?
किसानको प्रमुख समस्या भनेको सिँचाइ हो । सिँचाइका लागि समयमा पानी उपलब्ध नहुँदा किसान सफल हुन सक्दैनन् । त्यसकारण किसानलाई सामूहिक रूपमा ४० वटा स्यालो ट्युबेल वितरण गरेका छौँ । पालिका क्षेत्रभित्र रहेका ११ वटा डिप बोरिङमध्ये नौ वटा सञ्चालन गर्ने अवस्थमा छन् । तीमध्ये पनि सात वटा सञ्चालन गर्ने तयारीमा लागेका छौँ । हाल एउटा बोरिङ मात्र सञ्चालनमा छ । साथै चार बिघा क्षेत्रफलमा फैलिएको ड्याम सञ्चालनमा ल्याउने तयारीसमेत भइरहेको छ । सेक्टर कार्यव्रmम अन्तर्गत दुई वटा फाटक निर्माण गरी दुईतिर नाला निर्माण गरिएको छ । त्यसकारण यहाँका किसानले चाँडै सिँचाइ सुविधा पाउने विश्वास छ । पानी नपर्नु र बाह्रै महिना सञ्चालन हुने नदीनाला नभएका कारण सेक्टर कार्यव्रmमको पनि प्रगति हुने देखिएको छैन ।
पालिकाको चालु आवको बजेट कति छ ? कति प्रतिशत बस्तीमा सडक विस्तार भएका छन् ?
चालु आवमा यहाँ ५३ करोड रुपियाँ विनियोजन भएको थियो । त्यसमध्ये प्रत्येक वडालाई ६० लाख रुपियाँ बजेट उपलब्ध गराएका छौँ । पालिकाका नौ वटा वडामा २५ किलोटिर सडकमा पिसिसी ढलान गरेका छौँ । तीन किलोमिटर जति सडकमा कालोपत्रे गरेका छौँ । पालिकाको करिब ७५ प्रतिशत बस्तीमा सडक विस्तार गरेका छौँ । बस्ती विस्तार भए अनुसार सडक पनि विस्तार हुँदै जान्छन् । त्यसकारण सडक निर्माणको काम आगामी दिनमा पनि गर्ने नै छौँ ।
स्वास्थ्य क्षेत्रलाई सहज बनाउन ल्याइएको कार्यक्रम अन्तर्गत १५ श-याको अस्पताल निर्माणको अवस्था के छ ?
मेरो कार्यकालभन्दा पहिल्यै टेन्डर प्रव्रिmया पूरा भएको थियो । १५ श-याको अस्पताल निर्माणका लागि पहल गरिएकोमा १० श-याको डिपिआर स्वीकृत भएर आएको रहेछ । २३ करोडमा १३ करोड मात्र आयो । त्यसकारण बजेट अभाव भएको हो । अस्पताल निर्माणका लागि थप १० करोड बजेट चाहिन्छ । थप बजेट माग्न जाँदा १० शøयाको अस्पताल भवन स्वीकृत भएको जानकारी भयो । अब १५ शøयाको अस्पताल निर्माणमा लाग्ने थप बजेट ल्याउने तयारीमा छौँ । अहिले अढाईतले भवन निर्माण भएको छ । अस्पतालका लागि अझै धेरै काम बाँकी छ । रोकिएको कामलाई निरन्तरता दिन अर्थ मन्त्रालयसँग बजेट माग गरिरहेका छौँ ।
जलवायु परिवर्तनका कारण वातावरण सन्तुलन बिग्रिरहेका बेला वातावरणीय सन्तुलन कायम राख्ने योजना पनि बनाउनुभएको छ कि ?
वातावरण सन्तुलन बनाउन रुखबिरुवाको महŒवपूर्ण भूमिका हुन्छ । सार्वजनिक स्थलमा गरिएको वृक्षरोपण स्याहार नभएका कारण १० प्रतिशत मात्र काम लाग्ने हुन्छ, बाँकी ९० प्रतिशत सुकेर जान्छ । त्यसकारण बोटबिरुवा जोगाई वातावरण हरियाली बनाइराख्न पालिकाका प्रत्येक घरधुरीलाई आँप, लिची र कटहर गरी दुई/दुई वटा बिरुवा वितरण गरेका छौँ । यसले गर्दा फलफूल पनि खान पाइने र हरियाली पनि कायम हुने विश्वास गरिएको छ ।
खानेपानीको समस्या समाधान गर्ने आगामी योजना के के छन् ?
अहिले पालिकाका लागि मुख्य समस्या नै खानेपानी हुन पुगेको छ । खोलानाला, पोखरी, कल तथा इनार सुक्दै गएका छन् । पानीको सतह दिनानुदिन घट्दै गएको छ । तत्काल खानेपानी समस्या पूर्ण रूपमा समाधान गर्न नसके पनि न्यूनतम रूपमा समाधान गर्ने प्रयासमा लागेका छौँ । त्यसका लागि दुई वटा ट्याङ्कीको व्यवस्था गरेका छौँ । पानीको समस्या समाधान गर्न युएनडिपीको सहयोगमा अनुसन्धानसमेत भएको छ भने विज्ञहरूसँग सल्लाह सुझाव लिइरहेका छौँ ।
सामाजिक न्यायतर्फ के के काम भएको छ ?
न्यायिक समितिमा आएको उजुरीमा अधिकांश मेलमिलापतर्फ गएको अवस्था छ । केही मेलमिलाप हुन नसकेका उजुरी अदालत जाने गरेका छन् । त्यस्तो कुनै ठुलो समस्या आइपरेको छैन ।
आगामी योजना के के छन् ?
शिक्षा यस पालिकाको पहिलो प्राथमिकताभित्र पर्छ । शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै भौतिक पूर्वाधारको बजेट कटौती गरी सिँचाइ र खानेपानीमा बजेट विनियोजन गर्ने योजना बनाएका छौँ । आगामी दिनमा आउने अनुमान गरिएको विकराल परिस्थितिलाई दृष्टिगत गर्दै सिँचाइ र खानेपानीलाई प्राथमिकतामा राख्ने योजना छ ।