• ४ जेठ २०८१, शुक्रबार

पाटनमा पौभा प्रदर्शनी

blog

काठमाडौँ, वैशाख २१ गते । तीन दशकदेखि पौभा कलामा तल्लीन लोककलाकार श्यामकृष्ण महर्जनका पौभा कृतिको तीन दिने प्रदर्शनी पाटन म्युजियममा बिहीबारदेखि सुरु भएको छ । निश्चित मान्यता, दर्शन र सिद्धान्तका आधारमा तयार पारिने पौभा कलामा तीन दशकको कर्म आफैँमा गौरवपूर्ण छ । तीन दशकको समयमा तयार पारिएका र आफूलाई औधी मन परेका ३२ वटा कलालाई प्रदर्शनीमा राखिएको छ । 

नेपालका लागि श्रीलङ्काका राजदूत मार्सल सुदर्शनापथि रानाले प्रदर्शनीको उद्घाटन गर्दै श्रीलङ्का र नेपालको सम्बन्ध प्राचीनकालदेखि नै सुमधुर रहेको चर्चा गर्नुभयो । उहाँले श्रीलङ्का र नेपाली दुवै देशको संस्कृति परम्पराको सम्मान गर्दै मित्रवत् व्यवहार सधैँ चलिरहने विश्वास व्यक्त गर्नुभयो । उहाँले श्रीलङ्का एक बुद्धिस्ट संस्कृतिको सम्मान गर्ने देशमध्ये एक भएको चर्चा गर्दै कला, संस्कृतिलगायतका अमूर्त सम्पदाको माध्यमबाट दुई देशको सम्बन्ध झनै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत सुदर्शनापथि रानाले ललितकला क्षेत्रको दायरा विश्वमै फराकिलो आयाम भएको र दुई देशबिच कलासम्बन्धी गतिविधिमा समन्वय गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । योङ पिकासोका कार्यकारी निर्देशक अजय देसारले नेपाली परम्परागत विधा पौभामा निरन्तर समर्पित कलाकार श्यामकृष्ण महर्जनको मेहनत र सिर्जनालाई कलाप्रेमीमाझ ल्याउन पाउनु गौरवको विषय भएको बताउनुभयो । उहाँले परापूर्वकालदेखि नै नेपालमा प्रचलित पौभा कलामा सीमित कलाकारले मात्र अभ्यास गरिरहनुभएको र त्यसमा कलाकार महर्जनको निरन्तरताले कला साधनामा लाग्ने पुस्तालाई प्रेरणा दिने बताउनुभयो । कलाकार महर्जनले आफ्ना अग्रज गुरुले सिकाए अनुसार निरन्तर काम गर्दै जाँदा सिर्जना भएका पौभा विधाका चित्रकला अवलोकनका लागि आग्रह गर्नुभयो ।

उहाँले अग्रजलाई पछ्याउने संस्कृति हराउँदै गएको समयमा  चित्रकला प्रदर्शनीको अवलोकन भ्रमण गरी नयाँ पुस्ताका कलाकारलाई प्रेरणा र पौभा विधाको प्रवर्धनमा योगदान पुग्ने आशा व्यक्त गर्नुभयो । प्रदर्शनीमा धर्मचक्रको प्रदर्शन, महामञ्जुश्री, रक्तवर्ण तारा, आर्यतारा, सरस्वती, कुमकुम वर्ण मञ्जुश्री, बसुन्धरा, लोकनाथ, हरिततारालगायत देवीदेवताका पौभा कृति प्रदर्शनीमा राखिएका छन् ।