• ४ जेठ २०८१, शुक्रबार

मासु पसललाई कारवाही

blog

सिमकोटस्थित मासु पसल । तस्बिर : फाइल फोटो

राजन रावत

हुम्ला, वैशाख २० गते । नियम विपरीत सञ्चालनमा रहेको मासु पसललाई कारवाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय हुम्ला र सिमकोट गाउँपालिकाको नेतृत्वमा सिमकोट बजारमा सञ्चालित रहेको मासु पसलको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा हुम्ला वाणिज्य सङ्घको नियमविपरीत सञ्चालन गर्ने सात वटा मासु पसललाई कारबाही गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले उक्त पसललाई पाँच हजार रुपियाँ जरिवाना गरिएको बताउनुभयो ।

सदरमुकाम सिमकोटमा १६ वटा वोइलर कुखुराका मासु पसल सञ्चालन हुँदै आएकोमा तीमध्ये सात वटालाई कारबाही गरिएको हो । यस्तै, सिमकोटमा रहेका चार वटा खसी मासु पसललाई जरिवाना तोकिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले खसी मासु पसललाई १० हजार रुपियाँ जरिवाना गरिएको जानकारी दिनुभयो ।

सञ्चालित मासु पसलले उद्योग वाणिज्य संघले निर्धारण गरेको मूल्यसूची टाँस नगर्नुका साथै निर्धारण भएको मासुको मूल्य लागू नगर्दा जरिवाना तोकिएको सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले बताउनुभयो ।

यस अघि संघले गरेको मूल्य निर्धारणका लागि १५ दिने सूचना जारी गरेको थियो । संघले जारी गरेको सूचनाको वेवास्ता गरी मनोमानी ढङ्गले मासु बिक्री गर्दा कारबारी स्वरुप जरिवाना गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

जरिवानाका साथै मूल्यसूची टाँस्न र मूल्य कायम गर्न सुझाव  दिएको अध्यक्ष भण्डारीले बताउनुभयो । यस्तै, उहाँले व्यवसायीले उपभोक्तालाई ठगेको वा सङ्घले निर्धारण गरेको मूल्यमा बिक्री नगरेको पाइएमा उपभोक्ताले तत्काल जिल्ला प्रहरी कार्यालयको १०० मा फोन गरेर जानकारी दिन आग्रह गर्नुभएको छ ।