• ४ जेठ २०८१, शुक्रबार

समृद्ध नेपाल निर्माण गर्ने महाअभियान सुरु भएको छ : मन्त्री शर्मा

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख २० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सुशासन र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने महाअभियान थालेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

उहाँले समृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा सूचना र प्रविधि महत्वपूर्ण आधार बन्ने बताउनुभयो । अबको युग सूचना र प्रविधिको युग भएकाले सूचना र प्रविधिको क्षेत्रमा व्यवस्थित लगानी गरेर वैदेशिक लगानी, सरकारी र निजी क्षेत्रको लगानीलाई पनि प्रोत्साहन गरी आवश्यक नियम कानुन पनि व्यवस्थित गरी अघि बढ्न जरुरी रहेको बताउनुभयो । 

उहाँले सूचना र प्रविधिको प्रयोग बलियो बनाउन देशभर डिजिटल साक्षरता एवं जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको चर्चा गर्नुभयो । सूचना र प्रविधिको प्रयोगका कारण नागरिकले घरमै बसेर राज्यले प्रदान गरेका सेवाहरु लिनसक्ने अवस्थाको सिर्जना भइसकेको बताउनुभयो । मन्त्री शर्माले पछिल्लो समय सूचना तथा प्रविधि आर्थिक समृद्धिका लागि नवीनतम एवं उदीयमान क्षेत्रको रुपमा स्थापित भएको दाबी गर्नुभयो । 

निजी क्षेत्रले अहिले पनि सूचना तथा प्रविधि सेवा निर्यातमार्फत वर्षेनी अर्बौं वैदेशिक मुद्रा भित्र्याइरहेको, करिब एक लाख युवाले देशभित्र रहेर विभिन्न देशमा सूचना तथा प्रविधि निर्यात गरिरहेको बताउनुभयो । उहाँले सूचना, प्रविधि क्षेत्रको व्यवस्थित विकास गर्दै आवश्यक लगानी आकर्षित गर्न सके देशलाई समृद्धितर्फ अघि बढाउन सकिने प्रष्ट पार्नुभयो । 


उहाँले भन्नुभयो, ‘सूचना र प्रविधिको प्रयोग बलियो बनाउन देशभर डिजिटल साक्षरता एवं जनचेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेछ । सूचना र प्रविधिको क्षेत्रमा विश्व समुदाय धेरै अगाडि बढेको भए पनि हामीसँग अझै डिजिटलाइज गर्न बाँकी छ । एकातिर सबै ठाउँका जनताको सूचनामा पहुँच स्थापित गर्नुपर्नेछ भने अर्कोतिर सबै नागरिकले समान रुपमा यसको प्रयोग गर्ने अवस्था पनि सिर्जना गर्नुपर्नेछ । यसका लागि सरकार गम्भीर र प्रतिबद्ध छ ।’ 

सरकारसँग हातेमालो गर्दै सूचना र प्रविधिको विकास र प्रयोगमार्फत समृद्धिको यात्रामा अगाडि बढ्न यो अभियानमा यहाँहरु सबैको साथ सहयोगका लागि अपेक्षा गर्दछु । सरकारले सुशासन र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने महाअभियान थालेको छ, यसमा सूचना र प्रविधि महत्वपूर्ण आधार बन्ने उहाँको भनाइ छ । ‘अबको युग सूचना र प्रविधिको युग हो । यसमा व्यवस्थित लगानी गरेर वैदेशिक लगानी, सरकारी र निजी क्षेत्रको लगानीलाई पनि प्रोत्साहन गरी आवश्यक नियम कानुन पनि व्यवस्थित गरी अघि बढ्न सक्यौँ भने हामी हाम्रो लक्ष्यमा पुग्न सक्नेछाँै’ उहाँले भन्नुभयो ।

मन्त्री शर्माले सूचना तथा प्रविधि हरेक नागरिकको जीवनशैलीको आधार बन्दै गइरहेकाले राज्यले सूचना तथा प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रुपमा स्वीकार गरेको बताउनुभयो । उहाँले सूचना तथा प्रविधि क्षेत्रमा भएको विकास र बिस्तारसँगै नेपालमा पनि सूचना प्रविधिको प्रयोगमा उल्लेख्य बढोत्तरी भएको चर्चा गर्नुभयो ।