• १० मंसिर २०८१, सोमबार

अर्थतन्त्रको बढ्दो आकार

blog

विश्व अर्थतन्त्रको समग्र परिदृश्य आशातीत सन्तोषजनक नदेखिएको अवस्थामा नेपाली अर्थतन्त्र लयमै रहेर थप सुधारको बाटोमा अगाडि बढेको देखिएको छ । मुलुकको अर्थतन्त्रलाई उकास्न सरकारले गरेको आर्थिक क्षेत्रको सुधार, नीति नियममा संशोधन एवं केन्द्रीय बैङ्कले अवलम्बन गरेको लचिलो मौद्रिक नीतिका कारण आर्थिक सूचकाङ्क सुधारोन्मुख अवस्थामा रहेका आर्थिक विश्लेषकहरूको बुझाइ छ । यसै सन्दर्भमा प्रधानमन्त्री कार्यालयको मातहतमा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमानमा चालु आर्थिक वर्ष २०८०र८१ मा मुलुकको अर्थतन्त्रमा थप सुधार आउने प्रक्षेपण गरिएको छ । राष्ट्रिय लेखा अनुमानले अर्थतन्त्र लयमै रहेको पुष्टि हुने गरी प्रतिवेदन सार्वजनिक गरेकाले मुलुकको समृद्धिसँगै विकासशील राष्ट्रतर्फको यात्रा सहज हुने अनुमान गरिएको हो । 

यस अवधिमा खास गरी सेवा क्षेत्र विस्तार हुँदा अन्य क्षेत्र खुम्चिएको अवस्थामा पनि अर्थतन्त्रले सुधारको गति लिने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमानले मुलुकको अर्थतन्त्रमा ३.८७ प्रतिशतको वृद्धिसँगै समग्र अर्थतन्त्रको आकारमा साढे तीन खर्ब रुपियाँले वृद्धि हुने प्रारम्भिक अनुमान छ । यो वृद्धिसँगै मुलुकको अर्थतन्त्रको कुल आकार उपभोक्ता मूल्यमा ५७ खर्ब चार अर्ब रुपियाँ पुग्ने अनुमान प्रतिवेदनमा गरिएकोे छ । जब कि गत आवमा अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रहेको संशोधित अनुमान देखिन्छ । यो अनुमान चालु आवको आठ महिनासम्मको तथ्याङ्कलाई आधार मानेर बाँकी अवधिमा पनि अर्थतन्त्र सामान्य रूपमै अगाडि बढ्ने अनुमानका आधारमा गरिएको राष्ट्रिय लेखा तथ्याङ्क कार्यालयको भनाइ छ । समग्र आर्थिक क्षेत्रलाई १८ समूहमा विभाजन गरेर विश्लेषण गरिएको अनुमानले अधिकांश क्षेत्रमा प्रगति भइरहेको देखाएको छ । गत आवमा शिथिलताकै बिच पनि १.९५ प्रतिशतको आर्थिक वृद्धिदर देखिनु भनेको अर्थतन्त्रका समग्र सूचक सकारात्मक भएको आर्थिक विश्लेषकहरूको भनाइ छ । यद्यपि सेवा क्षेत्रको वृद्धिदर जुन रूपमा अनुमान गरिएको छ, सो अनुसार औद्योगिक क्षेत्रको समग्र वृद्धिदर भने देखिएको छैन । 

अर्थतन्त्रमा ६२.९ प्रतिशत योगदान रहने अनुमान गरिएको औद्योगिक क्षेत्रको वृद्धिदर ४.५० प्रतिशत हुने प्रारम्भिक अनुमान निराशाजनक हो । यसबाहेक कृषि तथा खानी क्षेत्र समेटिने प्राथमिक क्षेत्रको वृद्धिदर ३.०३ प्रतिशत हुने अनुमान गरिएको छ । उत्पादन क्षेत्र समेटिने द्वितीय क्षेत्रको वृद्धिदर सबैभन्दा न्यून अर्थात् १.२० प्रतिशत हुने अनुमान गरिँदा उद्योग र निर्माण क्षेत्रको वृद्धिदर भने १.६० प्रतिशतले ऋणात्मक हुने अनुमान गरिएको छ । निर्माण क्षेत्रमा पनि २.०७ प्रतिशतको ऋणात्मक वृद्धिदर हुने अनुमानले समग्र अर्थतन्त्रमा दबाब कायमै रहेको देखाउँछ । 

चालु आवमा नेपालीको वार्षिक औसत आयतर्फको लेखा अनुमान अनुसार प्रतिव्यक्ति आय एक हजार ४५६ डलर पुग्ने अनुमान रहेको छ । जुन गत आवको तुलनामा ५१ डलरले वृद्धि हो । कुल आयमध्ये नेपालीले ९२.३८ प्रतिशत उपभोगमै खर्च गर्ने अनुमान गरिनु भने मूल्यवृद्धिको कारण बन्न सक्छ । यसका साथै, आव २०८०/८१ मा कुल गार्हस्थ उत्पादनको ७.९४ प्रतिशत निर्यात हुने प्रारम्भिक अनुमान गरिँदा कुल गार्हस्थ उत्पादनको ३३.७० प्रतिशत आयात हुने अनुमानले व्यापार घाटामा सुधार देखिएको छैन । अघिल्लो आवको तुलनामा २०८०÷८१ मा विप्रेषण आप्रवाह वृद्धि २२.९६ प्रतिशतले हुने अनुमान सबल पक्ष हो ।

केही समयअघि विश्व बैङ्कको अध्ययन प्रतिवेदनले गरेको अनुमान र नेपाल राष्ट्र बैङ्कको आव २०८०/८१ को मौद्रिक नीतिको समीक्षाले औँल्याएको सुधारोन्मुख अर्थतन्त्रको लयको सेरोफेरोमै मुलुकको अर्थतन्त्रको राष्ट्रिय लेखा अनुमान रहेको देखिन्छ । सरकारको पुँजीगत खर्चमा सुधार हुन नसकेकै अवस्थामा पनि आर्थिक सूचक सकारात्मक देखिएकाले आगामी आवको बजेटमार्फत अनुमान गरिएभन्दा थप वृद्धिको अपेक्षा गर्न सकिन्छ । अर्थतन्त्रलाई माथि उठाउन श्रमको ठुलो महत्व छ । ‘मर्यादित काम, श्रमिकको सम्मान’ भन्ने राष्ट्रिय नाराका साथ मुलुकभर बुधबार १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो । औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले विश्वव्यापी रूपमा मनाउने श्रमिक दिवस सम्भवतः विश्वकै पुरानोमध्येको दिवस हो । 

सन् १८८६ मा अमेरिकाको सिकागो सहरबाट मजदुरले सामूहिक हकहितका कुरा उठाउँदै ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को मागसहित सुरु गरिएको मजदुर आन्दोलनको सम्झनास्वरूप सन् १८९० देखि विश्वभर एकसाथ मनाइने गरिएको छ । नेपालमा भने २०४६ सालको राजनीतिक परिवर्तनपछि विशेष महत्वका साथ मनाउन थालिएको छ । अर्थतन्त्रलाई माथि उठाउँदै समृद्धि हासिल गर्न श्रमको मूल्य र सम्मान वाञ्छनीय छ ।