• १५ असार २०८१, शनिबार

कोरियाबाट फर्केकाका लागि अभिमुखीकरण कार्यक्रम

blog

काठमाडौँ, वैशाख २० गते । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियाबाट फर्किएका श्रमिकका लागि कोइकाको ‘के हामी’ परियोजना सुरु भएको छ । 

श्रम, रोजगार तथा सामाजिक वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाको  सहकार्य तथा मानव संसाधन विभाग कोरिया (एचआरडी), परियोजना व्यवस्थापन परामर्श (पिएमसी) हेर्ने गरी कोरियाबाट फर्किएका नेपाली श्रमिकका लागि सो परियोजनामार्फत मङ्गलबार पुनः एकीकरणसम्बन्धी जानकारी तथा अभिमुखीकरण कार्यक्रम सुरु गरिएको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायले दक्षिण कोरिया गएर फर्किएका श्रमिकका लागि सुरु भएको पहिलो पटक पुनः एकीकरण तथा अभिमुखीकरण कार्यक्रम राम्रो हुने बताउनुभयो । इपिएसमार्फत कोरिया गएर सिकेको सिप र कमाएको पुँजीको सही प्रयोगका लागि फर्किएका युवाले पुनः एकीकरण कार्यक्रमबाट धेरै फाइदा लिन सक्ने उहाँले बताउनुभयो ।   

कार्यक्रममा इपिएस केन्द्र कोरियाका प्रमुख किम खिसुले कोरियामा काम गरेर फर्किएर नेपालमा केही गर्ने र गरेका श्रमिकका लागि धेरै राम्रो हुने प्रतिक्रिया दिनुभयो । यस्तै कार्यक्रममा ‘के हामी’ परियोजनाका प्रमुख सङ यल सले यस परियोजनामार्फत कोरियाबाट फर्किएकालाई नेपालमै टिक्ने वातावरण बनाउनेमा प्राथमिकता दिने जानकारी दिनुभयो । 

उहाँका अनुसार यस परियोजनाको उद्देश्य वैदेशिक रोजगारीबाट फर्किएका प्रवासी उत्कृष्ट जनशक्ति र आर्थिक विकासलाई डो¥याउने जनशक्ति उत्पादन गर्ने हो ।

कोइका नेपालका निर्देशक कोङ मुहनले उक्त परियोजनाले प्रदान गर्ने शिक्षा र जानकारीले कोरियाबाट फर्किएकालाई सुरक्षित रूपमा बसोबास गर्न र भविष्यका लागि सपना साकार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

सन् २०२२ देखि २०२८ सम्म सञ्चालित परियोजनाका लागि ८० लाख अमेरिकी डलर बराबरको रकम छुट्याइएको छ । उक्त परियोजनामार्फत २०२४ अपिल ३० देखि सन् २०२८ सम्म आठ सय जना कोरियाबाट फर्किएकाले पुनः एकीकरणसम्बन्धी जानकारी तथा अभिमुखीकरण तालिम लिन पाउने छन् । 

यस परियोजना अन्तर्गत उद्यमशीलता शिक्षा, रिटर्नी सर्वेक्षण, पुनः एकीकरण शिक्षा, अनलाइन मेन्टरिङ कार्यक्रम, सम्भावित उद्यमीका लागि कोष स्थापनालगायतका काम हुने जनाइएको छ । कोरियाबाट फर्केका आप्रवासीको स्थिर पुनः एकीकरण र उद्यमीशलता क्षमता अभिवृद्धि गरी नेपालको सामाजिक, आर्थिक विकासमा योगदान पुर्‍याउनुका साथै रोजगारी वृद्धि गर्ने परियोजनाको लक्ष्य रहेको छ ।